नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गरेको छ । सोमबार पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सो पार्टीको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने, ‘हामीले चुनावमा जाने निर्णय गरेका छौँ । यो विषयमा अरु पार्टीहरुसँग पनि छलफल गछौँ ।’
संयोजक प्रचण्डले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको पनि बताए ।‘हामी कसरी अघि बढ्ने भन्ने कुरामा केन्द्रीय समितिबाट निर्णय गरिसकेका छौँ । हामी घोषित मितिमा चुनाव हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने छ’, उनले भने, ‘र, हाम्रो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिन्छ । अहिले अन्य राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको छ । केही समयपछि त्यसको परिणाम पनि देखिन्छ ।’
प्रचण्डको ब्रिफिङ ः माधव र विप्लवसँग पार्टी एकताका लागि सकारात्मक पहल भइरहेको छ
नेकपा(माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट, नेकपा (एकीकृत समाजवादी) र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि पहल भइरहेको ब्रिफिङ गरेका छन् । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा प्रचण्डले पार्टी एकता र ध्रुवीकरणको विषयमा ब्रिफिङ गरेका हुन् ।
यद्यपि उनले यादव नेतृत्वको नेसपा मात्र पार्टी एकताका लागि तयारी अवस्थामा रहेको जानकारी गराएका छन् । यस्तै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग मोर्चाबन्दी गर्ने विषयमा छलफल भइरहेको जानकारी गाएको सचिवालय सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।
‘बैठकमा पार्टी एकता र ध्रुवीकरणको विषयमा सबै वामपन्थी दल र माओवादी घटकसँग कुरा भइरहेको जानकारी गराउनुभयो । तर फइनल भएको छैन भन्नुभयो । विप्लवजीको पार्टी, माधवजीको पार्टी, महिन्द्र रायजीको पार्टी एकता गर्ने र अशोक राईजी लगायत दलहरूसँग मोर्चावन्दी र ध्रुवीकरण गर्ने विषयमा कुराकानी भइरहेको जानकारी गराउनुभएको छ । अहिलेसम्म नेसपा मात्र एकताका लागि तयार भएको छ’, रातोपाटीसँग उनले भने ।
असोज ९ र १० गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले समाजवादी मोर्चामा आबद्ध भएका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको छ ।
सो पार्टीले असोज २५ गते केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । एकताबारे छलफल गर्न एकीकृत समाजवादीले असोजको अन्तिम हप्ता केन्द्रीय समिति बैठक बोलाएको छ । माओवादी महाधिवेशन आयोजक समितिको सचिवालय बैठक दुई दिनपछि बस्नेछ ।