spot_img

यमपञ्चकको दोस्रो दिनः कुकुर तिहार र लक्ष्मीपूजा आजै धन,ऐश्वर्य र समृद्धिकी देवीको आराधना गरिँदै

spot_img

यमपञ्चकको दोस्रो दिन आज सम्पूर्ण नेपालीहरूले आफ्ना घर आँगनमा कुकुरलाई टीका, माला र मीठा खानेकुरा खुवाएर श्रद्धा र सम्मानपूर्वक पूजा गरिरहेका छन् । वैदिक परम्परा अनुसार कुकुरलाई यमराजको दूत र धर्मराजको द्वारपालको रूपमा मानिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पाप लाग्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

पुराण अनुसार यमलोकमा यमराजको ढोका रक्षण गर्ने कुकुरलाई तिहारको दिन सम्मान गर्दा मृत्युपश्चात् आत्मालाई स्वर्ग मार्ग प्रशस्त हुने विश्वास गरिएको छ । द्वापर युगमा पाण्डवहरू स्वर्गारोहणको क्रममा धर्मराज युधिष्ठिरलाई एक कुकुरले साथ दिई स्वर्गको ढोकासम्म पु¥याएको प्रसङ्ग पनि उल्लेख गरिएको छ, जसले कुकुरको निष्ठा र पवित्रताको प्रतीक दर्साउँछ ।

ऋग्वेदमा ‘समरा’ नामकी कुकुर आमाको कथा उल्लेख छ, जसले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु फेला पार्न सहयोग गरेकी थिइन् । त्यसैले वैदिक सनातन परम्परामा कुकुरलाई अभिभावक, सुरक्षाकर्मी र यमराजको सन्देशवाहकको रूपमा सम्मान गरिन्छ । मृत्युपर्यन्त मोक्षको द्वारमा पनि कुकुरले पहरा दिने उल्लेख ग्रन्थहरूमा पाइन्छ ।

कुकुर आज्ञाकारी, वफादार र घरको पहरेदार जनावर हो । अपराध पत्ता लगाउनेदेखि भूकम्प वा विपत्तिको पूर्व सूचना दिने क्षमतासम्मका कारण कुकुरलाई ‘भैरवको वाहन’ पनि भनिन्छ । सत्यवादी युधिष्ठिरलाई स्वर्ग यात्रामा साथ दिने सौभाग्य पाएको कुकुरप्रति कृतज्ञता र सम्मान स्वरूप वर्षमा एक पटक आजको दिन कुकुर तिहारका रूपमा मनाइन्छ ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन बिहानै तैलाभ्याङ्ग स्नान गर्ने विधि पुराणमा वर्णित छ । उज्यालो हुनुअघि तिलको तेल, सुगन्धित द्रव्य र चन्दन शरीरमा दलेर स्नान गर्दा नरकबाट मुक्ति प्राप्त हुने विश्वास गरिएको छ । तिलमा लक्ष्मी र जलमा गङ्गाको वास हुने भएकाले तिलयुक्त स्नानले पाप नाश हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

स्नान अघि अपमार्ग वनस्पति जलमा डुबाएर शिरमा घुमाउने चलन छ । यसरी तर्पण गरे वर्षौंदेखिका पाप नष्ट हुने विश्वास छ । आजको दिन मासको पातको साग खाने चलन छ, जसले पाप नाश गर्छ भन्ने जनश्रुति छ । साथै ‘नर्के नुहाउने’ अर्थात् शुद्धीकरण स्नान, दीप दान र आलसको बोट बालेर आगो ताप्ने प्रचलन पनि रहेको छ । यसो गर्दा आत्मा शुद्ध भई स्वर्ग प्राप्त हुने धार्मिक विश्वास गरिएको छ ।

लक्ष्मीपूजा आजः धन, ऐश्वर्य र समृद्धिकी देवीको आराधना गरिँदै
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझमा धन, ऐश्वर्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ । लक्ष्मीलाई धन र समृद्धिको देवी मानिन्छ । धार्मिक विश्वासअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्, त्यसैले आज बिहानै उठेर घर, आँगन, झ्यालढोका र सम्पूर्ण घरपरिवार सफा गरी फूलमालाले सजाउने चलन रहेको छ ।

यस दिन श्रद्धालुहरू दिनभर उपवास बसेर बेलुका दीपावली गरेर नुहाइधुवाई गरी धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, विद्यालक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी र धैर्यलक्ष्मीका रूपमा देवीको पूजा आराधना गर्छन् । स्कन्द पुराण, पद्य पुराण र विष्णु पुराणमा उल्लेख भएअनुसार यी आठ रूपहरूले जीवनका आर्थिक, ज्ञान, शक्ति, परिवार, सफलता, धैर्य, खेती र विजयका पक्षहरूलाई प्रतिनिधित्व गर्छन् ।

कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ पनि भनिन्छ । यस दिन बेलुका आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातो माटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ । पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा दियो बालेर लक्ष्मीको आगमनको बाटो देखाइन्छ ।

दीपावली गरेपछि पूजा कोठामा लक्ष्मी, गणेश र कलश स्थापना गरी सुनचाँदीका गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला अर्पण गरेर विधिपूर्वक पूजा गरिन्छ । आरती र मन्त्र उच्चारणपछि परिवारका सबै सदस्यले फलफूल र मिठाई प्रसादस्वरूप ग्रहण गर्छन् । कन्या र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने प्रचलन पनि छ ।

घरमा लक्ष्मीपूजा सकेपछि धन, पैसा वा कुनै सामान बाहिर पठाउने परम्परा छैन, किनभने यसो गर्दा लक्ष्मी बाहिर जाने विश्वास गरिएको छ । मध्यरातमा घरका नारीहरूले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्’ भनेर कामना गर्ने शास्त्रीय विधि पालन गरिन्छ ।

धार्मिक ग्रन्थअनुसार समुद्र मन्थनको समयमा लक्ष्मीदेवी अमृत कलश हातमा लिएर प्रकट भएकी थिइन्, र त्यो दिन यही कार्तिक औँसीको रात परेकाले यसै दिनदेखि लक्ष्मीपूजाको परम्परा सुरु भएको हो । लक्ष्मी धनकी मात्र होइन, शुद्धता, सकारात्मकता र कर्मशीलताको प्रतीक समेत मानिन्छिन् । त्यसैले लक्ष्मीपूजा आत्मिक र आध्यात्मिक दुवै दृष्टिले अत्यन्त महत्त्वपूर्ण पर्व हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img