नेपाली सेनाको उपसेनानी भन्दै पोशाक र दर्ज्यानी चिह्न लगाएरै ठगी गरेको आरोपमा प्रहरीले इटहरीबाट एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा २८ वर्षीय शिवकुमार कार्की रहेका छन्। उनी पर्सा जिल्ला ठोरी गाउँपालिका(५ का हुन्।उनलाई नेपाली सेनाको पोशाकमै प्रहरीले पक्राउ गरेको हो। सेनाको पोशाकमा नेमप्लेट भने शिवजंग कार्की उल्लेखित लगाएका थिए।
उनलाई बिहीबार साँझ इटहरीबाट पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए।उनी विगत पन्ध्र दिनदेखि इटहरी बजार क्षेत्रमा घुमिरहेका थिए। उनी आफूलाई उपसेनानी लेफ्टिनेन्ट भन्थे।सर्वसाधारणलाई उनले रेड मर्करीको व्यापार गर्दा फाइदा हुने भन्दै आफू त्यसैको व्यापारका लागि आएको बताउँथे।विभिन्न व्यक्तिबाट ११ लाखभन्दा बढी ठगी गरेको पाइएको थापाले बताए।
कार्कीको साथबाट विभिन्न बैंकका एटिएम, ३३ हजार ४५० नगद बरामद भएको थापाले बताए।कार्की इटहरी उपमहानगरपालिका(६ को सामुदायिक अस्पताल अगाडिको सार्वजनिक बाटोबाट समातिएका हुन्।उनी सेनाको पोशाकमै थिए। उनको विरूद्ध १० जना व्यक्तिले किटानी जाहेरी दिएको प्रहरी उपरीक्षक थापाले बताए।कार्कीलाई सहयोग गर्ने दुधौली नगरपालिका(८ का ३८ वर्षीय वसन्तकुमार खड्का पनि पक्राउ परेका छन्।