मधेस प्रदेशमा विगतको सत्ता साझेदार नेपाली कांग्रेसलाई धोका दिँदा नेकपा एमालेलाई अहिले आपत आइलागेको छ।प्रदेश प्रमुखको गरिमा र प्रतिष्ठाकै मानमर्दन गर्दै बर्दिबासको होटलमा नियुक्ति र शपथ लिएर एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बने पनि प्रदेशसभामा उनको बहुमत पुग्दैन। एमालेको आफ्नै सदस्य २५ जना मात्र छन्। त्यसमध्ये पनि रामचन्द्र मण्डल सभामुख छन् भने अर्का एक सांसद भ्रष्टाचारको मुद्दा लागेर निलम्बनमा परेका छन्।
कुल १०७ सदस्य रहेको मधेस प्रदेशसभामा ७४ जना सांसदले उनको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता नै गरिसकेका छन्। यो दुईतिहाइ संख्या हो। अदालतले बुधबारका लागि पेसी तोकेको छ।यसबाट मुख्यमन्त्री यादवले अरू दलको विश्वासको मत पाउनेवाला छैनन् भन्ने प्रस्ट हुन्छ। यसरी विश्वासको मत पाउने आधार नहुँदा नहुँदै यादवले झिसमिसेमा होटलमै पुगेर नियुक्ति र शपथ किन लिए त?नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव आफूहरूलाई धोका दिँदा एमालेलाई यस्तो नौबत आइलागेको टिप्पणी गर्छन्।
एमालेले प्रदेश प्रमुख, सभामुख सबै पदको गरिमा माटोमा मिलाएको आरोप लगाउँदै यसको मूल्य चुकाउनुपर्ने उनले बताए।’विगतमा हामी मिलेर जाने सहमति भएको थियो। तर त्यो त हामीलाई भन्ने कुरा मात्र रहेछ। प्रदेश प्रमुख एमालेले नै बनाएको थियो, सभामुख पनि उसकै थियो,’ उनले भने, ’सबैलाई दुरूपयोग गरेर एमालेले ताण्डव मच्चायो। यसविरूद्ध हामी अदालत गइसकेका छौं। अब अदालतको क्षेत्राधिकारभित्र छिरिसक्यो। उसले नै छिनोफानो गर्छ।’
एमालेले पनि कांग्रेसलाई धोका दिँदा अहिलेको आपत स्थिति आइलागेको आत्मानुभूत गरेको छ।मुख्यमन्त्रीको नियुक्ति र शपथ लिएका सरोज यादवले पदभार ग्रहण गर्न पाएका छैनन्। असन्तुष्ट सात दलका सांसदले सोमबार मुख्यमन्त्री, प्रदेश प्रमुखको कार्यालय तोडफोड गरेका थिए। जनमत पार्टीले आफ्नो विरोध प्रदर्शनलाई जनकपुर बाहिर पनि पु¥याएको छ।
मधेश प्रदेशमा नेकपा एमालेको मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दलले बुधबार पनि आन्दोलन जारी रहने जनाएको छ । मंगलबार राति जारी विज्ञप्तिमा उनीहरुले मधेश प्रदेशमा नियुक्त मुख्यमन्त्री र मन्त्रीलाई बहिस्कार गर्न र कुनै पनि कार्यक्रममा सहभागी नगराउन पनि अपिल गरेका छन् ।
यो आह्वानपछि सोमबारदेखि असामान्य बनेको मधेश प्रदेशको राजधानी जकनपुरधाम अझै सामान्य नबन्ने संकेत गरेको छ । तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुदेवी भण्डारीले असंवैधानिक तरिकाबाट मधेशमा सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि आन्दोलित ७ दलले बुधबार बिहान ८ः३० बजेदेखि ‘विरोध तथा शान्तिपूर्ण आन्दोलन’ हुने भएकाले सहभागिताका लागि अनुरोध गरेको छ ।