दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् । प्लेअफअन्तर्गत आज पहिलो क्वालिफायर हुँदैछ जहाँ अंकतालिकामा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ ।
गत संस्करणको उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको थियो भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो ।लिग चरणमा लगातार ६ खेल जितेर अन्तिम खेलमा पराजित भएको सुदूरपश्चिम अंकतालिकामा १२ अंकका साथ शीर्षस्थानमा रह्यो । विराटनगरले ५ खेल जितेर दोस्रो स्थानमा रह्यो ।
यी दुई टोली शनिबार मात्र लिग चरणको आ–आफ्नो अन्तिम खेलमा एकअर्कासँग भिडेका थिए । त्यस खेलमा विराटनगरले सुदूरपश्चिममाथि प्रभावशाली जित हासिल गरेको थियो । यस खेलको विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले अर्को एक मौका पाउनेछ । एलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सको विजेतासँग पराजित हुने टोलीले खेलेर फाइनल प्रवेश गर्ने मौका पाउने छन् ।
हेड टु हेड
एनपीएलको पहिलो र दोस्रो संस्करणमा गरेर यी दुई टोली २ पटक मात्र भिडेका छन् । पहिलो संस्करणमा सुदूरपश्चिमले एकपक्षीय जित निकालेको थियो भने दोस्रो संस्करणमा विराटनगरले सोही किसिमको नतिजा निकाल्यो ।पहिलो संस्करणमा सुदूरपश्चिमले विराटनगरमाथि ९० रनको शानदार जित हासिल गरेको थियो । १८३ रनको लक्ष्य पछ्याएको विराटनगर ९२ रनमा अलआउट भएको थियो ।
यस संस्करण भने यी दुई टोलीले आ–आफ्नो अन्तिम खेलमा एकअर्काको सामना गरेका थिए । दुवै टोली प्लेअफमा पुगिसकेको अनि सुदूर पहिलो हुने पक्का भइसकेको अवस्थामा विराटनगरलाई भने ठूलो अन्तरको जित आवश्यक थियो ।सुदूरले दिएको १४८ रनको लक्ष्य विराटनगरले १२ ओभरभित्रै पूरा गरेको थियो ।
प्रभाव पार्न सक्ने खेलाडीहरू
सुदूरपश्चिमका लागि टप अर्डरमा विनोद भण्डारीको भूमिका महत्वपूर्ण हुनेछ । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा प्रभाव पार्न सक्छन् । हर्मीत सिंहको बाँयाहाते स्पीन बलिङ घातक साबित हुन सक्छ ।सुदूरपश्चिमका लागि विदेशी खेलाडीले मात्र नभएर नेपाली खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् । सर्वाधिक रन बनाउने र विकेट लिनेमा नेपाली खेलाडी नै अग्रस्थानमा छन् ।
सबैभन्दा धेरै रन विनोद भण्डारीले बनाएका छन् । उनले ७ खेलमा १ अर्धशतकसहित २०१ रन बनाएका छन् । सबैभन्दा धेरै विकेट अविनाश बोहराको नाममा छ । उनले ७ खेलमा १४ विकेट लिएका छन् ।अब प्लेअफका लागि लिन र ब्राउन भने उपलब्ध छैनन् । उनीहरूको स्थानमा अमेरिकी ब्याटर मुख्तार अहमद र भारतीय ब्याटर शेल्डन ज्याकसन अनुबन्ध भइसकेका छन् । उनीहरूबाट पनि राम्रो प्रदर्शनको अपेक्षा रहनेछ ।यता विराटनगरका लागि टप अर्डरमा फाफ डुप्लेसी, साम हिजलेट र मार्टिन गप्टिलको प्रदर्शन महत्वपूर्ण हुनेछ । मध्यक्रम ब्याटिङमा बसिर अहमद क्रुसियल बन्न सक्छन् ।
बलिङमा कप्तान सन्दीप लामिछानेले प्रभाव पार्न सक्छन् । ७ खेलमा १५ विकेट लिएका उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलर समेत हुन् । पेस बलर मर्चेन्ट डे लाङले ८ विकेट लिएका छन् । उनीबाट अझै राम्रो प्रदर्शनको अपेक्षा रहनेछ ।
सम्भावित ११
सुदूरपश्चिम रोयल्स ः विनोद भण्डारी, मुख्तार अहमद, शेल्डन ज्याकसन÷पुनीत मेहरा, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, हर्मीत सिंह, स्कट कुग्लेइन, अविनाश बोहरा, हेमन्त धामी÷हिक्मत महरा, दिपक बोहरा
विराटनगर किङ्स ः फाफ डुप्लेसी, साम हिजलेट, मार्टिन गप्टिल, बसिर अहमद, लोकेश बम, नारायण जोशी, नरेन भट्ट, मर्चेन्ट डे लाङ, सन्दीप लामिछाने, प्रतिश जीसी, सुवास भण्डारी