काठमाडौं ः नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले अहिलेको लडाइँ कुर्सी र पदको लागि हानथाप नभएको स्पष्ट पारेका छन्।संसद् विघटनको असंवैधानिक कदमविरुद्ध ट्रेड युनियनको श्रमिक भेलालाई सम्बोधन गर्दै भने, ‘ओली कुराले चिउरा भिजाउन खोज्नुहुन्छन्। ओलीको सब कुरा भ्रम हुन्। आज निम्तिएको समस्याको जड ओली नै हो।’
कम्युनिस्ट पार्टीको अहिलेसम्मको उपलब्धि ओलीले संकटमा पार्न खोजेको बताए। ओलीमा कम्युनिस्टमा हुनुपर्ने कुनै गुण नभएको समेत बताए।‘सानो दुःखले कम्युनिस्ट आन्दोलन यहाँसम्म ल्याएको नभएकाले अब नयाँ पुस्ताले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ। ओलीमा सामूहिकताको निर्णय मान्य पनि छैन। कम्युनिस्ट विचारमा सामूहिकता चाहिन्छ। तर, ओली आदेश दिन चाहन्छन्’ उनले भने।
ओलीको निरङ्कुश र गुटवादी स्वभावको कारणले यो समस्या भएको बताए। अहिलेको लडाई केपी प्रवृत्ति विरुद्ध भएको जिकिर गरे। ‘निति, विधि र पद्धतिबाट पार्टी चल्छ, तर, ओलीले राम्रोलाई भन्दा हाम्रो लाई अवसर दिन्छन्’ उनले भने, ‘ओली जस्तो मान्छे कम्युनिस्टमा हुने कुनै गुण नभएकाले कम्युनिस्ट पार्टीबाट हटाएका हौँ।’
निर्वाचन आयोगले ४४१ जना केन्द्रीय सदस्य भएको नेकपालाई आधिकारिकता दिएको उनले बताए। ओलीले रातारात थपेको नयाँ केन्द्रीय सदस्यलाई निर्वाचन आयोगले नचिनेको बताए।‘कुर्सी र पदका लागि हानथाप गरेका होइनौँ, न्यायका लागि लडिरहेका छौँ। सरकारको कामको बिषयमा जनताले कुरा उठाइ रहेपछि हामीले प्रश्न गरेका हौँ। तर, उहाँले कुरा नै सुन्न चाहेनन्’ उनले भने, ‘उहाँले घेराबन्दीमा पारेर भनेका छन्। उहाँको आदेश नमानेपछि घेराबन्दीको कुरा गर्नुभयो। हामीले समस्याको बारेमा छलफल गरौँ भन्दा उहाँलाई काम गर्न दिएनौँ रे!’
ओली पार्टीभित्र आफ्नै प्रवृत्तिको कारणले एक्लै भएको जिकिर गरे। ‘उहाँले कम्युनिस्ट पार्टी सिध्याउन खोजे, हामीले मनपरी गर्न पाउँदैन भनेर रोकेपछि प्रधानमन्त्रीबाट हटाउन लागे भनेर संसद विघटन गरे, अध्यक्षबाट हटाउन भन्ने लागेर पार्टी फुटाए’ उनले भने, ‘ओलीले गरेको कुनै कदम संवैधानिक छैन।’
ओली संघीयता र गणतन्त्रको विपक्षीमा रहेको बताए। ओलीले पैसा खर्च गरेर जनप्रदर्शन गर्न खोजेपनि जनताले बुझेर नआएको उनले बताए। सर्वोच्च अदालतले संविधानको मुल भावनालाई टेकेर निर्णय गर्ने विश्वास व्यक्त गरे। उनले नेकपा र सूर्य चिह्न आफ्नो पक्षमा हुने दाबी गरे।