विधान महाधिवेशनबाट पारित सानो आकारको पदाधिकारीभित्र नेता व्यवस्थापन ओलीका लागि चुनौतीपूर्ण, ओली समूहका असन्तुष्टसमेत समेटेर टिम बनाउने योजनामा रहेका पोखरेलका लागि विद्या समूहलाई एकढिक्का गर्न कठिन
एमालेको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमने–सामने हुने निश्चित भए पनि दुवैतर्फ टिम निर्माणमा सकस हुने देखिएको छ । अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीका लागि ठुलो संख्यामा आकांक्षी देखिएपछि अध्यक्षमा तेहेरिन चाहेका ओली र उनलाई टक्कर दिने गरी आन्तरिक तयारीमा जुटेका पोखरेल दुवैलाई टिम निर्माणमा सकस हुने भएको हो । यद्यपि, दुवै पक्षले १३ मंसिरको प्रतिनिधि छनोट प्रक्रिया सकिएपछि मात्रै टिम निर्माणसम्बन्धी औपचारिक छलफल चलाउने तयारी गरेका छन् ।
महाधिवेशनका लागि तीन दिनदेखि देशैभर प्रतिनिधि छनोट प्रक्रिया चलिरहेका वेला एमालेको केन्द्रीय पदाधिकारीमा पहिलोपटक ‘डेब्यु’ गर्न र दोहोरिन–तेहेरिन चाहने आकांक्षी तीन दर्जनभन्दा बढी देखिएका छन् । अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्यीय पदाधिकारी प्रस्तावित छ । केन्द्रीय समिति २५१ सदस्यीय छ ।
२७ देखि २९ मंसिरसम्म काठमाडौंमा आयोजना गरिने महाधिवेशनको भक्तपुरको सल्लाघारीमा उद्घाटन र भृकुटीमण्डपमा बन्दसत्र गर्ने एमाले निर्णय छ । महाधिवेशनको ‘काउन्ट डाउन’ नजिकिँदै जाँदा पदाधिकारीमै आकांक्षीको संख्या ५० हाराहारी पुग्न सक्ने एमाले नेताकै भनाइ छ । तर, दुवै पक्ष प्रतिनिधि छनोटका आधारमा आफ्नो शक्ति आकलन गरी टिम बनाउने योजनामा छन् ।
एमालेले १३ मंसिरमा प्रतिनिधि छनोट सकेर १५ मंसिरभित्र सबै विवरण पठाइसक्न सबै प्रदेश, जिल्ला, प्रवास र जनसंगठनहरूलाई निर्देश गरेको छ । पदेन र मनोनीतबाहेक ६ लाख ७० हजार सदस्यबाट कम्तीमा साढे १६ सय प्रतिनिधि भूगोलको निर्वाचन क्षेत्रसहित विभिन्न स्थानबाट निर्वाचित भएर आउनेछन् ।
१५ मंसिरभित्र केन्द्रीय कार्यालयमा प्रतिनिधिहरूको विवरण आइसकेपछि अध्यक्ष ओली स्वयंले सचिवालयमा पदाधिकारीका आकांक्षीबिच छलफल चलाउने वचन दिएका छन् । जसका कारण पनि उनीनिकट रहेका कोही पनि पदाधिकारीले सार्वजनिक रूपमा मुख खोलेका छैनन् । पोखरेलनिकट नेताहरू पनि महाधिवेशन प्रतिनिधि संख्या आकलन गरेर ओलीले नेतृत्व छनोटकेन्द्रित छलफल चलाएपछि मात्रै रणनीति बनाउने योजनामा छन् । त्यही बैठकमा ओलीनिकट नेताहरूको आकांक्षा प्रकट हुने र उनीहरूबिच प्रतिस्पर्धा र विवाद देखिन सक्ने बुझाइमा पोखरेल पक्ष छ ।
उपाध्यक्ष युवराज ज्ञवालीले अहिले अनौपचारिक तहमा छलफल चले पनि प्रतिनिधि छनोट सकिएपछि नै नेतृत्वबारे मूर्त रूपमा आन्तरिक छलफल अघि बढ्ने बताए । ‘महाधिवेशन नजिकिएकाले स्वाभाविक रूपमा आन्तरिक रूपमा कसले कसलाई समर्थन गर्ने भन्नेबारेमा छलफल त चलिरहेकै छ,’ ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘महाधिवेशन प्रतिनिधि छनोटपछि मूर्त रूपमै नेतृत्व छनोटका छलफलहरू पनि अगाडि बढ्छन् ।’
सचिव पद्मा अर्यालले अध्यक्ष ओलीले नेतृत्व छनोटबारे औपचारिक छलफल चलाइसकेपछि मात्रै पदाधिकारी तथा अन्य नेताहरूले पनि व्यक्तिगत चाहना बाहिर राख्ने बताइन् । ‘अध्यक्षले पछिल्लो बैठकको बसाइमा कसको के चाहना छ, अहिले समय कम भयो, फेरि बस्ने बैठकमा आन्तरिक छलफल गरौँला भनेर जानकारी गराउनभुएको छ,’ ओलीनिकट मानिने अर्यालले भनिन्, ‘प्रतिनिधि छनोटको १५ मंसिरमा सबै विवरण आएपछि एक दिन अध्यक्षसहित अलग्गै बसाइको छलफल हुन्छ, त्यसपछि नै व्यक्तिगत चाहना बाहिर राखिनेछ ।’
केन्द्रीय सचिवालय, स्थायी समितिदेखि केन्द्रीय कमिटीसम्म दुईतिहाइ बहुमतमा रहेका ओलीका लागि विधान महाधिवेशनबाट पारित सानो आकारको पदाधिकारीभित्र नेता व्यवस्थापन धेरै चुनौतीपूर्ण छ । सोही कारण पोखरेलले १३ मंंसिरमा महाधिवेशन प्रतिनिधि छनोट सकिएपछि पनि तत्काल पदाधिकारीको टिम निर्माण नगरिहाल्ने नीति लिएका छन् । प्रतिनिधि छनोटमा छिटफुट स्थानमा बाहेक अधिकांश स्थानमा चुनाव निश्चित देखिएकाले अध्यक्षका प्रत्याशी ओली र पोखरेलनिकट दुवैतिरका नेताहरूले अहिल्यैदेखि अधिक प्रतिनिधि ल्याउने योजनासहित जोडबल गरिरहेका छन् ।
ओलीले अलग्गै सचिवालय बैठक बोलाउने जानकारी गराएका कारण ४ मंसिरको पछिल्लो सचिवालयमा उनी र अध्यक्षका आकांक्षी ईश्वर पोखरेलले मात्र नेतृत्व छनोटमा केन्द्रित रहेर धारणा राखेका थिए । पोखरेलले तीन दिनअघि वक्तव्यमार्फत आफू अध्यक्षका लागि अघि बढेको जानकारी गराउँदै नेतृत्व हस्तान्तरणका लागि ओलीलाई आग्रह गरेका थिए । उनले प्यानल प्रतिस्पर्धाभन्दा पनि जनताको बहुदलीय जनवादको मर्मअनुसार कार्यकर्ताको छनोटका आधारमा प्रतिस्पर्धाको तयारी गरिरहेको बताउँदै आएका छन् ।
तेस्रोपटक अध्यक्ष हुने तयारीमा रहेका ओलीलाई १९ सदस्यीय पदाधिकारीमा ११ नेताहरूले साथ दिइरहेका छन् । ओलीको साथमा रहेका सचिव रघुवीर महासेठ भने पछिल्ला दिनमा टाढिएर तटस्थ रहेको एक पदाधिकारीले बताए । ओलीका लागि सबैभन्दा ठुलो चुनौती महासचिवमा अहिलेका शंकर पोखरेललाई दोहो¥याउने कि उपमहासचिवमध्येबाट नयाँ उम्मेदवार बनाउने भन्ने छ । पोखरेलले पुनः दोहोरिन चाहेका छन् । उता, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ पनि महासचिव बन्ने जोडबलमा छन् ।
गुरुङले त देश दौडाहका क्रममा नेता–कार्यकर्ताहरूबिचमा आफ्नो योजना नै सुनाइसकेका छन् । प्रदेश राजधानी पोखराको कार्यक्रममा तीन महिना पहिल्यै गुरुङले अध्यक्षबाहेकका सबै पदहरूमा धेरैजनाबिचको प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएर आफूलाई भावी महासचिवको रूपमा उभ्याएका थिए । ज्ञवालीले महासचिवपछिको महत्वपूर्ण मानिने स्कुल विभागको जिम्मेवारी सम्हालेर स्वाभाविक दाबेदारका रूपमा उभ्याउँदै आएका छन् । प्रशिक्षणकै सिलसिलामा धेरै जिल्ला दौडाहमा पुग्ने नेताहरूमा अध्यक्ष र महासचिवकै हाराहारीमा ज्ञवाली अग्रपंक्तिमा छन् ।
गुरुङलाई महासचिवमा नउठाइए पूर्वराष्ट्रपति विद्या भण्डारी र पोखरेल समूहले तान्ने खतरा उत्तिकै छ । गुरुङलाई महासचिवमा उठाउने पहिलो रोजाइ भएकै कारण भण्डारी र पोखरेलले निकटस्थ सबै पदाधिकारीहरूलाई उनी आएको खण्डमा बाँकी पदमा मिलाइने संकेत गर्दै आएका छन् । अध्यक्ष ओली ज्ञवाली र गुरुङमध्ये एकलाई उपाध्यक्ष र एकलाई महासचिवमा उठाएर पोखरेललाई यसपटक उपाध्यक्षमा उठाउने योजनामा रहेको स्रोतले जनाएको छ ।
त्यस्तै, उपाध्यक्षहरूमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, विष्णु रिमाल र महासचिवमा नउठ्ने दुई नेतालाई उठाउने सम्भावना छ । त्यस्तै, उपमहासचिवमा लेखराज भट्ट, पद्मा अर्याल, छविलाल विश्वकर्मामध्येबाट उठाउने सम्भावना रहे पनि जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पनि रुचि राखेका छन् । सचिवमा भने स्थायी समिति र पोलिटब्युरोका झन्डै तीन दर्जन नेता आकांक्षी छन् ।
उता, भण्डारी–पोखरेल समूहबाट उपाध्यक्षमा सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यको चर्चा छ । पाण्डेलाई महासचिवमा उठाइने सम्भावना पनि छ । तर, गुरुङले ओली समूहबाट महासचिव नपाएको खण्डमा उनलाई उठाउने गरी पोखरेलसहित उनीनिकट नेताहरू कोसिसमा छन् । उनी नआएको खण्डमा भने सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट महासचिवको उम्मेदवार बन्ने चर्चा छ ।
महासचिवमा गुरुङ वा पाण्डे उठाइएमा उनीहरू उपमहासचिवमा बस्न पनि तयार रहेको पोखरेलसँग निकट एक पदाधिकारीले बताए । पोखरेलकै समूहबाट उपमहासचिवमा विन्दा पाण्डेको पनि चर्चा छ भने सचिवमा गोकुल बाँस्कोटा, कर्ण थापासहित अरू केही नेताको चर्चा छ । त्यस्तै, पोलिटब्युरो सदस्य ठाकुर गैरेको नाम पनि भण्डारी–पोखरेल समूहबाट सचिव पदमै चलिरहेको छ ।
‘कसले कसलाई कता तान्ने प्रतिनिधि छनोट सकिएपछि कोसिस हुन्छ । उतातिर धेरै आकांक्षी रहेकाले हामी अहिले नजिकबाट नियालिरहेका छौँ, कतिपय नेतासँग सम्पर्कमै छौँ, कुन पद कसलाई कसरी व्यवस्थापन गरिन्छ हेर्छौँ,’ पोखरेलसँग निकट नेताले भने, ‘उताबाट आउने महत्वपूर्ण नेतालाई महासचिवसहित अरू पद पनि छाड्नका लागि साथीहरू लचिलो हुनुहुन्छ, त्यसैले यताउति हेरेर महाधिवेशनको सम्मुखसम्म टिम मिलाइन्छ, किनकि उतातिर आकांक्षीको आश्वासन पाएकाको ठुलो संख्या भएकाले हामीले उतैबाट आउने साथीहरूलाई मिलाएर टिम निर्माण गर्ने हो ।’
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आकांक्षीहरूबारे पार्टीमा कुनै छलफल नभएको जानकारी दिँदै सबैले व्यक्तिगत प्रतिस्पर्धाका लागि कोसिस गरिरहेको बताए । ‘अहिले केही पनि भएको छैन, आ–आफ्ना व्यक्तिगत प्रतिस्पर्धाको कोसिस चलिरहेको छ,’ गौतमले भने । उनले आफूले पनि एक तहमाथि चाहना राखे पनि अहिलेसम्म निर्णय गरिनसकेको बताए । ‘म पनि एक तहमाथि अघि बढ्ने सोचमा छु, तर निर्णय गरिसकेको छैन,’ उनले भने ।
पहिलोपटक डेब्यु गर्न चाहने सचिवका आकांक्षी धेरै
एमालेका स्थायी कमिटी र पोलिटब्युरोमा रहेका थुप्रै नेता सचिवका आकांक्षी छन् । स्थायी कमिटीमा रहेका प्रचार विभागका प्रमुख राजेन्द्र गौतम, पूर्वसचिव भीम आचार्यसहित महेश बस्नेत, राजेन्द्र गौतम, खगराज अधिकारी, डा. राजन भट्टराई, रघुजी पन्त, गोकुल बाँस्कोटा, हिक्मत कार्की, किरण गुरुङ, लालबाबु पण्डित, पार्वत गुरुङ, अरुण नेपाल, काशीनाथ अधिकारी, कर्ण थापा, आनन्दप्रसाद पोखरेल, शेरबहादुर तामाङ, शेरधन राई, यमलाल कँडेल, अग्नि खरेल, कृष्णगोपाल श्रेष्ठ, गोरखबहादुर बोगटी, सीताकुमारी पौडेल, थममाया थापा, लीलानाथ श्रेष्ठलगायत छन् । यिनीहरूमध्ये गोकुल बाँस्कोटा, अरुण नेपाल, भीम आचार्य, कर्ण थापा, थममाया थापा र सीता पौडेल मात्र पूर्वराष्ट्रपति भण्डारी र पोखरेल समूहतिर खुलेका छन् । अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठको पनि पछिल्ला दिनमा संस्थापनसँग दूरी बढेको छ । उता, नेकपा एसबाट प्रवेश गरेकी रामकुमारी झाँक्रीको नाम पनि सचिवमै चलिरहेको छ भने सचिवमा चर्चामा रहेका बस्नेतलाई ओलीले उपमहासचिवमा उठाउन सक्ने सम्भावना रहेको पनि स्रोतले दाबी गरेको छ ।