रौतहट, तरकारी ओसार्ने गाडीबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ ।शनिबार साँझ करिब साढे सात बजेतिर रौतहटको इशनाथ नगरपालिका–८ मोतिपुर सडक खण्डमा चेकजाँचका क्रममा प्रहरीले तरकारी बोकेको गाडीबाट गाँजा बरामद गरेको हो ।
प्रदेश–३–०१–०२२ च १८६१ नम्बरको पिकअप भ्यानलाई प्रहरी चौकी रामपुरखापको टोलीले चेकजाँज गर्दा ३ सय ३४ केजी गाँजा बरामद भएको हो ।तरकारी बोकेको सो भ्यानको माथिल्लो भागमा २० बोरा फूलकाउली देखिने गरी राखिएको तर त्यसको तल २६ पोका गाँजा लुकाइएको अवस्थामा फेला परेको डीएसपी राजु कार्कीले बताए ।
गस्ती टोलीलाई देखेपछि चालक गाडी छोडेर फरार भएका थिए ।बरामद गाँजा मध्ये १५ केजी तौलका १९ पोका र ७ केजी तौलका ७ पोका गरी जम्मा ३ सय ३४ केजी रहेको छ ।प्रहरीका अनुसार गाँजासहितको भ्यान नियन्त्रणमा लिएर फरार चालक र संलग्न तस्करको खोजी कार्य भइरहेको डीएसपी कार्कीले बताए ।