ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज सामाओसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल आज दिउसो ४ः१५ बजे सुरु हुनेछ । दुई खेल अगावै टी–२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि उचाल्ने लक्ष्यका साथ आज प्रतिस्पर्धामा उत्रिने भएको छ । नेपालले बुधबार राति बलियो प्रतिद्वन्द्वी ओमानलाई ३८ रनले हराएको थियो ।
नेपाल सुपर सिक्समा ८ अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो र तेस्रो स्थानमा रहेका यूएई र ओमानको ६–६ अंक रहेको छ । यूएईले अब कुनै खेल खेल्न बाँकी छैन भने ओमानले आजै अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले अब शुक्रबार सामोआलाई हराएमा अपराजित रहँदै छनोटको उपाधि चुम्नेछ । सुपर सिक्सबाट नेपालसँगै ओमान र यूएई विश्वकपमा पुगिसकेका छन् । जापान, कतार र सामाओ भने विश्वकपबाट बाहिरिइसकेका छन्।