काठमाडौँ — कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनका माध्यमबाट मात्रै मुलुकलाई पूर्ण संवैधानिक बाटोमा फर्काउन सकिने बताएका छन् । देउवाले आजको केन्द्रीय कार्यसमितिको बैठकमा १३ पेज लिखित मन्तव्य राख्दै सरकारलाई तोकिएको मितिमा हुने निर्वाचन सुरक्षित र भयरहित वातावरण बनाउन पनि आग्रह गरेका छन् ।
‘सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको छ । तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन । निर्वाचनको पूर्वसर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन । सुरक्षा निकाय मनोबल गिरेर निरीह भएका छन् । तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फूर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो’ देउवाले भनेका छन् ‘यसतर्फ सरकारको ध्यान जाओस् । सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ ।’
कांग्रेसले आफूलाई एकताबद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान् अन्य राजनीतिक दलहरुसँगसमेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको देउवाले भनेका छन् । ‘संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ । बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरुसँग सरकारले सार्थक संवादको वातावरण बनाएको छैन’ देउवाको लिखित मन्तव्यमा भनिएको छ ‘यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक छ । मुलुकमा संकट आएका बेला त्यसको निकास पनि नेपाली कांग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसाथ गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढौं ।’
कार्यकारी भूमिकाबाट देउवाको बिदाइ
दशक लामो कांग्रेसको नेतृत्व सम्हालेका शेरबहादुर देउवा औपचारिक रुपमा मंगलबारदेखि पार्टीको कार्यकारी भूमिकाबाट बिदा भएका छन् ।आगामी १५ औं महाधिवेशनमा विधानले उनलाई उम्मेदवार हुन दिनेछैन तर देउवा स्वयंले भने केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै मंगलबार अब आफू उम्मेदवार नहुने घोषणा गरे । पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्न देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यकारी सभापतिको जिम्मेवारी तोकेका छन् । महाधिवेशन सम्पन्न गर्न खड्कालाई जिम्मेवारी दिएसँगै पूर्ण रूपमा कार्यकारी भूमिकाबाट आफूलाई अलग राखेको सन्देश सभापति देउवाले दिएका छन् ।
जेन–जी आन्दोलनले राजनीतिमा उथलपुथल गराएसँगै देउवा आफ्नो उत्तराधिकारी खडा गर्न नपाउँदै पार्टी नेतृत्वबाट बिदा हुनुप¥यो । यदि, जेन–जी आन्दोलनले यो परिस्थिति निर्माण नगरेको भए एमाले–कांग्रेस समीकरणको सहमति अनुसार २०८३ असारमा आफू प्रधानमन्त्री भएपछि मात्रै पार्टीको महाधिवेशन गराउने दाउमा थिए उनी ।