नेकपा एमालेको विधान महाधिवेशनमा भाग लिन जाँदै गरेका कोसीका एकजना मन्त्री चढेको गाडीले शनिबार बिहान एकजना बालिकालाई ठक्कर दियो। ललितपुरको हरिसिद्धि सडकको उकालोमा बालिकालाई ठक्कर दिएपछि त्यो गाडी रोक्दै नरोकी हुँइकियो।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार को १ झ ६९९ नम्बरको गाडीले सडक किनारामा हिँडिरहेकी उषा सुनारलाई ठक्कर दिएको थियो। ११ वर्षीया ती बालिकाको अनुहारमा गम्भिर चोट छ।
अहिले उक्त दुर्घटनाको सिसिटिभी फुटेज भाइरल भइरहेको छ। उक्त भिडिओ देखिएअनुसार ती बालिका सडकमा ढलेपछि ठक्कर दिएको गाडी भने रोक्दै नरोकी हुँइकिएर भगाइएको थियो। बालिकालाई ठक्कर दिएको ठाउँ जेब्रा क्रसिङ पनि हो।
त्यसपछि स्थानीयले केही बेर उक्त सडक बन्द गरेका थिए। प्रहरी लगाएर उक्त सडक खुलाइयो। त्यतिञ्जेल गोदावरीमा आज दोस्रो दिन सुरु हुनुपर्ने नेकपा एमालेको विधान महाधिवेशनका कार्यक्रम करिब दुई घण्टा ढिला भइसकेको थियो।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढिलागरी सुरु भएको बैठकलाई सम्बोधन गर्दै उक्त दुर्घटनालाई सामान्य भने। अनि त्यसमा राजनीति पनि देखे।
‘सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो। त्यस्तो कुनै नियत थिएन। पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ। घट्नाप्रति दुःख व्यक्त गर्दछु। कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन्। त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन विलम्ब हुन गयो’ ओलीले भने ‘भवितव्य दुर्घटनालाई लिएर केहीले राजनीति गर्न खोजे। हाम्रो विधान महाधिवेशन भाँड्न खोजे।’
स्थानीय वासिन्दाकै अघि एमालेका नेताहरूले घाइते बालिकाको उपचार खर्च सबै पार्टीले बेहोर्ने प्रतिवद्धता जनाएपछि बाटो खुलेको थियो।कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएपछि स्थानीयले ललितपुरको हरिसिद्धि सडक अवरुद्ध पारेका छन् ।
हरिसिद्धि सडकको उकालोमा बालकलाई गाडीले ठक्कर दिएको हो । घाइते बालकलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको र उनको अवस्था सामान्य देखिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि स्थानीयले सडक जाम गराएका हुन् । जसकारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको छ ।