spot_img

जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान:अख्तियार प्रमुख लगायतको राजीनामा माग

spot_img

सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान चलेको छ । जेनजी अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै दबाबमुलक अभियान चलाएका हुन् ।

गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएको र धेरै युवा हाताहती भएको भन्दै तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गरिनुपर्ने जेनजी अगुवाको माग छ ।

‘अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ,’ जेनजी अगुवा रक्षा बमले लेखेकी छन्, ‘मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस् ।’

त्यस्तै, जेनजी अगुवा युजन राजभण्डारीले रक्षा बमको पोस्ट सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘हरेक गोलीको हिसाब हुनेछ । एरेस्ट केपी ओली ।’

यसरी अन्य जेनजी अभियान्ता र सर्वसाधारणले पनि यो ट्रेन्ड पछ्याउँदै गएका छन् । योसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्नुपर्ने भन्दै कतिपयले सामाजिक सञ्जालमा लेखिरहेका छन् ।

जेनजीको पहिलो दिनको प्रदर्शनमा राज्यले बर्बरतापूर्वक विद्यार्थीहरूको हत्या गरेको भन्दै उक्त घटनाको छानबिन गर्न र तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गर्न उनीहरूले दबाब दिएका हुन् ।

जेनजीले मागे अख्तियार प्रमुख राईको राजीनामा, ठूला भ्रष्टाचारमा जोडिएको आरोप
विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ ।

जेनजी आन्दोलन भ्रष्ट्रचारविरुद्धको अभियान पनि रहेकोले त्यसमा सहयोग गर्न प्रमुख आयूक्तसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरिएको हो ।

समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०८२ भदौ २३ गतेदेखि सुरु गरिएको हाम्रो आन्दोलनको प्रमुख उद्देश्य भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो । तर, अख्तियारमा नेतृत्व गर्ने व्यक्तिहरूको नियुक्ति नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना भएको कारण उनीहरूले आयोगको विश्वसनीयता गुमाएका छन् ।’

अलायन्सकाअनुसार आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ विना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको आरोप उनीमाथि छ ।

जेनजी मुभमेन्ट अलायन्सले विशेष अदालतको हालसालैको निर्णयलाई समेत उद्धृत गर्दै आयोगको अभियोजन प्रणाली र प्रमुख आयुक्तको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको दाबी गरेको छ ।

अदालतको निर्णयमा प्रमुख आयुक्त राईको ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’ सम्बन्धी टिप्पणी उल्लेख भएपछि उनीहरूको राजीनामा माग झनै बलियो बनेको समूहको तर्क छ ।

विज्ञप्तिमा राईको संलग्नता देखिएका ठूला मुद्दाहरू पनि समेटिएका छन् । तीमध्ये नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिद प्रकरणलाई आयोगको प्रमुखको संलग्नतासँग जोड्दै उनीमाथि नैतिक जिम्मेवारी लिने माग गरिएको छ ।

समूहले भनेको छ, ‘यी घटनाहरूमा प्रत्यक्ष वा नियामक हैसियतमा संलग्न रहेकाले प्रमुख आयुक्तको नैतिक जिम्मेवारी बनेको छ । अतस् तत्काल राजीनामा दिनु नै अख्तियारको गरिमा र विश्वास पुनस्स्थापना गर्ने बाटो हो ।’

विज्ञप्तिमा अहिले संघीय संसद् नहुँदा महाअभियोग प्रक्रियामार्फत पदमुक्त गर्न सम्भव नभएकाले राजीनामाबाटै पद रिक्त गर्नुपर्ने उल्लेख गरिएको छ । साथै, गठित अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रियामार्फत निष्पक्ष नियुक्ति समिति गठन गरी नयाँ आयुक्तहरू नियुक्त गर्न पनि आग्रह गरिएको छ ।

‘नयाँ नियुक्तिहरू पहुँचवालाको बन्द सूचीबाट होइन, सबै योग्य र सक्षम नागरिकको खुला प्रतिस्पर्धाबाट हुनुपर्छ,’ विज्ञपतिमा भनिएको छ ।

जेनजी मुभमेन्ट अलायन्सले अनौपचारिक तथा विद्युतीय माध्यमबाट गरेको राजीनामा माग पूरा नभए भोलि असोज २१ गते बिहान १० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक निवेदन दर्ता गर्ने र आवश्यकता परे अन्य कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी पनि दिएको छ ।यसरी सार्वजनिक रुपमा अख्तियार प्रमुख राईलाई अनुरोध गरेको यो समूहले उनलाई व्यक्तिगत रुपमा इमेल गरेको जनाएको छ ।

‘यसबाहेक प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई पनि ईमेल गरेका छौँ । यदि उहाँ आफैँले मार्गप्रशस्त नगरे अख्तियार कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन थाल्ने तयारी पनि हाम्रो छ,’ यसमा अगुवामध्येका एक अमित खनालले बताए ।

जेनजी मुभमेन्ट अलायन्समा ३९ वटा जिल्ला प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूह रहेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img