शिक्षामन्त्री महावीर पुनकाे घाेषणाःराजनीतिक दलमा आबद्ध शिक्षक,प्राध्यापक र कर्मचारीलाई कारबाहीकाे दायरामा ल्याउने
शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भएमा कारबाही गरिने भएको छ । शिक्षा मन्त्रालयले आइतबार जानकारी तथा ध्यानाकर्षणपत्र जारी गर्दै राजनीतिक दलमा आबद्ध हुने शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई कारबाही हुने बताएको हो । शिक्षामन्त्री महावीर पुनले शिक्षकहरूलाई राजनीतिमा नलाग्न ध्यानाकर्षणसमेत गराएका छन् ।
‘मन्त्रालयको आधिकारिक इमेल, टेलिफोनलगायत विभिन्न सामाजिक सञ्जालमा अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज, शिक्षाविद् तथा सरोकारवालाहरूबाट श्रम ऐन, २०७४ तथा ट्रेड युनियन ऐन, २०४९ बमोजिम पेसागत हकहित र अधिकार प्राप्तिका लागि सौदाबाजी गर्न स्थापना भएका नेपाल शिक्षक महासंघ तथा नेपाल शिक्षक महासंघसँग आबद्धता लिएका पेसागत संगठनहरू र विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीका पेसागत संघसंगठनहरू पेसागत कर्तव्य, नैतिक दायित्व र पेसागत आचरणविपरीत राजनीतिक गतिविधिहरूमा संलग्न भएको र उक्त कारणले शैक्षिक गुणस्तर खस्किँदै गएको भनी व्यापक जनगुनासो प्राप्त भएको सन्दर्भमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयले जारी गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी पेसागत ऐनहरूले कर्तव्य, नैतिक दायित्व र आचरणको प्रबन्ध गरेको सर्वविदितै छ। कुनै पनि पेसागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिका लागि सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिनेसम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु ।’
मन्त्री पुनले विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसंगगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको बताएका छन्।
‘मन्त्रालय शिक्षक–कर्मचारीको पेसागत हकहितका साथै उनीहरूको संविधानप्रदत्त हकअधिकार अभ्यासको सदैव सम्मान गर्दछ र उक्त हकअधिकारको प्रयोग र संरक्षणबारे संवेदनशील पनि रहेकाले शिक्षक महासंघ, प्राध्यापक संघलगायत शिक्षा क्षेत्रमा क्रियाशील संघसंगठनहरूलाई गैरराजनीतिक चरित्रको, स्वतन्त्र र व्यावसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोहीबमोजिमको कानुनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान गर्दछु,’ मन्त्री पुनद्वारा जारी ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘आफ्नो पेसागत कर्तव्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्मविपरीतका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्नेसमेत जानकारी गराउँदछु ।’ मन्त्री पुनले शिक्षकहरूलाई राजनीतिबाट अलग राख्ने दाबी गरेका छन् । उनले शिक्षकहरूलाई राजनीतिक आबद्धताबाट अलग गराउन गृहकार्यसमेत गर्दै आइरहेका छन्।

- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -