नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा मंगलबार गत सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिच खेलिँदैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा अपराह्न ४ बजे सुरु हुनेछ । यस खेलको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्सिर २७ गते खेलिनेछ ।
यो खेलमा पराजित हुने टोलीले फाइनलमा प्रवेशका लागि दोस्रो अवसर प्राप्त गर्नेछ । टोलीले काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबिच खेलिने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।दोस्रो क्वालिफायरको विजेता पहिलो पहिलो क्वालिफायरको विजेतासँग फाइनलमा आमनेसामने हुनेछ ।
सुदूरपश्चिम रोयल्सको क्वालिफायरसम्मको यात्रा
सुदूरपश्चिम रोयल्सले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । ७ खेलमध्ये ६ मा जित र १ खेलमा हार बेहोर्दै टोलीले १२ अङ्क बटुलेर तालिकामा शीर्ष स्थानमा रह्यो ।टोली लगातार ६ खेलमा अपराजित रहेको सुदूरपश्चिम आफ्नो अन्तिम खेलमा विराटनगर किंग्ससँग ६ विकेटले पराजित भएको थियो ।गत सिजन पनि टोली लिग चरणपछि समान अङ्क बटुलेर शीर्ष स्थानमा रहेको थियो । टोलीले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराएर फाइनलमा स्थानमा बनाएको थियो । तर, फाइनलमा जनकपुरले टोलीलाई स्तब्ध बनाउँदै उपाधि हात पारेको थियो ।
विराटनगर किंग्सको क्वालिफायरसम्मको यात्रा
गत सिजनको तुलनामा विराटनगरले यो सिजन सुधारिएको प्रदर्शन गर्न सफल भएको छ । गत सिजन टोली लिग चरणपछि छैटौँ स्थानमा सीमित बनेको थियो । ७ खेलमा मात्र २ खेल जितेर टोलीले ४ अङ्क मात्र बटुल्न सक्यो ।यो सिजन भने टोलीले ७ खेलमध्ये ५ खेलमा जित र २ खेलमा हार बेहोरेको छ । १० अङ्क बटुलेर नेट रनरेटको आधारमा सामान अङ्क बनाएको काठमाडौँ गुर्खाजलाई पछि पार्दै टोलीले दोस्रो स्थान ओगट्न सफल भयो ।
विराटनगरले यो सिजन पहिलो तीन खेलमा पोखरा एभेन्जर्स, काठमाडौँ गुर्खाज र जनकपुर बोल्ट्सलाई हराउँदै राम्रो सुरुवात गरेको थियो । चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले स्तब्ध बने पनि अर्को खेलमा कर्णाली याक्सलाई ३ विकेट हराएको थियो ।
छैटौँ खेलमा टोली लुम्बिनी लायन्ससँग ५ विकेटले पराजित हुनपुग्यो । अन्तिम खेलमा अपराजित सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै टोलीले सशक्त रूपमा लिग चरण अन्त्य ग¥यो।