आइसीसी विश्वकप लिग २ मा नेपालको यात्रा जटिल र चुनौतिपूर्ण बन्दै गएको छ । हाल यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले हारको ह्याट्रिक गर्दै आफूलाई थप समस्यामा पा¥यो ।नेपालले अमेरिकासँग लगातार दुई हार र आयोजक यूएईसँग एक हार व्यहोरेको हो । अहिले अंकतालिकामा नेपाल र यूएई सबैभन्दा पुछारमा छन् भने अमेरिका शीर्ष स्थानमा उक्लेको छ । शृङ्खलाको अन्तिम म्याच भोलि नेपालले यूएईविरुद्ध खेल्नेछ । नेपाल अन्तिम खेलमा जित निकालेर २ अंक सुरक्षित गर्न चाहन्छ ।
नेपालले खेलेका तीनवटै म्याचमा अपेक्षित प्रदर्शन गर्न सकेन । पहिलो खेलमा नेपाललाई अमेरिकाले १०६ रनको भारी अन्तरले पराजित गरेको थियो । दोस्रोमा यूएईले नेपाललाई ५ विकेटले मात दियो । अमेरिकासँगको तेस्रो म्याच केही हदसम्म प्रतिस्पर्धात्मक थियो । तर, नेपालले फिल्डिङमा केही त्रुटि गर्दा ४ विकेटको हार स्वीकार्न बाध्य भयो । व्यक्तिगत प्रदर्शनको कुरा गर्दा नेपालका मुख्य ब्याट्सम्यानहरु कप्तान रोहितकुमार पौडेल, ओपनर कुशल भुर्तेल र आरिफ शेख तथा मध्यक्रमका दिपेन्द्रसिंह ऐरी राम्रो लयमा छन् । तेस्रो म्याचमा आठौं नम्बरमा आएर करण केसीले पनि उत्कृष्ट प्रदर्शन गरे । एक दिवसीय विशेषज्ञ ब्याटरहरु भीम सार्की र आरिफ शेखको प्रदर्शन औसत छ । सबैभन्दा आशा गरिएका गुल्शन झाले भने निराश तुल्याइरहेका छन् ।
बलिङतर्फ सन्दीप लामिछाने उत्कृष्ट फर्ममा छन् । उनले तीन खेलमा सात विकेट लिइसके । अन्य बलरहरुको प्रदर्शनमा भने एकरुपता छैन । खासगरि फास्ट बलरहरुले नेपाललाई चाहिएको समयमा विकेट दिन सकिरहेका छैनन् भने महंगा पनि बनिरहेका छन् । स्पिनर ललितनारायण राजवंशीको प्रदर्शन पनि सन्तोषजनक छैन । उनी तीन खेलमा विकेटविहिन रहे ।
भोलिको म्याचमा नेपाल यूएईसँग पराजित भएको खण्डमा दुई टिमको जित संख्या बराबर हुनेछ । अहिलेसम्म नेपालले १९ खेलमा ५ जित निकालेको छ भने दुई नतिजाविहिन खेलमा अंक बाँडेर १२ अंक बटुलेको छ । यूएईले १९ खेलमा ४ जितका साथ ८ अंक बटुलेर अंक तािलकाको पुछारमा रहेको छ । भोलि जसले जिते पनि अंकतालिकामा फेरबदल आउनेछैन, तर जित्ने टिमले २ अंक प्राप्त गर्ने छ, जुन आगामी यात्राका निम्ति महत्वपूर्ण हुन सक्छ ।
लिग २ मा प्रत्येक टिमले ३६ वटा म्याच खेल्छन्, जसमा ३ वटा घरेलु त्रिकोणात्मक सिरिज हुनेछ । नेपालले आधाभन्दा बढी म्याच खेलिसकेकाले अब कमब्याकका लागि बाँकी १७ खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । नेपालले लिग २ को अघिल्लो संस्करणमा आफ्नै प्रदर्शनबाट प्रेरणा लिन सक्छ । त्यसबेला नेपालले अन्तिम १२ मध्ये ११ खेलमा जित हासिल गर्दै एक दिवसीय मान्यता जोगाएको थियो ।
लिग २ का शीर्ष ४ टोलीले एक दिवसीय मान्यता सुरक्षित राख्नेछन् । साथै, विश्वकप क्वालिफायरमा पनि स्थान बनाउने छन् । नेपालको न्यूनतम लक्ष्य यही नै हो । लिग–२ मा तल्लो चार स्थानमा परेका टिमहरुले विश्वकप क्वालिफायर प्ले–अफमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । प्ले अफमा लिग–२ का तल्लो चार टोलीहरूसँगै क्रिकेट विश्वकप च्यालेन्ज लिगका शीर्ष चार टोलीहरू पनि सहभागी हुन्छन् । यो च्यालेन्ज लिग अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको तेस्रो तह हो ।
प्ले–अफमा राम्रो प्रदर्शन गरेर कुनै पनि टोली फेरि क्वालिफायरमार्फत विश्वकप प्रतिस्पर्धामा फर्किन सक्छ । तर खराब प्रदर्शन भएमा लिग–२ टोली च्यालेन्ज लिगमा घटुवा हुने जोखिम रहन्छ र एकदिवसीय मान्यता गुम्न सक्छ । अघिल्लो चक्रमा यही दुर्भाग्य पपुआ न्यूगिनीलाई परेको थियो । लिग–२ मा अन्तिम स्थानमा रहेर प्ले–अफमा पनि अन्तिम नै भएपनि पपुवा न्यूगिनी तेस्रो तह (च्यालेन्ज लिग) मा झारेको थियो ।