काठमाडाैँ, सरकारले फेसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएपलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको भोलिपल्टै प्रधानमन्त्री, मन्त्री र सत्तारूढ नेताहरू तिनै प्लाटफर्ममै सक्रिय देखिएका छन् । उनीहरूको यस्तो कदमले सरकारको नीति र व्यवहारबिच असमानता तथा अविश्वसनीयता प्रदान गरेको भन्दै सामाजिक सञ्जालमै विरोध भएको छ ।
सरकारले बिहीबारदेखि सामाजिक सञ्जाल बन्द गरेको सूचना शुक्रबार प्रधानमन्त्री केपी ओलीको सचिवालयको फेसबुकबाट सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीको सचिवालयको ह्वाट्सएप ग्रुप पनि शुक्रबार दिनभर सक्रिय छ । ह्वाट्सएप पनि फेसबुककै माउ कम्पनी मेटाकै एप्स हो ।
प्रधानमन्त्री ओलीको सचिवालयको फेसबुक पेजबाट शुक्रबार दिउँसो १ बजेर २० मिनेटमा पोस्ट भएको छ, जसमा एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको जानकारी दिइएको छ । ‘नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको सनराइज सभाहलमा आजबाट सुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ,’ ओलीको सचिवालयको फेसबुक पेजमा लेखिएको छ । सचिवालयको फेसबुक पेजमा उल्लेखित विषय ओलीकै वैकल्पिक मानिएको फेसबुक पेज बालकोटको नामबाट सेयर गरिएको छ । प्रधानमन्त्री ओलीको सचिवालयले सञ्चारमाध्यमका लागि बनाएको ह्वाट्सएप ग्रुपमा पनि शुक्रबार एमाले विधान अधिवेशनको समाचार र तस्बिर सेयर गरेको छ ।
फेसबुक बन्द गर्ने निर्णयको भोलिपल्ट शुक्रबार बिहान एमाले नेता सूर्य थापाले फेसबुकमै पोस्ट गरेका छन्, ‘दर्ता सूचीकण गर्नुपर्दैन ? अदालतको आदेश मान्नुपर्दैन ? स्वतन्त्रता नियन्त्रण गरेको हावादारी गफ चुटौँ, सरकारलाई गाली गरौँ र नाटकी अभियन्ता बनौँ ।’ शुक्रबारै उनले प्रतिनिधिसभा अर्थ समितिअन्तर्गत उनकै संयोजकत्वमा गठित प्रतिवेदन लेखन उपसमितिको चौथो बैठक बसेको सूचना सेयर गरेका छन् । एमाले सचिव योगेश भट्टराई र नेता विष्णु रिजालले पनि शुक्रबार गोदावरीमा चलेको एमाले विधान अधिवेशनका फोटो सेयर गरेका छन् ।अाजकाे नयाँपत्रिका दैनिकमा खबर छ ।