मधेस प्रदेशमा एमाले केन्द्रीय सदस्य एवम् संसदीय दल नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन्।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आइतबार अबेर राति यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्। प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठूलो दलको रूपमा रहेको छ। एमाले दल नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुख भण्डारी भने काठमाडौं लागेकी छन्।पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) का अनुसार बर्दिबास र सिन्धुलीको सिमाना स्थित एक होटलमा नियुक्तिपत्र प्रदान गरेकी हुन्।
उनी सोमबार बिहान काठमाडौं प्रस्थान गरेकी थिइन्। भण्डारीले आफू अस्वस्थ भएको कारण जनाउँदै काठमाडौं जान लागेको बताएकी थिइन्। तर र्दिबास र सिन्धुलीको सिमाना पुगेर उनले यादवलाई मुख्यमन्त्री नियुक्त गरिन् र त्यहीँ उनलाई शपथ गराइन्।पूर्वमुख्यमन्त्री सोनलले मधेस प्रदेशका जनताप्रति धोका भएको प्रतिक्रिया दिएका छन्।सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री नियुक्त हुँदै गरेको भिडिओसहित उनले लेखेका छन्।
‘मधेस प्रदेशको जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा निस्केकी मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन्,’ उनले लेखेकी छन्।निवर्तमान मुख्यमन्त्री सोनलले नै प्रदेश प्रमुख भण्डारीलाई जनकपुरबाट बिदाइ गरेका थिए।मधेस प्रदेश सभामा एमालेको २५ सिट छ। प्रदेश सभा सदस्य रामचन्द्र मण्डल सभामुखमा नियुक्त भएका छन् भने दीपेन्द्र ठाकुर निलम्बनमा छन्।
धनुषाको औरही गाउँपालकिामा १५ शैय्याको अस्पताल निर्माणका क्रममा हिनामिना गरेको आरोपमा उनी लगायत १७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन्। ठाकुर धनुषा निर्वाचन क्षेत्र नम्बर ३(२) बाट निर्वाचित भएका थिए।शनिबार विश्वासको मत लिने क्रममा सोनलले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।
प्रदेश प्रमुखले होटलमा प्रदेशको अस्मितालाई समाप्त पारिन् ःसोनल
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मितालाई एक होटलमा समाप्त पारेको बताएका छन् । उनले मधेस प्रदेशको जनतासँग धोका भएको बताएका हुन् ।
स्वास्थ्य उपचारका लागि काठमाडौँ हिँडेकी मधेस प्रदेशकी प्रमुख भण्डारीले सोमबार बिचबाटोमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन् । सिन्धुलीको एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाइन् । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।
यसको विरोध गर्दै सोनलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेस प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारको नाममा निस्केकी मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन्। एक त महिला अर्को स्वास्थ्यको कुरा गरिन्।’
विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । सोनलले प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै काठमाडौँ जान जनकपुरबाट निस्केको आरोप लगाएका छन् । तर, बिचबाटोमा नै उनले यादवलाई शपथ गराएको उनको भनाई छ ।