काठमाडौँ, श्रममन्त्रीमा सिफारिस भएर अन्तिम समयमा शपथ खान नपाएका खगेन्द्र सुनार काभ्रेपलान्चोक जिल्ला अदालत उपस्थित भएका छन् ।उनी विद्युतीय कारोबारसम्बन्धी मुद्दामा बयान दिन लागि हाजिर भएको अदालतका स्रेस्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिइन् ।
अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका सुनार फरार प्रतिवादी थिए । मन्त्रीमा सिफारिस भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो ।सुनारलाई काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पुर्जी काटेको थियो । गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युतीय अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।
कानुन व्यवसायीसहित उपस्थित भएका उनको अहिले बयान जारी छ । बयान सकिएपश्चात आजै थुनछेक बहस गर्ने तयारी अदालतको छ । सुनारमाथि सुर्खेतमा पनि स्वास्थ्य संस्था तोडफोड र स्वाथ्यकर्मीमाथि कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।