नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् ।उनी सिंहदरबार पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिउ ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणअघि प्रधानमन्त्री कार्की लैनचौरस्थित शहीद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । जेनजी आन्दोलनका क्रममा मुलुकभर ५१ जनाको निधन भएको छ ।
जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद र मृतकका परिवारलाई १० लाख दिने घोषणा
सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए ।
उनका अनुसार नयाँ सरकारलाई सरकारी सेवा प्रवाह चुनौतीका रूपमा रहेको छ । ‘धेरैजसो सरकारी कार्यालयहरू अधिकांश ड्यामेज भएको अवस्था छ’, मुख्यसचिव अर्यालले भने, ‘बजेट र प्राथमिकताका आधारमा पुननिर्माणको आवश्यकता छ । मन्त्रालय, अदालत, सिडिओ कार्यालयहरू तोडफोड र आगजनी भएका छन् ।’
उनले आगजनी र तोडफोड हुन बाँकी रहेका कार्यालयबाट सेवा प्रवाह गर्नुपर्ने भन्दै त्यसका लागि काययोजना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए । त्यस्तै उनले सुरक्षा र कर्मचारीको मनोबल उच्च बनाएर काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको जोड दिएका छन् ।
म रहरले सत्ता रसास्वादन गर्न आएको होइन
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले बाध्य बनाएको स्पष्ट पारेकी छन् । भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई सहज र नयाँ पुस्ताको भावनाअनुसार अघि बढ्नुपर्ने पनि बताइन् । ‘रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो । म विवश हुनुप¥यो । सत्ताको रसास्वादन गर्न आएको होइन,’ प्रधानमन्त्रीको भनाई छ ।
युवा पुस्ताको सोच बमोजिम काम गर्नेछु
कार्कीले युवा पुस्ताको सोच अनुसार आफूले काम गर्ने बताएकी छन् । जेनजी आन्दोलनका क्रममा युवा पुस्ताहरूले २७ घण्टाको आन्दोलनबाट विश्वमा नै नभएको कायापलट नेपालमा गरेको उल्लेख गर्दै उनले उनीहरूको सोचअनुसार आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।