काठमाडौं, सिराहामा बालकको अपहरण पश्चात् हत्या भएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिराहा प्रहरी स्रोतले जनाएको छ ।
बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।अनुसन्धानकै क्रममा रहेकोले प्रहरीले पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ ।
सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान बालकको शव फेला परेको हो । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो ।
परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् ।सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको सूचना अधिकारी यादवले जानकारी दिए ।