काठमाडौं, नेपाली कांग्रेसका नेता धनराज गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई संवैधानिक आयोगहरुमा गरिएका नियुक्तिहरु खारेजीको माग गर्न आह्वान गरेका छन् । उनले ती आयोगहरुमा असंवैधानिक तरिकाबाट गरिएका नियुक्तिहरुको आफूलगायत कांग्रेसका केही नेताहरुले विरोध गरिसकेको तर पार्टी सभापति देउवाबाट पनि त्यसको विरोध हुनुपर्ने जनाएका छन् ।
‘संवैधानिक आयोगहरुमा असंवैधानिक तरिकाबाट गरिएका नियुक्तिहरुको हामीले व्यक्तिगत रुपमा विरोध जनायौं,’ पूर्वसांसद गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय सभापति शेरबहादुर देउवाज्यू, अब यी नियुक्तिहरुको खारेजीको माग गर्दै संस्थागत रुपमा पार्टीले निकाल्ने वक्तव्यको पर्खाइमा छु ।’ उनले भनेका छन् ।संवैधानिक परिषद सम्बन्धि अध्यादेश, आयोगहरुमा नियुक्ति र शपथ सम्बन्धि कांग्रेसको विमति रहिआएको र यस सम्बन्धि प्रवक्ताले ट्विटमार्फत प्रस्ट पारिसक्नु भएकोले आयोगहरुमा नियुक्त भएका कांग्रेसका साथीहरूलाई फिर्ता बोलाउन पनि नेता गुरुङले सभापति देउवालाई ट्विटमार्फत मेन्सन गरेका छन् ।