नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले शिक्षा क्षेत्रको सुधारको काम रोकेको आरोप लगाएका छन् ।एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम परिषद् बैठकलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शिक्षकका समस्या समाधानका लागि निवर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अगाडि बढाएका फाइल ओलीले रोकेर राखेको आरोप लगाएका हुन् ।
‘अहिले हामी प्रतिगमनविरुद्ध उभिएका छौं । प्रतिगमनलाई परास्त गरे पछि हामीले दिएका सुझाव कार्यान्वयन हुनेछ । ओलीले क्याबिनेटमा रोकेका फाइल फुकाउने छौं,’ प्रचण्डले भने ।शिक्षकहरूको प्रगतिशील स्वभाव हुने भएकाले ओली शिक्षकहरूसँग तर्सिएर हिँडेको आरोप प्रचण्डले लगाए ।‘शिक्षक समुदाय मेरा हुँदैनन्, शिक्षकलाई एकता हुन पनि नदिने, रोकेर राख्ने गरेको रहस्य अहिले थाहा भयो । ओली शिक्षकसँग तर्सिनु हुँदोरहेछ, उहाँलाई अन्धभक्त मात्र चाहिने, शिक्षकले विवेक प्रयोग गर्छन्, विश्लेषण गर्छन्, उनीहरू नचाहिने,’ प्रचण्डले भने ।
आफू पनि राजनीतिमा होलटाइमर हुनुपूर्व शिक्षक रहेको स्मरण गर्दै प्रचण्डले शिक्षकलाई दोस्रो दर्जाको कर्मचारीको व्यवहार गरिएको आरोप लगाए ।‘साढे दुई(तीन वर्ष शिक्षण पेशा गरेर राजनीतिमा होमिएको हुँ । अन्त कहीँ जागिर नपाएपछि, प्राविधिक क्षेत्रमा जागिर नपाएपछि दोस्रो दर्जाको नागरिक र कर्मचारी जस्तो हेर्ने सामान्ती राज्यले संस्कार बसायो । क्रान्ति र परिवर्तनप्रति शिक्षकको लगाव हुनु वस्तुगत आवश्यकता हो । शिक्षकहरूको कम्युनिस्ट आन्दोलनसँग प्रत्यक्ष लगाव र योगदान छ,’ उनले भने ।