एमालेले संसद् पुनस्र्थापना र चुनाव दुवै एजेन्डामा समान रूपमा एकै दिन दुई कदम चालेको छ । सरकारको संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै चुनावमा जान आनाकानी गरेको एमाले संसद् पुनस्र्थापनाको रिट लिएर मंगलबार सर्वोच्च अदालत पुगेको छ भने यसै दिन आसन्न निर्वाचनका लागि निर्वाचन आयोग पुगेर दल दर्ता पनि गरेको छ ।पार्टी केन्द्रीय कमिटी, सचिवालय र संसदीय दलबाट पुनस्र्थापनाको निर्णय गरेर रिट दर्ता गरेको एमालेले कानुनी लडाइँ जारी राख्ने सन्देश दिएको छ । र, आयोगमा दल दर्ता गरेर परिस्थिति सहज हुँदा निर्वाचनमा जाने ढोका पनि खुला राखेको छ । दल दर्तालाई एमालेले संवैधानिक पार्टीको नियमित काममध्येको एक रहेको दलिल गरेको छ ।
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम समयभन्दा एक दिनअगाडि एमालेले यो प्रक्रिया पूरा गरेको छ । आयोगमा निर्वाचन विभाग प्रमुख नीरज आचार्य र केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ता गराएका थिए । आयोगले १० मंसिरसम्म दल दर्ता अद्यावधिक गर्ने समयसीमा दिएको छ ।
उता, एउटै समयमा मंगलबार अपराह्नअगावै एमालेले सर्वोच्च अदालतमा पुनस्र्थापनाका लागि रिट पनि दर्ता गराएको छ । विघटित संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले रिट निवेदन दर्ता गराएका हुन् ।
आयोगमा दल दर्ता अद्यावधिक गर्नुलाई असंवैधानिक सरकारलाई मान्यता दिएको अर्थमा नभएर जिम्मेवार लोकतान्त्रिक पार्टीले देशको संविधान, कानुन र संवैधानिक आयोगको काम र निर्णयलाई मानेको अर्थमा मात्र बुझ्नुपर्ने एमाले नेताको तर्क छ । यसको अर्थ २१ फागुनको चुनावको पक्षमा उभिएको अर्थ नलाग्ने उसको जिकिर छ ।
‘एमाले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा छ र त्यसैका लागि दृढतापूर्वक लागिरहेको छ । तर, संविधान र कानुन मान्ने लोकतान्त्रिक पार्टी भएकाले निर्वाचन आयोगजस्तो स्वतन्त्र संवैधानिक आयोगले संविधान र कानुनअनुसार गरेको निर्णय मानेर दल दर्ता अद्यावधिक गराएका हौँ,’ दल दर्तापछि निर्वाचन विभाग प्रमुख आचार्यले भने, ‘फागुन २१ मा चुनाव नभए पनि पछि कुनै न कुनै दिन चुनाव हुन सक्छ । संविधानअनुसार जुनसुकै सरकार आए–बने पनि भविष्यमा चुनाव त हुन्छ, त्यसैले दल दर्ता गरायौँ ।’
रिट दर्तापछि विघटित संसदीय दलका प्रमुख सचेतक बर्तौलाले संयोगले दुवै काम एकै दिन परेको बताए । ‘हामी देशको संविधान र कानुन मान्छौँ । कानुनबमोजिम बनेका संवैधानिक आयोग मान्छौँ । त्यसैले निर्वाचन आयोगको सूचनाबमोजिम उसले तोकेको समयसीमाभित्र दल अद्यावधिक गरेका हौँ,’ बर्तौलाले भने, ‘संयोगले दुवै काम एकै दिन भए । तथापि निर्णयबमोजिम नै रिट निवेदन दिने र दल अद्यावधिकको काम गरेका हौँ ।’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि दल दर्ता अद्यावधिक गर्ने नियमित संवैधानिक कामबाट पार्टीको निर्णय र व्यवहारमा विरोधाभास नदेखिएको दाबी गरे ।
ओलीविरुद्ध उत्रिए पोखरेल
तेस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बन्ने केपी ओलीको योजनालाई विद्याको समर्थनमा पोखरेलको चुनौती, अध्यक्ष छाडेर अभिभावकीय भूमिकामा रहन ओलीलाई आग्रह
पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण रोकेर तेस्रो कार्यकालका लागि सहज नेतृत्व कब्जा गर्ने एमाले अध्यक्ष केपी ओलीको योजनालाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने भएका छन् । भण्डारी पक्षधर नेताहरूको समर्थनमा पोखरेलले पार्टीको आसन्न एघारौँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पोखरेलले ओलीलाई अध्यक्ष छाडेर अभिभावकीय भूमिकामा रहनसमेत आग्रह गरेका छन् ।२७–२९ मंसिरमा काठमाडौंमा आयोजित महाधिवेशनका लागि देश तथा प्रवासमा प्रतिनिधि छनोटको निर्वाचन प्रक्रिया अघि बढेकै दिन मंगलबार पोखरेलले उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्षका लागि ओली तेस्रोपटक इच्छुक रहेका वेला नेतृत्व हस्तान्तरणको मागसहित पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको सहयोगमा उम्मेदवारी घोषणा गरेका हुन् ।
४ मंसिरमा बसेको केन्द्रीय सचिवालय बैठकलाई पोखरेलले पार्टीको नेतृत्व लिने गरी अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए । त्यसको एक साता नबित्दै मंगलबार प्रेस वक्तव्यसँगै पोखरेलले भिडियो सन्देशसमेत जारी गरेर पार्टीपंक्तिलाई उम्मेदवारी घोषणाको औपचारिक जानकारी गराएका छन् ।
उम्मेदवारी घोषणाका क्रममा उनले वक्तव्यमार्फत स्वाभाविक दाबेदारका रूपमा लामो पृष्ठभूमि केलाएका छन् । ०३२ देखि को–अर्डिनेसन केन्द्रमा आबद्ध पोखरेल पाँच दशकदेखि पार्टीको केन्द्रीय नेतृत्वमा छन् । दुई कार्यकाल महासचिव, एक कार्यकाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका पोखरेल पूर्वराष्ट्रपति भण्डारीको समर्थनपछि शक्तिशाली बनेका छन् ।
भण्डारीकै समर्थनमा उनले पदाधिकारीसहित केन्द्रीय कमिटीमा अलग्गै प्यानल उम्मेदवारी दिने योजनामा छन् । १३ मंसिरमा प्रतिनिधि छनोट सकिएपछि पुनः अध्यक्ष बन्ने योजनामा रहेका केपी ओलीलाई टक्कर दिने गरी बलियो टिम निर्माण गरेर अघि बढ्ने योजनामा भण्डारी समूह छ ।