spot_img

देउवादम्पती र खड्कामाथि सम्पत्ति निवासमा जलेको अवस्थामा भेटिएको पैसाबारे शुद्धीकरणको अनुसन्धान शुरूःओली र प्रचण्डको घरमा भेटिएन नाेट,आवश्यक परे पक्राउ गर्ने गृहमन्त्रीकाे चेतावनी

spot_img

कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी डा. आरजु राणा देउवा र पूर्वमन्त्री दीपक खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवादम्पती र खड्कामाथि हालसम्म संकलित प्रमाण हेर्ने कामलाई तीव्र पारेको छ । गत आइतबार विभाग टोलीले देउवा र खड्कानिवासमा गएर अवलोकन गरी क्षति र सम्पत्तिको मुचुल्का उठाएर ल्याएको थियो ।

जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले देउवा र खड्काको घरबाट पैसा निकालेर जलाएको, उडाएको, लुटेर लगेको जस्ता तस्बिर र भिडियो सामाजिक सञ्जालमा व्यापक भएका थिए । यसबारे चौतर्फी प्रश्न उठेपछि दुई सातापछि विभागले आइतबार टोली खटाएको थियो । टोलीले क्षतिको अवस्था र वस्तुस्थितिसमेत हेरेर मुचुल्का उठाएर ल्याएको छ ।

अहिले विभागले पैसाबारे सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो र भिडियो र अन्य प्रमाणको परीक्षणका लागि ‘फरेन्सिक ल्याब टेस्ट’ गर्न प्रहरीमा पठाएको छ । ‘सामाजिक सञ्जालमा आएका फोटो, भिडियोलगायत प्रमाणको फरेन्सिक परीक्षणका लागि प्रहरीकोमा पठाइएको छ,’ विभाग स्रोत भन्छ, ‘परीक्षण भएर आएपछि अनुसन्धान अलि स्पष्ट होला ।’ अहिलेको छानबिन प्रारम्भिक अवस्थाको रहेको स्रोत बताउँछ ।

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएका नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको बताएकी छिन् । प्रधानमन्त्रीको भनाइले पनि देउवा र खड्कानिवासमा जलेका सम्पत्तिमाथि छानबिन भइरहेको पुष्टि गर्छ ।

सम्पत्ति शुद्धीकरणको टोली एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा पनि पुगेको थियो । विभागको ६ सदस्यीय टोली सोमबार ओली र प्रचण्डनिवासमा पुगेको थियो । तर, दुवैको निवासबाट पैसा भने नभेटिएको एक कर्मचारीले बताए । टोलीले खरानी मात्र भेटेको जनाएको छ ।

शीर्ष नेताहरूको पासपोर्ट रोक्काबारे अध्ययन हुँदै
सरकारले प्रमुख तीन दलका शीर्ष नेताको पासपोर्ट रोक्का गर्ने तयारी गरिरहेको चर्चा पनि बाहिरिएको छ । एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, निवर्तमान गृहमन्त्री रमेश लेखकको पासपोर्ट रोक्का गर्न लागिएको विषय बाहिरिएका छन् ।

जेन–जी आन्दोलनमा चरम दमन गरेको र भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायत आरोपमा शीर्ष नेतामाथि छानबिन गर्न लागिएको र त्यस क्रममा विदेश भाग्न सक्ने भएकाले पासपोर्ट रोक्का गर्नुपर्नेबारे छलफल भएको बताइएको छ । जेन–जी दमनबारे छानबिनका लागि सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिसकेको छ । अर्कातिर प्रमुख दलका शीर्ष नेतामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि प्रारम्भिक छानबिन अघि बढिसकेको छ ।

यद्यपि, पासपोर्ट रोक्काबारेको ठोस निर्णय भने सरकारले गरिसकेको छैन । बिहीबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने, ‘पासपोर्ट रोक्काको सन्दर्भमा खासगरी भ्रष्टाचार, अनियमितता, विभिन्न अपराधसँग जोडिएका ठुलासाना जे–सुकै अवस्था हुन्, राज्यका संयन्त्रहरूले अनुसन्धान गरिरहेको छ । राहदानीको सन्दर्भमा पनि के–कसो गर्ने भनेर अनुसन्धान अघि बढेको छ ।’

नयाँ पत्रिकाको जिज्ञासामा पनि मन्त्री खरेलले अनुसन्धानका क्रममा आवश्यक प्रक्रिया अघि बढेको बताए । यसको विस्तृत भने उनले बताउन मानेनन् । गृहमन्त्री ओमप्रकाश अर्यालले पनि पत्रकारहरूसँगको कुराकानीका क्रममा राज्यका अनुसन्धान गर्ने निकायहरू सक्रिय भइसकेका र कानुनबमोजिम अघि बढ्ने बताए । ‘प्रधानमन्त्रीज्यूले भनिसक्नुभो कि सुशासनको मामिला र भ्रष्टाचारविरुद्ध यो सरकारले राम्रैसँग खुट्टा टेक्छ । सुशासनको मामिलामा खुट्टा टेकेन भने यो सरकारको म्यान्डेटमाथि पनि प्रश्न आउँछ,’ उनले भने ।

नेताका पासपोर्ट रोक्काबारे गृहमन्त्री– अनुसन्धान गर्ने निकायले सबै गर्छ
हमन्त्री ओमप्रकाश अर्यालले मुलुकमा सुशासन कायम गर्न सरकारले दह्रोसँग खुट्टा टेक्ने दाबी गरेका छन् । सुशासनका लागि अनुसन्धान गर्ने सबै निकाय सक्रिय भइसकेको उनको भनाइ छ ।बिहीबार मन्त्रिपरिषद् बैठकपछि बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले विगतको सरकारले सुशासन कायम गर्न नसकेकाले बर्हिगमित हुनुपरेको बताए ।

‘प्रधानमन्त्रीज्यूले भनिसक्नुभो, सुशासनको मामिलामा, भ्रष्टाचारको विरुद्धमा यो सरकारले खुट्टा टेक्छ, राम्रैसँग खुट्टा टेक्छ, यदि सुशासनमा खुट्टा टेकेन भने पाँच वर्षको म्यान्डेट पाएको सरकार पनि बीचैमा उसको म्यान्डेट भंग भयो नि,’ उनले भने ।सुशासनमा खुट्टा नटेक्दा र भ्रष्टाचारविरुद्ध नलड्दा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको भन्दै वर्तमान सरकार पनि सुशासन र चुनाव गर्ने भनी पाएको म्यान्डेट पूरा नगरे जेनजीले प्रश्न उठाउने उनले बताए ।जेनजी प्रदर्शनमा भएको दमनको छानबिनका लागि जाँचबुझ आयोग गठन भएको बताउँदै उनले तथ्यका आधारमा अघि बढ्ने बताए ।

जेनजी प्रदर्शनमा गोली चलाउन आदेश दिने र गोली चलाउनेमाथि कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्नमा गृहमन्त्री अर्यालले भने, ‘कतिपय विषयवस्तु अहिलेदेखि हुनसक्ला, कतिपय विषयवस्तु आयोगले फ्याक्ट फाइन्डिङ गरेपछि हुन्छ ।’निवर्तमान प्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित शीर्ष नेताको पासपोर्ट रोक्का गर्न लागिएको सन्दर्भमा गृहमन्त्री अर्यालले आवश्यक सबै कदम चाल्ने बताएका हुन् ।‘अनुसन्धान गर्ने निकायले के के रोक्का गर्नुपर्छ, त्यति मात्रै किन ? पक्राउ पनि गर्नुपर्ने होला, बयान पनि ल्याउनुपर्ने होला, जे हुन्छ त्यो अनुसन्धान गर्ने निकायले गर्ने हो,’ उनले भने ।

कसरी अघि बढ्छ अनुसन्धान ?
जेन–जी आन्दोलनमा भएको आगजनी र तोडफोडका क्रममा आन्दोलनकारीले नेताहरूका घरबाट पैसा निकालेर जलाएको, उडाएको र चोरी गरेर लगेको फोटो र भिडियो सामाजिक सञ्जालमा आएपछि यसबारे विभागले चासो राखेको थियो । विभाग स्रोतका अनुसार नेताका घरमा ठुलो रकम भेटिएको र जलाएकोबारे कुनै भौतिक प्रमाण भेटिएको छैन ।

‘नेताको घरमा पैसा भएकोबारे अहिलेसम्म सञ्चारमाध्यममा आएको फोटो, भिडियोबाहेक कुनै भौतिक प्रमाण छैन,’ विभाग स्रोत भन्छ, ‘अवलोकनमा जाँदा खरानी मात्र भेटिएका छन् । यो खरानीलाई पैसा भनेर स्थापित गर्न कठिन छ ।’ यद्यपि, अनुसन्धानमा छिर्नका लागि फोटो, भिडियो उपयोगी हुन सक्ने विभागका कर्मचारी बताउँछन् ।

पहिले पैसा भेटिएको, जलाएको वा व्यक्तिहरूले लगेको विषयलाई तथ्यका रूपमा प्रमाणबाट स्थापित गरेको अवस्थामा मात्र बाँकी अनुसन्धान अघि बढाउन सकिने विभागका अधिकारीहरू बताउँछन् । यसपछिको अवस्थामा बैंक मौज्दात, सम्पत्ति र कारोबार हेरिने उनीहरूको भनाइ छ । ‘अहिले विभाग सूचना विश्लेषण र प्रमाण जुटाउनमा केन्द्रित छ,’ विभागका एक अधिकारीले भने । विभागका अधिकारीहरूको भनाइमा ठुला नेताहरूमाथि अनुसन्धान भने अघि बढाइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img