अर्थमन्त्री खनालको पहिलो निर्णय– टुक्रे आयोजना कार्यान्वयन नगर्ने
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए ।पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय नभन्न आग्रह गरे ।मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् ।
पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’अर्थमन्त्री खनालले करिब १०० जना युवाहरूको ज्यानको बलिदानपछि ठूलो परिवर्तनको अवस्था आएको भन्दै यो नासोलाई पूरा गर्ने जिम्मेवारी हामी सबैको काँधमा आएको बताए ।
उनले भने, ‘६०÷७० जनाको अनुहार चिनिरहेको छु, अहिले हामी अर्कै भूमिकामा छौं, यो करिब १०० जना युवाले ज्यान दियर यो अवस्था आयको हो । विध्वंस त भयो । तर ठूलो परिवर्तनका लागि यो भएको हो । युवाले यो जिम्मेवारी हामिलाई सुम्पिएका हुन् । हामीले लिएको यो नासो पूरा गर्ने हामी सबैको जिम्मेवारी हो ।’
उनले अगाडि भने, ‘मुलुकको भ्रष्टाचार पूरै अन्त्य हुनुपर्छ भन्ने युवाको माग हो । हाम्रो विगत अब स्मरणमा नआओस् । ठूलो गल्ती गर्नेहरू कारबाहीमा आउनै पर्छ । अब गल्ती गर्ने कुनै गुन्जायस छैन । जानेर त गर्नै भएन, नजानेर पनि गल्ती गर्ने छुट छैन । हामी सच्चिनै पर्छ । म आग्रह त्यै गर्छु । यो आवेशमा छैन । तपाईंहरूले यो बुझ्नु नै हुन्छ । गल्ती गरेपछि अब कर्मचारीले माया पाउदैनन् । यो यजेन्डा मेरो होइन, राष्ट्रको हो, मुलुकको भविष्यका लागि युवाको यो चाहना पूरा गर्ने हो ।’
गृहमन्त्रीका निर्णय शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने
सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ।
कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्नेछ। यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।
ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय
मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् ।
मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् । साथै ऊर्जामन्त्री घिसिङले खादा–माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।