मन्त्री महावीर पुनले जेन(जी आन्दोलनमा जलेका सीटीईभीटीका विद्यार्थीको पुनः परीक्षाका लागि १ करोड ७५ लाख लाग्ने बताए।
कोशी र बागमती प्रदेशका १० प्रतिशत विद्यार्थीको उत्तरपुस्तिका जलेको र पुनः परीक्षा लिने सहमति भएको छ।
विद्यार्थीलाई प्रदेशमै परीक्षा दिने व्यवस्था मिलाइने र सीटीईभीटीको नयाँ सम्बन्धनका लागि समिति गठन गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन–जी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेका सीटीईभीटीका विद्यार्थीहरूको पुनः परीक्षाका लागि करिब १ करोड ७५ लाख रुपैयाँ खर्च लाग्ने जानकारी दिएका छन्।
मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले कोशी र बागमती प्रदेशका करिब १० प्रतिशत विद्यार्थीको उत्तरपुस्तिका जलेको बताए। मन्त्री पुनका अनुसार जाँच नदिई पास हुनुपर्ने विद्यार्थीको माग अस्वीकार गर्दै पुनः परीक्षा लिने सहमति भएको छ।
उनले विद्यार्थीलाई परीक्षाका लागि काठमाडौं आउनु नपर्ने गरी सम्बन्धित प्रदेशका केन्द्रमै जाँच लिने व्यवस्था मिलाइएको र यसका लागि सबै तयारी भइरहेको बताए।
यसैगरी, मन्त्री पुनले सीटीईभीटीको नयाँ सम्बन्धनका लागि समिति गठन गरिएको जानकारी दिएका छन्। २०६९ सालदेखि हालसम्म सम्बन्धनका लागि परेका ४४२ वटा निवेदनलाई छानविन गरी दुई महिनाभित्र टुंग्याउने उनले बताए। सीटीईभीटीको सम्बन्धन दिन र यसको परिमार्जन गर्नका लागि छुट्टाछुट्टै समितिहरू गठन गरिएको पनि उनले जानकारी दिए।