सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन् ।
जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । कार्की पूर्वप्रधानन्यायाधीश पनि हुन् । गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जना युवाको मृत्यु भएपछि २४ गते आक्रोशित समूहले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेको थियो ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ओलीको राजीनामापछि अन्तरिम सरकार गठनबारे सरोकारवाला पक्षबिच भएको छलफलमा संसद् विघटन र जेनजीका माग सम्बोधन गर्नेगरी कार्कीको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको थियो ।
सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएसँगै उनको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने भएको छ ।
जेनजीको प्रदर्शनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रमुख भएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक किरण पोखरेलका अनुसार कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने छ । मन्त्री बन्नेहरूको नाम फाइनल हुँदैछ ।
जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध देशभर प्रदर्शन गरेका थिए ।

















