शनिबारदेखि सुरु हुने एमाले एघारौँ महाधिवेशनमा अध्यक्षमा केपी ओली र ईश्वर पोखरेलबिच भिडन्त तय भए पनि त्यसपछिको शक्तिशाली कार्यकारी पद महासचिवमा को–कोबिच प्रतिस्पर्धा हुन्छ भन्ने यकिन भइसकेको छैन । तर, संस्थापन र विद्या–ईश्वर दुवै समूहमा तीन–तीनजना पदाधिकारी तहका नेता महासचिवको चर्चामा÷आंकाक्षी छन् ।संस्थापनबाट वर्तमान महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ तथा विद्या–ईश्वर समूहबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे तथा सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई महासचिवका सम्भावित उम्मेदवार छन् । संस्थापनभित्रै पनि पाण्डेलाई आफ्नो समूहमा ल्याएर महासचिव बनाउने प्रयास केही नेताले गरेका छन् ।
अध्यक्षपछि दोस्रो महत्वपूर्ण कार्यकारी पद भएकाले महासचिवमा प्रभावशाली नेताहरू नै सक्रिय तयारीमा छन् । महाधिवेशन प्रतिनिधि दुई हजारभन्दा बढी चयन भइसकेकाले दुवै समूह सम्भावित समीकरण र अंकगणित मिलाउन व्यस्त छन् । तर, विधान संशोधनसहित नेता व्यवस्थापनका विकल्पमा पनि ओली लागिरहेका कारण अन्तिम प्यानल कस्तो बन्ने भन्ने स्पष्ट भइसकेको छैन ।
पोखरेललाई सघाइरहेका उपाध्यक्ष पाण्डे संस्थापनतिर उम्मेदवार हेरेर र आफ्नै टिमले अगाडि बढाउने निर्णय गरेको अवस्थामा मात्र महासचिव उठ्ने मनस्थितिमा छन् । पूर्वराष्ट्रपति विद्याको समर्थनमा पोखरेल समूहबाट पाण्डे महासचिवमा उठ्ने सम्भावना छ । उनी पार्टीभित्र र बाहिर दुवैतिर लोकप्रिय मानिन्छन् ।
नवौँ महाधिवेशनमा माधव नेपाल प्यानलबाट ईश्वर पोखरेलसँग ६ मतको झिनो मतान्तरले महासचिवमा पराजित पाण्डे लगातार इतर समूहमा छन् । यही कारण क्षमता भएर पनि एकपटक अर्थमन्त्रीबाहेक उनले पार्टी र राजकीय मामिलामा महत्वपूर्ण जिम्मेवारी पाएका छैनन् ।
पाण्डे अहिलेको समकालीन विश्व राजनीति, भूराजनीति, डिजिटल संसार र सोसल मिडिया नेटवर्कसँग जोडिने गरी डिजिटल पुँजीवादका विषयमा त्रिभुवन विश्वविद्यालयमा पिएचडी गर्दै छन् । विश्वमा जेन–जी आन्दोलनका आयाम, कारण, परिणाम, प्रभाव, समाधान र नेपालले लिने बाटोबारे उनले व्याख्या गर्दै आएका छन् ।
संस्थापनबाट वर्तमान महासचिव शंकर पोखरेल र उपमहासचिवद्वय ज्ञवाली र गुरुङ तीनैजना तीव्र प्रतिस्पर्धामा रहेकाले अध्यक्ष ओलीलाई टिम निर्माणमै ठुलो चुनौती देखिएको छ । ओलीका लागि सबैभन्दा ठुलो चुनौती नै महासचिव पोखरेललाई नै दोहो¥याउने कि उपमहासचिवमध्येबाट नयाँ उम्मेदवार बनाउने भन्नेमै छ । पोखरेलले पुनः दोहोरिन चाहेका छन् ।
पोखरेल, ज्ञवाली र गुरुङ तीनैजनाले सातौँ महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटीबाटै ओलीलाई साथ दिँदै आएका छन् । टिम निर्माणमा महत्वपूर्ण पदहरूमा ओलीलाई नै निर्णय गर्न दिने विगतका महाधिवेशनदेखिकै अभ्यास छ । ओलीले अगाडि सार्ने नेताका आधारमा त्यसको फाइदा उठाउने मनस्थितिमा ईश्वर समूह छ, सोही कारण पदाधिकारी टिम निर्माणमा ढिलाइ भइरहेको छ ।
पोखरेलले भेटमा कहिल्यै ओलीको आलोचना गर्दैनन् र कुरा पनि काट्दैनन् । मदन भण्डारी तत्कालीन महासचिव छँदै सर्वाधिक रुचाइएका पात्र पोखरेल लामो समयदेखि जबजको राम्रो व्याख्यातासँगै माक्र्सवादको राम्रो अध्येता र गहन विश्लेषकभित्र पर्छन् । मुख्यमन्त्री हुँदा राम्रो काम गरेर स्थापित उनी क्लिन छविका थोरै नेताभित्र पर्छन् ।
तर, महासचिवजस्तो पदमा रहेर गुट निर्माणमा सक्रिय रहने गरेको, संगठन परिचालनमा क्षमता नदेखाएको जस्ता आरोप उनीमाथि टिमभित्रैबाट लागेको छ । गोकुल बाँस्कोटादेखि कर्ण थापालगायत थुप्रै नेताले उनकै कारण गुट चेन्ज गरेको बताइने गरिएको छ ।
उपाध्यक्ष पौडेलसहितका कतिपय पदाधिकारीहरू पोखरेल पुनः महासचिव नदोहोरिऊन् भन्ने पक्षमा छन् । उपाध्यक्ष विष्णु पौडेल सकभर गुरुङलाई महासचिव बनाउन जोडबल गर्दै आफू विधान संशोधनमार्फत वरिष्ठ उपाध्यक्षमा बढुवा हुन चाहेका छन् । त्यही सन्देश दिएका उनले गुरुङको पक्षमा लबिङ गर्दै अन्तिमसम्म कति टिक्छन्, त्यसैमा उनी महासचिव हुने कि उपाध्यक्ष हुने कुरा निर्भर रहेको ओलीनिकट एक पदाधिकारीले दाबी गरे ।
गुरुङका लागि उपाध्यक्ष पौडेलका अतिरिक्त सचिवहरू पद्मा अर्याल, रघुवीर महासेठ र छविलाल विश्वकर्माको भित्री समर्थन तत्कालका लागि आफ्नै टिमभित्र धेरै अनुकूल बनेको छ । तर, उनीहरूले टिम निर्माणका लागि आन्तरिक छलफल हुँदा गुरुङको नाम लिँदै अडान राखेरै सुझाव दिन्छन्–दिँदैैनन् र अन्तिमसम्म टिक्छन्–टिक्दैनन् भन्नेले नै धेरै कुरा निर्धारण गर्नेछ ।
गुरुङले पनि सधैँ ओलीको पक्षमा बोल्दै आएका मात्र छैनन्, संकटमा कहिल्यै साथ छोडेका छैनन् । तर, उनी आफूलाई मन नपरेका कुरा भने सिधासिधा ओलीसँग बझाएर पनि राख्ने गर्छन् । ओली पुनः अध्यक्ष बन्ने योजनामा रहेकाले उनको यस्तो स्वभाव नै महासचिव बन्नका लागि प्रतिकूल बन्न सक्ने सम्भावना छ ।
संघीयताबाटै देश विकास र राष्ट्रियता बलियो बनाउने अडानमा रहँदै आएका गुरुङ संगठन निर्माण र परिचालनमा पोखरेल र ज्ञवालीको तुलनामा अब्बल मानिन्छन् । उनले गण्डकीमा क्रमशः पार्टीलाई बलियो बनाएका मात्र छैनन्, तत्कालन निर्णय कार्यान्वयन गराउने क्षमता पनि राख्छन् । तर, ओलीसँग नराम्रा कुरामा तर्क र बहस गर्ने मात्र होइन, अस्वीकार गर्ने स्वभाव भएकाले गुरुङलाई उपाध्यक्षमा व्यवस्थापन गर्ने सम्भावना पनि छ ।
ज्ञवालीले महत्वपूर्ण मानिने पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । विचार निर्माणमा नेतृत्वको लाइनअनुसार पार्टी चलाउन महत्वपूर्ण मानिने स्कुलको नेतृत्व गरेर ज्ञवाली एक–डेढ वर्षयता धेरैजसो जिल्ला पुगिसकेका छन् । उनको वैचारिक, शालीन, सन्तुलित, लेखक, साहित्यकारसहितको बहुआयामिक व्यक्तित्व छ ।
पछिल्ला दिनहरूमा पार्टी कार्यकर्तासँग बढेको प्रत्यक्ष सम्पर्कले उनलाई महासचिव दौडमा अगाडि ल्याएको छ । तर, तत्काल बोल्ड निर्णय लिन नसक्ने मात्र होइन, कहिले–कहिले यथार्थताबाट बहकिने स्वभाव रहेको भनेर उनी स्वयं अध्यक्ष ओलीबाटै पनि आलोचित छन् । ज्ञवालीले निर्णायक वेलामा आलोचनात्मक सुझाव पनि दिने गर्छन् । आन्तरिक डकुमेन्टेसनको काममा पनि उनले धेरै लामो समयदेखि ओलीलाई साथ दिँदै आएका छन् ।
महासचिवमा पोखरेल दोहोरिँदा १२औँ महाधिवेशनको बलियो प्रतिस्पर्धी बन्न सक्ने सम्भावनाका कारण उपाध्यक्ष पौडेल उनलाई जसरी पनि छेक्ने योजनामा छन् । यस्तो अवस्थामा ओलीले पोखरेललाई उपाध्यक्षमा व्यवस्थापन गरेर अर्का उपमहासचिव ज्ञवाली रोज्ने बलियो सम्भावना पनि कायमै छ । त्यसो हुँदा पौडेलको योजना पनि पूरा हुने र टिम पनि नफुट्ने अवस्था बन्ने ओलीनिकट नेताहरूकै बुझाइ छ ।
ज्ञवाली र गुरुङमध्ये एकलाई उपाध्यक्ष र एकलाई महासचिवमा उठाएर पोखरेललाई यसपटक उपाध्यक्षमा उठाउने योजनामा अध्यक्ष ओली रहेको स्रोतले जनाएको छ । तर, पोखरेलले मुख नखोलिसके पनि अरू पदमा उठ्न तयार नभएको जनाउ दिइसकेका छन् । ओलीले उपमहासचिव विष्णु रिमाललाई उपाध्यक्षमा उठाउने सम्भावना छ ।
आकांक्षीहरूले भेटेर व्यक्तिगत ‘लबिङ’ गरिरहे पनि ओलीले आफ्नै टिमभित्र पनि महासचिव कसलाई बनाउनेबारे औपचारिक छलफल गरेका छैनन् । यद्यपि, महासचिवका आकांक्षी गुरुङले मंगलबार गुन्डु पुगेर अध्यक्ष ओलीसँग लामै छलफल गरेका छन् ।
सचिव पद्मा अर्यालले अघिल्लो महाधिवेशनमा पनि उद्घाटन सकिएपछि मात्र निर्णायक छलफल गरेर पदाधिकारीमा को कुन पदमा उठ्ने टुंगिएकाले यसपटक पनि उद्घाटन सकिएपछि मात्र घनीभूत छलफल हुने बताइन् । ‘विशाल कार्यकर्ता पंक्ति रहेको विशाल पार्टीमा दुई–चारजना बसेर निर्णय गरेर पद टुंगिने कुरा होइन । महाधिवेशन उद्घाटनमा आएका कार्यकर्ता, समर्थक–शुभेच्छुकको भावना–मनोविज्ञान र पार्टीको आवश्यकता हेरर मात्र समग्र नेतृत्वका बारे उद्घाटन सत्र सकिएपछि छलफल हुन्छ,’ अर्यालले भनिन्, ‘नेतृत्व निर्माणको आफ्नै विधि, प्रक्रिया र मापदण्ड छ । अहिल्यै छलफल गर्ने र टुंग्याइहाल्ने हुँदैन । उपयुक्त समयमा टुंग्याउँछौँ ।’
गुरुङले ओली समूहबाट महासचिव नपाए ईश्वर पोखरेलले दोस्रो रोजाइमा योगेश भट्टराईलाई महासचिवमा उठाउने गरी तयारी गरिरहेको एक पदाधिकारीले बताए । त्यस्तो अवस्थामा सचिव विष्टलाई उपाध्यक्ष र उपमहासचिवमध्ये कुनै एक रोजेको पदमा उठाइने पनि ती पदाधिकारीले बताए ।
यद्यपि, विष्टलाई महासचिवमा उठाउँदा लुम्बिनी र गण्डकीतर्फको मत धेरै तान्न सकिने अन्तिम निष्कर्ष आए उनलाई नै पनि त्यही पदमा उठाउन सक्ने सम्भावना पनि छ । तर, भट्टराईले भने आफ्नो समूहभित्र पदाधिकारीको टिम निर्माणबारे कुनै परामर्श नै सुरु नभएको र पदलाई प्राथमिकतामै नराखिएको बताए ।
‘हामी आजको वस्तुगत अवस्थाअनुसार नेतृत्व हस्तान्तरण हुनुपर्छ र नयाँ नेतृत्व आउनुपर्छ भन्ने पक्षमा छौँ । पार्टीलाई सामूहिक नेतृत्व प्रणालीअनुसार सञ्चालन गर्नुपर्छ भन्ने मुद्दामा एक ठाउँमा भएकाले एकै छिनमा पदाधिकारीको टिम निर्माण गर्न सक्षम छौँ,’ भट्टराईले भने, ‘त्यसैले अहिले हामीले टिम निर्माणमा केन्द्रित भएर छलफल नै अगाडि बढाएका छैनौँ ।’
भट्टराई एमालेभित्र रुचाइएका तेस्रो पुस्ताको नेता पर्छन् । संगठन निर्माण र जनपरिचालनमा भट्टराई अब्बल मानिन्छन् । त्यस्तै, विष्ट पनि भट्टराईजत्तिकै पार्टी पंक्तिमा बढी रुचाइने तथा राजकीय मामिलाको कार्यसम्पादनमा सफल र संगठन परिचालनमा राम्रो मानिन्छन् ।
ओलीमाथि राजनीतिक हिंसाको आरोप
एमालेका नेतृहरूले पार्टी अध्यक्ष केपी ओलीले ‘राजनीतिक हिंसा’ गरेको आरोप लगाएका छन् । पार्टीको ११औँ महाधिवेशन तयारीका सन्दर्भमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी समिति सदस्य विन्दा पाण्डेलगायतले यस्तो आरोप लगाएका हुन् ।
पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता मागेको विषयमा बोल्दै ओलीले उनीमाथि प्रश्न उठाएर राजनीतिक हिंसा गरेको उपाध्यक्ष शाक्यले टिप्पणी गरिन् । केही दिनअघि एक अन्तर्वार्तामा ओलीले भण्डारीलाई लक्षित गर्दै दिएको अभिव्यक्तिबारे उनले भनिन्, ‘पूर्वराष्ट्रपतिलाई धामीझाँक्री भनेको के हो ? यसरी अपमान गर्न पाइन्छ ? सामान्य मान्छेलाई त पाइँदैन ।’ यसबाहेक शाक्यले थप प्रश्न गरिन्, ‘केपी ओली आमाको कोखबाट जन्मेको होइन ? उनको अभिव्यक्तिले सबै महिलाको अपमान गरेको छ । महिलाको अपमान गर्ने नेतृत्व आवश्यक छैन ।’
यसैगरी स्थायी समिति सदस्य पाण्डेले भण्डारीको सदस्यताको निर्णयमा ओलीको पुरुषवादी चिन्तन हाबी भएको टिप्पणी गरिन् । पार्टीमा फर्कने वा नफर्कने भन्ने कुरा व्यक्तिको छनोटको विषय रहेको उनले बताइन् । केही महिनाअघिको पार्टी बैठकमा ओलीले एकल महिलाहरूको समेत अपमान गरेको सुनाउँदै पाण्डेले आपत्ति जनाइन् । बैठकमा ओलीले ‘एकल महिलाहरू भनेको कुरा नै बुझ्दैनन्, आफ्नै कुरा जिद्दी गर्छन्’ भनी दिएको अभिव्यक्तिले एकल महिलाको अपमान गरेको उनले बताइन् ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू रचना खड्का, सरिता न्यौपाने, शर्मिला कार्की र उषाकिरण तिमल्सिनाले एमालेमा नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए । नयाँ पत्रिकामा खवर छ।