spot_img

चुनावमा जाने कांग्रेसको निर्णय, एमाले तयारी गर्दै

spot_img

काठमाडौँ,  तत्कालीन सत्ता गठबन्धनमा रहेका मुख्य दुई दलमध्ये एमालेले प्रतिनिधिसभा पुनःस्थापनालाई मुख्य मुद्दा बनाएर सडकबाट दबाब बढाइरहेका बेला कांग्रेसले भने निर्वाचनमा जाने निर्णय लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरानै सहकार्य अघि बढाउन आग्रह गर्दै प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा ल्याउन खोजिरहेका बेला कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा जाने निर्णय शनिबार गरेको हो ।

‘२१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ,’ कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा भनिएको छ ।

निर्णयमा कांग्रेसले भनेको छ, ‘निर्वाचनमार्फत नै संविधानघको रक्षा तथा जेन–जी प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ ।’

प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डालाई भने कांग्रेसले अदालतको विचाराधीन विषय भनेको छ । ३ असोजमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले संसद् विघटनको उपक्रम संविधानको परिकल्पना तथा सम्मानित अदालतको व्याख्याविपरीत भएकाले असंवैधानिक रहेको भनेर गरेको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ । तर, सबै संकटको निकास फेरि पनि निर्वाचनबाटै हुने कांग्रेसको ठहर छ ।

उपचारका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरमै रहेका बेला विघटित प्रतिनिधिसभाका सांसदले पुनःस्थापनाको एजेन्डा बनाउन दबाब दिने भन्दै हस्ताक्षरसमेत थालेका थिए । तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेले लिएको अग्रसरतामा ४५ जना तत्कालीन सांसदको हस्ताक्षरसमेत भइसकेको थियो । तर त्यसमा संस्थापन पक्षभित्र समेत एकमत भएन । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको दबाब तथा निर्वाचनको विकल्प नसोच्न राष्ट्रपति रामचन्द्र पौडेलले दलहरूलाई सुझाइरहेको पृष्ठभूमिमा कांग्रेसले निर्वाचनमा जाने निर्णय लिएको हो ।

‘संसद् बाहिरबाट सरकार गठन र संसद् विघटनको कदमले लोकतान्त्रिक उपलब्धिलाई जोखिममा पारेको छ । संविधानभित्रै समाधान सम्भव छ भन्ने कांग्रेसको दृढ विश्वास छ । अहिले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटन र निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा’ कांग्रेसले निर्णयमा भनेको छ, ‘प्रतिनिधिसभा पुनःस्थापनाको विषय राजनीतिक मात्र नभई संवैधानिक पनि भएको र सम्मानित सर्वोच्च अदालतमा यो विषय विचाराधीन रहेकाले अदालतबाटै अन्तिम व्याख्या हुनेछ भन्ने कांग्रेस विश्वास गर्दछ ।’

एमालेले पनि निर्वाचन आयोगले दिएको समयसीमाभित्रै प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने तयारी गरेको छ । निर्वाचन हुनेमा आशंका रहे पनि दल दर्तामा सहभागी हुने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘राष्ट्रिय सभाको आगामी निर्वाचनमा सहभागी हुन दल दर्ता गरिसकेका छौं । प्रतिनिधिसभा चुनावका लागि पनि दल दर्ता गर्छौं,’ उनले भने ।

प्रतिनिधिसभा विघटन, सुशीला कार्कीको नेतृत्वमा सरकार गठनलगायत कार्य जुन योजनाका साथ भएका थिए, त्यसको चक्र पूरा नभइसकेकाले पार्टीले निर्वाचनमाथि प्रश्न उठाएको ज्ञवालीको भनाइ छ । ‘प्रतिगमनको शृंखला सुरु भएको छ । जुन शक्तिले मुलुकलाई यो अवस्थामा पु¥यायो, त्यसले राजनीतिक शून्यता र संविधान निस्तेज पार्न खोजेको छ । त्यो कार्य पूरा भइसकेको छैन,’ उनले भने, ‘सरकारको व्यवहार निषेधकारी छ । दलप्रति नकारात्मक भाव छ । दलका गतिविधिलाई छेकबार लगाउने, प्रहार गर्नेलाई सरकारबाट संरक्षण भइरहेको छ । दलहरूलाई यसरी निषेध गरेर कसरी चुनाव हुन्छ ?’

शान्तिसुरक्षा व्यवस्थामा प्रश्न उठेकाले पनि चुनाव हुनेमा आशंका भएको ज्ञवालीको भनाइ छ । यी प्रश्न भए पनि चुनावी प्रक्रियामा भने भाग लिनेमा एमाले स्पष्ट रहेको उनले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img