देशका अधिकांश भागको आकाश बादल लागेर धुम्म भएको छ। यसले जाडो ह्वात्तै बढाएको छ। कतिपय ठाउँमा सिमसिम पानी पर्न थालिसकेको छ भने हिमाली भेगमा सोमबार रातिदेखि नै हिमपात बढेर जनजीवन कष्टकर बन्दै गएको छ।यो नेपाल भित्रिएको एउटा मौसमी प्रणालीको असर हो। यस्तै अर्को मौसमी प्रणाली अहिले नेपाल भित्रिने क्रममा छ।दुवै प्रणाली मिसिएपछि त्यसले थप प्रतिकूल असर पार्ने मौसमविदहरू बताउँछन्।
के हुन् दुई मौसमी प्रणाली?
सामान्यतया मनसुन बाहिरिएपछि हिउँद यामसम्म ठूलो पानी पर्दैन। तर कहिलेकाहीँ यो क्रम बिथोलिन्छ। यसपालि त्यस्तै भयो। अहिले अरब सागर र बंगालको खाडीबाट पानी पार्ने दुई छुट्टाछुट्टै प्रणाली नेपाल प्रवेश गर्दैछ। सोमबार रातिबाट देखिन थालेको प्रभाव अरब सागरमा उत्पन्न भई नेपाल प्रवेश गरेको प्रणालीले ल्याएको हो। बंगालको खाडीमा विकास भइरहेको मोन्था चक्रवात नेपाल छिर्न बाँकी नै छ।
नेपाल भित्रिसकेको अरब सागरको प्रणालीले हिमाली क्षेत्र प्रभावित तुल्याएको छ। मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, धादिङ, रसुवा लगायत जिल्लाको हिमाली भेगमा बाक्लो हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो बागमती, गण्डकी, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा भारी हिमपात र वर्षा हुनेछ।
मंगलबार राति बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा भारी हिमपात वर्षाको सम्भावना छ। यो प्रणालीको प्रभाव मंगलबार साँझबाट घट्ने अनुमान छ। काठमाडौं लगायतका धेरै भूभागमा बुधबार वर्षा हुँदैन। केही बेर घाम लाग्नाले न्यानो अनुभूति हुनेछ। बिहीबार बिहान पनि मौसम उघ्रनेछ।
मौसमविद विनोद पोखरेलले बंगालको खाडीमा विकास भइरहेको अर्को प्रणाली मोन्था चक्रवात बिहीबारसम्म नेपाल आइपुग्ने बताए। उनका अनुसार यसले बिहीबारदेखि बागमती, मधेस र कोशी प्रदेशमा भारीदेखि अतिभारी वर्षा गराउन सक्छ। गण्डकी र लुम्बिनीमा हल्कादेखि मध्यम वर्षा गराउने सम्भावना छ। यसबीच धानबाली काट्ने, पराल थन्क्याउने लगायत क्रियाकलाप नगर्न उनले सुझाएका छन्।
विज्ञहरूका अनुसार मोन्था चक्रवात १४ किलोमिटर प्रतिघन्टाको गतिमा नेपालतर्फ बढिरहेको छ। मंगलबार बिहान साढे ५ बजेसम्म बंगालको दक्षिण–पश्चिम र मध्य–पश्चिम भागमा केन्द्रित रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। अहिले यो मछलीपट्नमबाट करिब १९० किलोमिटर दक्षिण–दक्षिणपूर्व, काकिनाडाबाट २७० किलोमिटर दक्षिण–दक्षिणपूर्व, विशाखापट्नमबाट ३४० किलोमिटर दक्षिण–दक्षिणपश्चिम र उडिसाको गोपालपुरबाट ५५० किलोमिटर दक्षिण–दक्षिणपश्चिममा छ।
यसले १००–११० किलोमिटर प्रतिघन्टाको आँधी ल्याउन सक्ने आकलन गरिएको छ। यसले भारतको आन्ध्रप्रदेश, उडिसा, तमिलनाडु र पश्चिम बंगालमा अत्यधिक वर्षा गराइरहेको छ। चेन्नई, तिरूवल्लुर जस्ता क्षेत्रमा पनि सोमबार रातभरि वर्षा भयो। मौसमसम्बन्धी जानकार उज्ज्वल उपाध्याय पनि भारतका कर्नाटका र उडिसामा सक्रिय मोन्था चक्रवात बिहीबार साँझसम्म पर्सा, बारा, रौतहट, सर्लाही हुँदै नेपाल प्रवेश गर्ने बताउँछन्। यसले तराईका केही जिल्लासहित बाग्मतीमा पनि धेरै वर्षा गराउने उनको अनुमान छ।