spot_img

पार्टी एकताका लागि दाहाल– नेपालले परामर्शमा

spot_img

काठमाडाैँ, प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी एकता प्रक्रिया अघि बढाउने गरी परामर्श थालेका छन् । प्रचण्ड र नेपालले मंगलबार दुवै पार्टीको उपत्यका प्रदेशस्तरीय नेताहरूसँग एकताको विषयमा सुझाव लिएका छन् । माओवादीको उपत्यका विशेष प्रदेश कमिटी र एकीकृत समाजवादीको उपत्यका प्रदेश कमिटीका अगुवा नेताहरूसँग प्रचण्ड र नेपालले परामर्श गरेका हुन् ।

शीर्ष नेताहरूबिच एकता छलफल बाक्लिएको वेला दुवै पार्टीका प्रदेशस्तरीय नेताहरूले कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुको विकल्प नरहेकोमा जोड दिएका छन् । एकताअघि विचार, सिद्धान्त, संगठन र भावनात्मक पक्षलाई ख्याल गर्न उनीहरूको सुझाव छ । साथै, विगतमा पनि सँगै काम गरेकाले पार्टी एकतामा जाँदा समस्या नहुने प्रदेशस्तरीय नेताहरूको सुझाव छ । यद्यपि, दुवै पार्टीमा कतिपय नेताहरूको नेतृत्वप्रति आन्तरिक असन्तुष्टि पनि छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको छलफलमा सहभागी माओवादी महासचिव देव गुरुङले विचार मिल्ने सबै शक्तिसँग एकता गरेर जाने बताए । ‘विचार मिलेपछि छुट्टाछुट्टै रहिरहनुपर्छ भन्ने छैन । विचार मिल्नेहरू ढिलोचाँडो एक ठाउँमा आउनैपर्छ, हामी छलफलमै छौँ,’ उनले भने ।

एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले पार्टी पुनर्गठनकै वेलादेखि एकताको चर्चा हुँदै आएको र अहिले पनि छलफल भइरहेको बताए । यद्यपि, माओवादीसँग एकताको टुंगो भने लागिनसकेको उनले बताए । ‘पार्टी पुनर्गठनदेखि नै एकता भन्दै आएका छौँ । र, अहिले पनि भनिरहेका छौँ । एकताका लागि वैचारिक विषय र राजनीतिक लाइन मिल्नुपर्छ । नीतिगत विषय स्पष्ट भएपछि संगठनात्मक रूपमा छलफल हुन्छ,’ उनले भने ।

गत निर्वाचनअघि नै माओवादी र एकीकृत समाजवादीले एकता संयोजक समिति गठन गर्ने तयारी गरेका थिए । तर, त्यति वेला समिति गठन हुन सकेको थिएन । नेता हमालका अनुसार दुई पार्टीबिचको सहकार्य कसरी अगाडि बढाउने भन्ने विषयमा प्रदेशगत रूपमा छलफल भैरहेको छ । र, सोही क्रममा उपत्यकास्तरीय छलफल भएको उनले जनाए ।

मंगलबारको छलफलमा सहभागी एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीका अनुसार छलफल सकारात्मक छ । ‘हामी एकता प्रक्रियामै छौँ, आजको छलफल पनि सकारात्मक छ । विचार, सिद्धान्त र भावनात्मक रूपमा एकता गर्न सुझाव आएको छ,’ उनले भने ।

पार्टी एकताको आवश्यकता, आधारभूत सर्त र आगामी कदमबारे छलफल भएको उनले बताए । समाजवादको स्थापनाका लागि पनि एकताको विकल्प छैन भन्ने निष्कर्षमा पुगिएको उनको भनाइ छ । ‘देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू, दक्षिणपन्थी यथास्थितिवादी धार र दलाल पुँजीपतिहरूले कम्युनिस्ट र क्रान्तिकारी शक्तिहरूलाई फुटाउन हरसम्भव प्रयास गरिरहेका छन् । यस्तो अवस्थामा समाजवादको स्थापनाका लागि पनि एकताको विकल्प छैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ,’ उनले  भने ।

रायमाझीका अनुसार प्रदेशस्तरीय नेताहरूले विचार, सिद्धान्त, कार्यक्रम, कार्यदिशा, संगठन र भावनात्मक विषयमा ध्यान दिन सुझाव दिएका छन् । ‘विचार, सिद्धान्त, कार्यक्रम, कार्यदिशा, संगठन र सौहार्दतामा सहमति आवश्यक पर्छ तथा ती आधारमा सहमति जुटेपछि एकता अवश्य सम्भव हुन्छ भन्ने सुझाव छ,’ उनले भने, ‘नियमित छलफल गरिरहेका छौँ । आगामी दिनमा एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्दै गएको छ ।’

छलफलको प्रारम्भमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वामपन्थी एकताको आवश्यकता औँल्याउँदै विचार, सिद्धान्त र भावनात्मक रूपमा तलसम्मै छलफल गरेर जानुपर्ने बताए । ‘हामी छलफलमै छौँ । विचार, सिद्धान्त र भावनात्मक रूपमा एकरूपता हुन्छ । मत मिल्छ भने एकता गरेर जान सकिन्छ । तलसम्मै छलफल गर्नुपर्छ । नेकपा निर्माणमा त्यो अभ्यास नभएकाले दुर्घटना व्यहोर्नुप¥यो । त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै रायमाझीले भने । नेपालले छलफल प्रारम्भ गरेपछि उपत्यकास्तरीय अगुवा नेताहरूले सुझाव दिएका थिए ।

प्रायः सबैले एकताको पक्षमा सुझाव दिएपछि छलफलको समापन गर्दै माओवादी अध्यक्ष प्रचण्डले पहिला पनि एउटै पार्टीमा रहेर काम गरेको भन्दै तत्काल एकता गरेर जाँदा फरक नपर्ने बताएका थिए । ‘पहिला पनि हामी एउटै पार्टीमा थियौँ । अब पनि एकता गर्दा फरक पर्दैन । विगतमा एउटै संगठनमा रहेर काम गरेको अनुभव छ । संगठनात्मक रूपमा पनि समस्या पर्दैन । समाजवादी दिशामा अगाडि बढ्ने विषयमा पनि हामीबिच धेरै समानता छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै रायमाझीले सुनाए ।

नेताहरूका अनुसार एकताका लागि एकीकृत समाजवादीले प्रदेशगत रूपमा राय संकलन गरेको छ । विचार, सिद्धान्त, संगठन र भावनात्मक रूपमा एकता गर्नुपर्ने धेरैको सुझाव छ । वैज्ञानिक समाजवादलाई मुख्य लक्ष्य बनाएर पार्टी एकताको गृहकार्य थालिएको नेताहरूले बताएका छन् ।

समाजवादी मोर्चामा भएका चारवटै दल र प्रभु साहको आजपालाई पनि एकता प्रक्रियामा सहभागी गराउने तयारी रहेको छ । माओवादीले गत साउनमा बसेको स्थायी समिति बैठकबाट एकताको निर्णय गरिसकेको छ भने एकीकृत समाजवादीले यही भदौ अन्तिममा बैठक बोलाएको छ । एकता प्रक्रियाको विषयमा विप्लव नेतृत्वको नेकपाले पनि केन्द्रीय समिति बैठकबाट निर्णय गर्दै छ । २२ भदौमा केन्द्रीय समिति बैठक बस्दै छ । महिन्द्रराय यादव नेतृत्वको नेसपाले एकताको निर्णय गरिसकेको छ ।

नेताहरूका अनुसार एकताको क्रममा माओवादीले माओवाद छाड्नेछ भने पार्टीको नाम पनि नयाँ राखिनेछ । प्रचण्ड र नेपाल पार्टी अध्यक्ष हुनेछन् । संसदीय दलको नेता प्रचण्ड हुनेछन् । यद्यपि, पदको विषयले छलफलमा प्रवेश नपाएको नेताहरू दाबी गर्छन् । वामपन्थी एकता र ध्रुवीकरणका लागि समाजवादी मोर्चाका दलहरूबिचको एकता कोशेढुंगा साबित हुने नेताहरूले दाबी गरेका छन् । पाँच पार्टी एकता हुँदा प्रतिनिधिसभामा ४३ सांसद हुन्छन् । माओवादीका ३२, एकीकृत समाजवादीका १० र अजपाका १ सांसद छन् ।

नेकपा कालमा प्रचण्ड र नेपाल एउटै समूहमा थिए । ओलीले असंवैधानिक रूपमा संसद् विघटन गर्दा प्रचण्ड–नेपाल समूहले देशव्यापी विरोध गरेको थियो । सर्वोच्च अदालतले एकता भंग गरिदिएपछि माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्किए । नेपालले एमालेमा विद्रोह गरेर एकीकृत समाजवादी गठन गरेका हुन् । नेकपा कालदेखि नै प्रचण्ड र नेपालले निरन्तर सहकार्य गर्दै आएका छन् । दुवै दल हाल समाजवादी मोर्चामा समेत छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img