आईसीसी टी–२० विश्वकप एसिया तथा इएपी छनोट २०२५ अन्तर्गत सुपर सिक्सको महत्त्वपूर्ण खेलमा नेपालले आज कतारको सामना गर्दैछ । ओमानको अल अमेरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा हुने यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।
नेपाल र कतार यसअघि तीन पटक आमने सामने भएका छन् । यसमध्ये २ खेल नेपालले र एक खेल कतारले जितेको छ । पछिल्लोपटक नेपालले कतारलाई सन् २०२५ को अप्रिलमा ८ विकेटले हराएको थियो । त्यसअघि सन् २०२४ को अप्रिलमा नेपाल ३२ रनले विजयी भएको थियो । कतारले सन् २०१९ को जुलाईमा नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।
नेपालले सुपर सिक्स चरणमा विजयी सुरुवात गरिसकेको छ । आइतबार भएको रोमाञ्चक खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई १ रनले हराएको थियो । अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै जित सुनिश्चित गरे । अन्तिम तीन बलमा तीन रन आवश्यक हुँदा यूएईले लगातार तीन विकेट गुमाएको थियो ।
खेलमा नेपालले विकेटकिपर आसिफ शेखको अर्धशतकको मद्दतमा २० ओभरमा १४० रन बनाएको थियो । जवाफमा यूएईका अलिशान शरफुले ४० बलमा ५८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका ऐरी प्लेयर अफ द म्याच घोषित भए ।
सुपर सिक्समा शीर्ष तीन टिमले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने २० टिमको टी–२० विश्वकपमा स्थान बनाउनेछन् । समूह चरणमा जापान र कुवेतलाई हराएको नेपाल यो छनोट प्रतियोगितामा अहिलेसम्म अविजित रहेको छ ।