spot_img

ओलीलाई टक्कर दिन विद्या समूहबाट ईश्वरलाई अघि सारिँदै,ओलीकाे चेतावनी समानान्तर गतिविधि सञ्चालन गरे कारबाही

spot_img

एमाले अध्यक्ष केपी ओलीले आसन्न एघारौँ महाधिवेशनलाई चुनौती दिने गरी समानान्तर गतिविधि सञ्चालन गर्नेमाथि कारबाही हुने चेतावनी दिएका छन् । आफू अत्यन्तै लचिलो र सहनशील भए पनि पार्टी सिध्याउन खोजे कडा जवाफ दिन बाध्य हुने ओलीको चेतावनी छ । अनुशासनका नाममा इतर समूहका नेतामाथि दबाब बनाएर ओलीले सर्वसम्मत नेतृत्व कब्जा गर्ने सन्देश प्रवाह गरेका छन् ।पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा आफूलाई चुनौती दिन खोजिरहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यसहितका नेताहरूको गतिविधितर्फ लक्षित गर्दै ओलीले शुक्रबार यस्तो चेतावनी दिएका हुन् । पार्टीले संसद् पुनस्र्थापनाको पक्षमा उभिँदै प्रतिक्रियावादविरुद्ध लड्नुपर्ने समयमा कतिपय नेताहरू आफ्नै संगठनविरुद्ध गतिविधिमा लागेको ओलीको आरोप छ ।

पार्टी पुनर्गठनका नाममा अनुशासनहीन गतिविधि बढेपछि महाधिवेशन एक वर्षअगावै सारिएको ओलीको दाबी छ । तर, एक वर्षअगावै नै महाधिवेशन गर्ने तयारी भइरहँदा पनि अनुशासन तोडेर जथाभावी बोल्ने र समानान्तर गतिविधि चलाइएको उनले आरोप लगाए । ‘पार्टीमा पुनर्गठन चाहियो भनेर केही साथीले धेरै कराए, अनुशासनहीन ढंगले उपद्रो मच्चाएपछि एक वर्षपछिको महाधिवेशनलाई ठिकै छ भनेर एक वर्षअघि नै सारियो । कसले काम गरेको छ–छैन, लडेको छ–छैन कार्यकर्ताले फैसला गर्दै छ,’ ओलीले बुद्धिजीवीहरूसँगको अन्तक्र्रियामा भने, ‘तैपनि साँझका जुनकिरीझैँ ¥याइँ¥याइँ गर्नेले मिडियामा गएर जे पायो त्यही बोलिरहेका छन् । पार्टीले संसद् पुनस्र्थापनाको पक्षमा उभिँदै प्रतिक्रियावादविरुद्ध लड्नुपर्ने समयमा केपी ओली राजीनामा दे भनिरहेका छन्, यो आज मात्रै भनेको हो र ?’

आफ्नाविरुद्ध लाग्ने नेतालाई पार्टीमा संरक्षण मात्र नभएर उचित पदमा समेत राखेर ल्याएको ओलीले दाबी गरे । साथै, उनले अब पार्टीलाई एकताबद्ध बनाएर लैजान हदैसम्म लचिलो बन्न तयार भए पनि पार्टी नै कमजोर पार्ने काम भए सैह्य नहुने चेतावनी दिए ।

एमाले ११औँ महाधिवेशन ः ओलीलाई टक्कर दिन विद्या समूहबाट ईश्वरलाई अघि सारिँदै
एमाले अध्यक्ष केपी ओलीले सदस्यता नवीकरण रोक्दै सक्रिय राजनीति गर्ने बाटो बन्द गरेपछि पूर्वराष्ट्रपति विद्या भण्डारी आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अगाडि सार्ने निष्कर्षमा पुगेकी छिन् । अध्यक्ष ओलीले आफूलाई मुख्य प्रतिस्पर्धी ठानेर सदस्यता नवीकरणमा अवरोध गरेको मानेकी भण्डारीले पोखरेललाई अध्यक्षको उम्मेदवार बनाउन थालेकी हुन् । आगामी २७–२९ मंसिरमा काठमाडौंमा एमाले महाधिवेशन हुँदै छ ।

पाँच दिनअघि निवासमा भेटेका पोखरेललाई उनले ओलीलाई टक्कर दिने गरी तयारी गर्न सुझाव दिएकी थिइन् । एमालेका एक पदाधिकारीका अनुसार भण्डारीले पोखरेललाई अध्यक्ष पदका लागि तयारी गर्न सुझाउँदै आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने आश्वासनसमेत दिएकी छिन् । उनका अनुसार १५ कात्तिकको केन्द्रीय सचिवालय बैठकपछि ओलीसँग भएको टेलिफोन संवाद सकारात्मक नदेखिएपछि भण्डारीले वैकल्पिक गृहकार्य थालेकी हुन् ।

‘अध्यक्ष र पूर्वराष्ट्रपतिबिचको पछिल्लो टेलिफोन संवाद सकारात्मक बनेन । अध्यक्षले ११औँ महाधिवेशनमा नेतृत्वमा सहयोग गर्न अनुरोध गर्नुभएछ । बरु, महाधिवेशनपछि पार्टी नेतृत्व हस्तान्तरण गर्ने या मुलुकको कार्यकारी प्रमुख बनाउने प्रस्ताव राखेको बुझिन्छ,’ भण्डारीसँग संवादमा रहेका एमालेका ती पदाधिकारीले नयाँ पत्रिकासँग भने, ‘अहिले नेतृत्वबाट हट्दा आफूमाथिको घेराबन्दी झन् बढ्छ भन्ने विषय अध्यक्षबाट आएछ । यही परिवेशमा पूर्वराष्ट्रपतिले वरिष्ठ उपाध्यक्षलाई सबै विषय अवगत गराएर तयारीमा लाग्न सुझाउनुभएको छ ।’ ती नेताका अनुसार भण्डारीसँगको टेलिफोन संवादमा ओलीले अहिले नेतृत्वबाट हट्दा पार्टी र आन्दोलनमाथि नै प्रश्नचिह्न आउन सक्ने दाबी गरेका थिए ।

केन्द्रीय संगठन विभागले गरेको नवीकरणलाई ओलीले केन्द्रीय कमिटीको बलमा मान्यता दिन रोकेपछि विद्या उनीसँग असन्तुष्ट छिन् । २२ भदौमा सम्पन्न विधान महाधिवेशन हुँदै ३१ असोजमा सम्पन्न केन्द्रीय कमिटी र १५ कात्तिकमा सम्पन्न केन्द्रीय सचिवालय बैठकसम्म पनि सदस्यता नवीकरणको सवाल उठ्दै आएको छ । तर, पछिल्लो बैठकमा ओलीले केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमाथि अन्यथा निर्णय गरेर उल्ट्याउन नसकिने बताएर ‘च्याप्टर क्लोज’ गरेका थिए ।

यद्यपि, ओलीले पछिल्लो संकटका कारण भण्डारीसँग भेटवार्ता हुन नपाएकाले सबै विषय भेटेर टुंग्याउने बताएका थिए । उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार अब बस्ने केन्द्रीय सचिवालय बैठकमा भावी नेतृत्वबारे खुलस्त छलफल गर्ने समझदारीसहित पछिल्लो सचिवालय बैठक टुंगिएको थियो ।

‘अबको सचिवालय बैठकमै महाधिवेशनबाट भावी नेतृत्व कस्तो निर्माण गर्ने, कसरी निर्माण गर्ने, को–को बिदा हुनेजस्ता विषयमा छलफल गरौँला भनेर अध्यक्षले भन्नुभएको छ । सम्भवतः अबको बैठकमा भावी नेतृत्वबारे पनि खुलेर कुरा होला । त्यही बैठकबाटै पूर्वराष्ट्रपति भण्डारीको विषय पनि अन्तिम किनारा लाग्दा,’ उपाध्यक्ष ज्ञवालीले नयाँ पत्रिकासँग भने ।

संस्थापन इतर पक्षले पनि मदन भण्डारीको ७५औँ जन्मजयन्तीका लागि खोलिएको सम्पर्क कार्यालयमार्फत महाधिवेशनकेन्द्रित गतिविधि सुरु गरेको छ । तर, भण्डारीले साथ रहने वचनसहित पोखरेलाई तयारी गर्न सुझाए पनि वरिष्ठ उपाध्यक्ष पोखरेल सशक्त रूपमा अगाडि बढेका छैनन् । उनलाई उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतले पनि साथ रहने भन्दै तयारीका लागि सुझाव दिँदै आएका छन् । तर, आफूलाई साथ दिन सक्ने पदाधिकारीसहित केन्द्रीय तहका नेताहरूसँग पोखरेलले पर्याप्त गहन परामर्श भने गरिसकेका छैनन् ।

अहिलेसम्म भण्डारी समूहभित्र भेटघाट, समन्वय, नीतिगत विमर्श र अबको बाटोबारे उपाध्यक्ष सुरेन्द्र पाण्डेले नै समग्र नेतृत्व गरिरहेका छन् । बानेश्वरस्थित सम्पर्क कार्यालयबाट नेता कृष्णप्रसाद दाहालले समन्वय तथा संयोजन गरिरहेका छन् ।

पार्टी बैठकमा नेतृत्वबारे बहस र छलफल नगरीकनै बाहिर दाबी गर्दै हिँड्नु उपयुक्त नभएकाले पनि पोखरेलले औपचारिक रूपमा अध्यक्षको उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत नगरेको कतिपय नेताहरूको बुझाइ छ । अध्यक्ष ओलीले १५ कात्तिकको सचिवालय बैठकमा अब बस्ने सचिवालय बैठकमा नेतृत्व निर्माणका विषयमा केन्द्रित रहेर छलफल गर्ने जानकारी गराएका छन् । त्यसपछि मात्र टिम निर्माण गर्ने गरी नै अगाडि बढ्ने सोचमा पोखरेल रहेको स्रोतको भनाइ छ ।

भण्डारीको पक्षमा खुलेका नेता–कार्यकर्ताहरूसँग अलग्गै भेट्ने, सामूहिक भेला गरेर नेतृत्वमा आफू अगाडि बढ्न लागेको सन्देश पोखरेलले अहिलेसम्म प्रवाह गरेका छैनन् । त्यसैले पनि भण्डारीको पक्षमा खुलेका पदाधिकारीसहितका कतिपय नेताहरूले उनी अन्तिम घडीसम्म अडिन्छन् कि अडिँदैनन्, आशंका नै गरिरहेका छन् । तर, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्षमा उम्मेदवारी दिने गरी नै पोखरेलले क्रमशः आन्तरिक तयारी गरिरहेको बताइन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img