राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबले आफ्नो विजयी यात्रालाई सातौं खेलसम्म पनि जारी राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा उसले चौदण्डीगढी नगरपालिकालाई १४–० ले पराजित गरेको हो ।एपिएफको फराकिलो जितमा सावित्रा भण्डारीले ८, अनिता केसी र अनिता बास्नेतले समान २–२ गोल गर्दा अनु लामा र रविना गोलेले समान १–१ गोल गरे
खेलको चौथो मिनेटमै गोल गर्दै भण्डारीले एपिएफलाई अग्रता दिलाएकी थिइन् । १८ औं मिनेटमा भण्डारीले नै एपिएफले अग्रता दोब्बर बनाइन् ।२४ औं मिनेटमा केसीले एपिएफका लागि तेस्रो गोल गर्दा ३६ औं मिनेटमा भण्डारीले अर्को गोल थपेर आफ्नो ह्याट्रिक पूरा गरिन् ।४० औं मिनेटमा गोल गर्दै केसीले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरिन् । ४३ औं मिनेटमा भण्डारीलेव्यक्तिगत चौथो र थप गरिएको समयमा बस्नेतले गोल गर्दा पहिलो हाफमा एपिएफले ७–० ले अग्रता बनायो ।
एपिएफले पहिलो र दोस्रो हाफमा समान ७–७ गोल ग¥यो । ५३ औं र ५६ औं मिनेटमा गोल गर्दै भण्डारीले दोहोरो ह्याट्रिक पूरा गरिन् ।६४ औं मिनेटमा बस्नेतले व्यक्तिगत दोस्रो र टिमका लागि १० औं गोल गरिन् । ७२ औं मिनेटमा भण्डारीले व्यक्तिगत सातौं गोल गर्दा एपिएफ ११–० ले अगाडी रह्यो ।एपिएफका लागि ७५ औं मिनेटमा लामाले १२ औं र ७९ औं मिनेटमा गोलले १३ औं गोल गरे । ८७ औं मिनेटमा भण्डारीले व्यक्तिगत आठौं गोल गर्दा एपिएफले १४–० को जित दर्ता गयो ।जितसँगै एपिएफ ७ खेलमा २१ अंकका साथमा लिगको शीर्ष स्थान कायम रहँदा पराजय बेहोरेको चौदण्डीले हालसम्म कुनै अंक जोड्न सकेको छैन ।