आसन्न प्रतिनिधिसभा निर्वाचन प्रभावित नहुने गरी नियमित महाधिवेशन गर्ने समझदारीसहित कांग्रेस शीर्ष नेताहरू मिति र कार्यतालिकामा सहमति जुटाउन संवादमा जुटेका छन् । केन्द्रीय कार्यसमिति बैठक रोकेर आइतबार कार्यसम्पादनमा आठ घण्टा छलफल गरेका नेताहरू सोमबार सहमति जुटाएर मंगलबार मात्रै केन्द्रीय कार्यसमिति बैठक बसाउने योजनामा छन् ।
विशेष महाधिवेशनमा जाँदा पार्टी विभाजन हुने खतरा देखिएपछि संस्थापन र इतर दुवैपक्षीय नेता नियमितमै जाने गरी मिति र कार्यतालिकामा सहमति खोज्न छलफलमा जुटेका हुन् । केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी, पार्टीका पूर्वपदाधिकारीसहित ३६ जना ‘सिनियर नेता’ छन् । केन्द्रीय कार्यसमितिपूर्व कांग्रेस नेताहरू महत्वपूर्ण विषयमा कार्यसम्पादनबाट निर्णय लिने गर्दछन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक बैठक राखेर लगातार आठ घण्टा छलफल चलाएका छन् । आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यसम्पादनमा छलफल चलेको र सोमबार पनि बिहान ९ बजेबाटै छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
कार्यसम्पादनमा सहमति जुटेपछि मात्र केन्द्रीय समिति बैठक आयोजना गर्ने तयारी छ ।प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिले फागुनका लागि तोकिएको राष्ट्रिय चुनावकै आसपास महाधिवेशन आयोजना गर्ने गरी साझा विन्दुको खोजी भइरहेको बताए ।
‘फागुनको चुनावआसपासमै कसरी महाधिवेशन गर्न सकिन्छ भनेर साझा विन्दुको खोजी भइरहेको छ । सोमबारभित्र एउटा सहमतिमा पुगेर मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका छलफलका लागि प्रस्ताव गरिनेछ,’ उनले भने, ‘विशेष महाधिवेशन आयोजना गर्दा पार्टीभित्र चर्को गुटबन्दीमा पक्ष–विपक्ष हुने जोखिम हुन्छ । त्यसैले सबै नेताहरू केही समय सारेर भए पनि नियमित महाधिवेशन नै गर्नका लागि सहमत भइसकेका छन् ।’
कांग्रेसको हालको केन्द्रीय कार्यसम्पादन समितिको कार्यकाल मंसिर अन्तिममा सकिँदै छ भने २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएको छ । सर्वसम्मत निर्णयका लागि छलफल भइरहेको केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले बताए । ‘चुनावअघि गर्ने कि पछि गर्ने कार्यतालिकामा केन्द्रित रहेर छलफल चलिरहेको छ, यी दुई विचारबिचको छलफलबाट सबैलाई मान्य हुने गरी सर्वसम्मत निर्णय हुन्छ,’ पौडेलले भने, ‘सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीभित्र स्थापनाकालदेखि नै विभिन्न विचारहरूबिच चिन्तन, मनन, विमर्शहरू हुँदै आएको छ, त्यसैले अहिलेको छलफल पनि कुनै नौलो होइन ।’
कांग्रेसभित्र संस्थापन पक्ष आगामी फागुनमा राष्ट्रिय चुनाव घोषणा भएकाले वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छ । चुनाव नभएको अवस्थामा भने फागुनभित्रै पनि महाधिवेशन आयोजना गर्ने गरी अहिल्यै सहमति गर्न सकिने तर्क संस्थापन पक्षका नेताहरूले राखेका छन् । इतर पक्ष भने मंसिरभित्र महाधिवेशन नगर्ने हो भने मंसिरमा वडा र पालिका हुँदै जिल्ला अधिवेशनहरू कार्यतालिकाअनुसार अगाडि बढाएर पुसभित्र राष्ट्रिय महाधिवेशन गर्नुपर्ने पक्षमा छ । खासगरी इतर पक्षको तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले पछिल्लोपटक यस्तो प्रस्ताव राखेका छन् ।
शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजनमा बसेको पदाधिकारी बैठकमा महामन्त्री शर्माले १६–१९ पुसको मिति प्रस्ताव गरेका थिए । यसबाहेक उनले ‘यसमा पनि सहमति हुन नसके महासमिति सदस्यहरूको भर्चुअल मतदानबाट निर्णय गर्न’ सुझाव दिएका थिए । बैठकमा त्यसबारे छलफल भए पनि सहमति भने जुटेको छैन ।
कार्यवाहक सभापति खड्काले सहमति जुटाउन यसबिचमा महामन्त्रीद्वय थापा र शर्मा तथा संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाका साथै पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतसँग पनि छलफल गर्दै आएका छन् ।
मीन विश्वकर्मा, प्रचार विभाग प्रमुख
फागुनको चुनाव आसपासमै कसरी महाधिवेशन गर्न सकिन्छ भनेर साझा विन्दुको खोजी भइरहेको छ । सोमबारभित्र एउटा सहमतिमा पुगेर मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका छलफलका लागि प्रस्ताव गरिनेछ । विशेष महाधिवेशन आयोजना गर्दा पार्टीभित्र चर्को गुटबन्दीमा पक्ष–विपक्ष हुने जोखिम हुन्छ ।
मिति घोषणाको माग गर्दै केन्द्रीय कार्यालयको मुख्य गेटमा तालाबन्दी
तत्काल १५औँ महाधिवेशन मिति घोषणा गर्न माग गर्दै कांग्रेसको केन्द्रीय कार्यालय सानेपास्थित मुख्य गेटमा असन्तुष्ट युवाहरूले तालाबन्दी गरेका छन् । नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमाल, नेविसंघ केन्द्रीय सदस्य प्रेमिका रानामगर, भुवन भट्ट, मनीष रायमाझीलगायतले कांग्रेस सुधार अभियानको ब्यानरमा तालाबन्दी गरेका हुन् ।
युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने उनीहरूको माग छ । केहीबेर उनीहरूले कांग्रेस कार्यालयको मुख्य गेटमा प्रदर्शनसमेत गरेका थिए । केन्द्रीय समितिमा ४० प्रतिशत युवाहरूको प्रतिनिधित्व गरिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।