काठमाडौं, जेनजी आन्दोलनको क्रममा आपराधिक मानसिकता भएका व्यक्तिका कारण हिंसात्मक बनेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् ।७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।
‘आपराधिक मानसिकताका व्यक्तिहरूले आन्दोलनको आडमा नेपाल सरकारका महत्त्वपूर्ण प्रतिष्ठान, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सेवा प्रदायक कार्यालयहरू तथा व्यक्तिका निजी सम्पत्ति समेतमा तोडफोड, आगजनी र लुटपाट गरी आन्दोलनलाई हिंसात्मक बनाए,’ मन्त्री अर्यालले भने ।
त्यस्तै सयौं प्रहरी कार्यालयमा आगजनी भएको पनि उनले बताए ।
‘सवारी साधनहरु तोडफोड भए । हातहतियार तथा सुरक्षा उपकरणहरुको लुटपाट भयो । प्रहरीमाथि भौतिक आक्रमण पनि भयो तर नेपाल प्रहरी नागरिक स्पंदनमा बसेको संगठन हो भन्ने सत्य पनि हाल नागरिक सहभागितामा भएको मर्मत र पुनस्र्थापनाले पुष्टि गरेको छ’ मन्त्री अर्यालले भने ।