जेनजीको भदौ २४ गते आन्दोलन चर्किंदा मधेशको मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका सतिशकुमार सिंहले अन्तरिम सरकार गठनपछि कुरा फेरेका छन् । उनले त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा लेखेको उनले बताए ।
‘कसैको जनधनको क्षति नहोस्, सार्वजनिक सम्पतिको क्षति नहोस् भनेर राजिनामा दिनुपर्छ भनेर म तयार छु । त्यो दिन प्रदेश प्रमुख हुनुहुन्नथ्यो । कोही भएको भए दिन्थेँ’ उनले तर्क गरे । तर सो दिन मुख्यमन्त्री सिंहले फेसबुकमा राजीनामा दिएको उल्लेख नै गरेका थिए ।
‘नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ । नागरिकको ज्यानभन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु’ उनको फेसबुकमा उल्लेख छ ।
त्यसको चार दिनपछि कुरा फेरेका मुख्यमन्त्री सिंहले भनेका छन्, ‘सिस्टम चेन्जको म स्वागत गर्छु । तर राम हटेर श्याम आउन, श्याम हटेर भरत आउनको लागि म छैन नि १’
तर फेसबुकमा राजीनामा दिइसकेको व्यक्ति नैतिक रुपमा पछाडि हटेर आज राजीनामा दिएको छैन भनेर भन्न त मिलेन नि भन्ने अनलाइनखबरको जिज्ञासामा उनले भने, ‘मान्नलाई मेरो मात्र नैतिकता छैन नि । सबैले मान्नु पर्यो नि । मसँग कसैले राजीनामा पनि त मागेको थिएन ।