विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख भट्टराईको डायरी र टेलिकमको सिडिआर विवरणमा गृहमन्त्री लेखकका निजी र स्वकीय सचिवसँग अस्वाभाविक सम्पर्क भएको खुलेको छ, तर लेखकसहितका उच्चपदस्थको बयान लिएको अभियोगपत्रमा देखिँदैन
भिजिट भिसामा संगठित रूपमा भएको असुलीको सञ्जाल तत्कालीन गृहमन्त्री रमेश लेखकसम्मै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटाएको छ । तर, मुद्दा भने विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराईसम्मका कर्मचारी र ट्राभल व्यवसायीमाथि मात्रै दायर गरेको छ ।
अख्तियारले करिब साढे ६ महिना लगाएर गरेको अनुसन्धानपछि पहिलो चरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै तत्कालीन गृहमन्त्री लेखकलगायत उच्चपदस्थमाथि अनुसन्धान जारी रहेको उल्लेख गरेको छ । प्रमुख प्रतिवादी बनाइएका भट्टराईको तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, अध्यागमन विभागका तत्कालीन महानिर्देशक, मन्त्रालयको शान्तिसुरक्षा महाशाखा हेर्ने तत्कालीन महाशाखा प्रमुखसँग गैरकानुनी रकम लेनदेन भएको हुन सक्ने देखिएको औँल्याएको छ । सहसचिव भट्टराईको निवेदनसाथ प्राप्त भएको डायरी तथा नेपाल टेलिकमबाट प्राप्त सिडिआर विवरणबाट तत्कालीन गृहमन्त्री लेखकका निजी सचिव बद्रीप्रसाद तिवारी (हाल म्याग्दीका प्रमुख जिल्ला अधिकारी) तथा स्वीकृत सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क भएको खुल्न आएको पनि उल्लेख गरेको छ ।
‘बदनियतपूर्वक भिजिट भिसामा विदेश पठाउन तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका शान्तिसुरक्षा महाशाखा प्रमुख, गृहकै प्रशासन महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृहसचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरूको संलग्नताको सम्बन्धमा अनुसन्धान भइरहेको…,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ । तर, अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव दुवाडीलगायत उच्चपदस्थको बयान भने छैन । सहसचिव भट्टराईको मोबाइल र डायरीबाट भिजिट भिसाको पैसा मन्त्रालयका उच्च अधिकारीलाई नियमित रूपमा बुझाउने गरेको प्रमाणहरू आयोगले फेला पारेको छ । दबाबमुक्त भएर अख्तियारले अनुसन्धान गरे तत्कालीन गृहमन्त्री लेखक यो मुद्दामा तानिने निश्चित देखिएको छ ।
अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित सात व्यक्ति र दुई ट्राभल कम्पनीविरुद्ध मात्रै मुद्दा दायर गरेको छ । भट्टराईले ट्राभल एजेन्सी सञ्चालकसँग बदनियतपूर्वक सेटिङ गरी प्रतिमहिला ४० हजार र प्रतिपुरुष २० हजार रुपैयाँका दरले १४२ महिला र ११५ पुरुष गरी २५७ जनालाई ७९ लाख ८० हजार रुपैयाँ लिएर भिजिट भिसामा पठाएको अख्तियारको निष्कर्ष छ । गैरकानुनी सेटिङ गरेर यात्रुबाट घुस–रिसवत लिएर भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरेको आरोपमा भट्टराईलाई प्रमुख प्रतिवादी कायम गरेको अख्तियारले विमानस्थल अध्यागमन कार्यालयकै तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्याल, ट्राभल कम्पनी ग्रिनलाइन होलिडेज प्रालि, उक्त कम्पनीका अध्यक्ष बालकृष्ण खड्का र सोही कम्पनीका तत्कालीन संस्थापक सेयर सदस्य एवं सञ्चालक राम खड्काविरुद्ध मुद्दा दायर गरेको छ ।
भट्टराईलाई ७९ लाख ८० हजार बिगो कायम गरेको अख्तियारले अर्याल, ग्रिनलाइन होलिडेज र खड्काद्वयविरुद्ध जनही ३० लाख २० हजार बिगो तोकेको छ । त्यस्तै, मुद्दा चलाइएको अर्को कम्पनी फेमिली होलिडेज ट्राभल्स एन्ड टुर्स प्रालि र उक्त कम्पनीका संस्थापक सेयर सदस्य एवं सञ्चालक दीपक भण्डारीलाई १० लाख ६० हजारका दरले बिगो कामय गरेको छ । त्यस्तै, कविता पौडेल र खेम (खगेन्द्र) सुवेदीसँग पनि भट्टराईसरह नै ७९ लाख ८० हजार बिगो कायम भएको छ । भट्टराई, पौडेल र सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दासमेत दायर गरेको छ । यो मुद्दामा जनही एक करोड तीन लाख ७९ हजार ६ सय बिगो कायम गरिएको छ ।
रोजगारीका लागि भिजिट भिसामा युवालाई विदेश पठाएर सेटिङमा अध्यागमन कर्मचारीहरूले दैनिक लाखौँ रकम असुल गरेको उजुरीपछि अख्तियारले छानबिन थालेको थियो । गत ७ जेठमा विमानस्थलस्थित अध्यागमन कार्यालयमै छापा हानेर कार्यालय प्रमुख भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
प्रमुख प्रतिवादी भट्टराई कार्यरत रहेको अवधिभर विमानस्थल अध्यागमनबाट भिजिट भिसामा एक लाख ५३ हजार ९७४ व्यक्ति विभिन्न देश गएका थिए । त्यसमध्ये ४२ हजार ३५७ श्रमका हिसाबले जोखिमपूर्ण देश दुबई, ओमन, कतारलगायत देश गएका र लामो समयसम्म पनि नफर्किएकाले उनीहरू कहाँ÷कस्तो अवस्थामा छन्, कसरी गए, कोमार्फत गए, भिजिट भिसामा गएर पनि हालसम्म किन फर्केनन् भन्ने विषयमा छुट्टै अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । विमानस्थल कार्यालयबाट भारतीय नागरिकलाई समेत बदनियतपूर्वक सेटिङ गरी एनओसीविना नै उडाएकाले त्यसबाट ठुलो रकम असुली गरेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
कालोसूचीका मानिसलाई प्रस्थान अनुमति दिएर उडाएको, वर्किङ भिसा लिएकालाई पनि भिजिट भिसामा पठाएको र काठमाडौंको सामाखुसीमा सञ्चालित नवदुर्गा गेस्टहाउसकी सञ्चालिका लीला तिमिल्सेनाको मोबाइल नम्बर राखी १४९ जनासम्मको राहदानी बनाएको विषयबारे पनि अनुसन्धान भइरहेको अख्तियारले उल्लेख गरेको छ ।
गृह प्रशासनमाथि भएन छानबिन
भिजिट भिसामाथि छानबिन गरेर मुद्दा अभियोजन गरेको अख्तियार अध्यागमन विभाग र गृह प्रशासनतिर भने प्रवेश नै गरेको छैन । जबकि भिजिट भिसाको सञ्जाल गृह मन्त्रालयसम्म देखिने स्पष्ट संकेतहरू थिए । ७ जेठमा अख्तियारले विमानस्थल अध्यागमन प्रमुख भट्टराईलाई घुसमै रंगेहात पक्राउ गर्न खोजेको थियो । तर, यसको सुइँको पाएपछि तत्कालीन गृहमन्त्री लेखकले अघिल्लो दिन नै सरुवा गरेर मन्त्रालय तानेका थिए । भट्टराईलाई लेखकले नै विमानस्थल अध्यागमनको प्रमुख बनाएर लगेका थिए ।
अध्यागमनमा सेटिङ भएको यो पहिलो घटना भने थिएन । अध्यागमनमा भिजिट भिसाको सेटिङ हुने गरेको विषयमा झन्डै दर्जन उजुरी गृह मन्त्रालयमै थिए । तर, गृहले त्यसलाई अनदेखा गरेको थियो । बरु, भट्टराईजस्तो विवादित सहसचिवलाई प्रमुख बनाएर पठाएको थियो । अध्यागमन जान अधिकृतहरूबिच जनही रकम असुली हुने गरेको थियो ।
अख्तियारको अनुसन्धान– यसरी गरिएको थियो सेटिङमा ठगी
१० माघ ०८० देखि ‘भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा आवश्यक पर्ने कागजातबारे ६ बुँदे सर्त’ लागू भएको थियो । तर, भट्टराई विमानस्थलको अध्यागमन प्रमुख भएर गएदेखि ती सर्त पालना नगरी घुस लेनदेन भएका यात्रुहरूलाई सहजै प्रस्थान अनुमति दिन लगाइएको थियो । भट्टराई २३ असोज ०८१ देखि ७ जेठ ०८२ सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा प्रमुख अध्यागमन अधिकृतका रूपमा कार्यरत थिए ।
अध्यागमन प्रणालीबारे जारी भएको निर्देशनसमेत अवज्ञा गरी बदनियतपूर्वक सेटिङ गरेर भिजिट भिसामा मानिसहरू पठाएको देखिएको छ । भिजिट भिसामा विदेश यात्राका लागि आवश्यक कागजात र प्रक्रिया नै पालना नगरी अनावश्यक हैरानी दिएर घुस लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यसरी भिजिट भिसामा विदेश गएकासँग पनि अख्तियारले सोधपुछ गरेको थियो । उनीहरूले आफूहरू विदेश जाँदा ठगिएको, नेपालमा भनेजस्तो काम नपाएको, यातना भोग्नुपरेको, ठगिएको रकम फिर्ता नपाएको भन्दै दोषीउपर कारबाहीको माग गरेका थिए । ट्राभल कम्पनीलाई एक लाख ८० हजार बुझाएर भिजिट भिसामा दुबई गएर फर्केका व्यक्तिसँग नै अख्तियारले बयान लिएको थियो । ट्राभल कम्पनीहरूले एजेन्ट नै खटाएर भिजिट भिसामा जाने व्यक्ति खोज्ने र मोटो रकम लिएर अध्यागमनसँगको सेटिङमा विदेश पठाउने गरेको अख्तियारको अभियोगपत्रले स्पष्ट देखाएको छ ।
दबाबमुक्त अनुसन्धान भए लेखक तानिने निश्चित
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव दुवाडीलगायत उच्चपदस्थको बयान छैन । तर, उनीहरूमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ । ‘बदनियतपूर्वक भिजिट भिसामा विदेश पठाउन तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका शान्तिसुरक्षा महाशाखा प्रमुख, गृहकै प्रशासन महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृहसचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरूको संलग्नताको सम्बन्धमा अनुसन्धान भइरहेको…,’ अख्तियारले अभियोगपत्रमा उल्लेख छ ।
तत्कालीन विमानस्थल अध्यागमन प्रमुख भट्टराईसहित नौविरुद्ध मुद्दा
अख्तियारले विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित सात व्यक्ति र दुई ट्राभल कम्पनीविरुद्ध मात्रै मुद्दा दायर गरेको छ । भट्टराईले ट्राभल एजेन्सी सञ्चालकसँग सेटिङ गरी १४२ महिला र ११५ पुरुषलाई ७९ लाख ८० हजार रुपैयाँ (प्रतिमहिला ४० हजार र प्रतिपुरुष २० हजारका दरले) लिएर भिजिट भिसामा पठाएको अख्तियारको निष्कर्ष छ । सेटिङमा घुस–रिसवत लिएर भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरेको आरोपमा भट्टराईलाई प्रमुख प्रतिवादी कायम गरेको छ । त्यस्तै, विमानस्थल अध्यागमनकै तत्कालीन अधिकृत यज्ञराज अर्याल, ट्राभल कम्पनी ग्रिनलाइन होलिडेज प्रालि, उक्त कम्पनीका अध्यक्ष बालकृष्ण खड्का र सोही कम्पनीका तत्कालीन संस्थापक सेयर सदस्य एवं सञ्चालक राम खड्काविरुद्ध पनि मुद्दा दायर गरेको छ । भट्टराईलाई ७९ लाख ८० हजार बिगो कायम गरेको अख्तियारले अर्याल, ग्रिनलाइन होलिडेज र खड्काद्वयविरुद्ध जनही ३० लाख २० हजार बिगो तोकेको छ ।
मुद्दा चलाइएको अर्को कम्पनी फेमिली होलिडेज ट्राभल्स एन्ड टुर्स प्रालि र उक्त कम्पनीका संस्थापक सेयर सदस्य एवं सञ्चालक दीपक भण्डारीलाई १० लाख ६० हजारका दरले बिगो कामय गरेको छ । त्यस्तै, कविता पौडेल र खेम (खगेन्द्र) सुवेदीसँग पनि भट्टराईसरह नै ७९ लाख ८० हजार बिगो कायम भएको छ । भट्टराई, पौडेल र सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दासमेत दायर गरेको छ । यो मुद्दामा जनही एक करोड तीन लाख ७९ हजार ६ सय बिगो कायम गरिएको छ ।
के–के भेटियो अनुसन्धानमा ?
– ट्राभल एजेन्सी सञ्चालकसँग सेटिङ गरी प्रतिमहिला ४० हजार र प्रतिपुरुष २० हजार लिई १४२ महिला र ११५ पुरुषसहित २५७ जना भिजिट भिसामा पठाएको
– भिजिट भिसासम्बन्धी सर्त र निर्देशन अवज्ञा गरेर घुस लेनदेनको धन्दा चलाएको, घुस दिनेलाई ‘सेटिङ’मा सहजै प्रस्थान अनुमति दिएको
– सेटिङमा भिजिट भिसामार्फत गएका नै ठगिएको, विदेशमा नेपालमा भनेजस्तो काम नपाएको, यातना भोग्नुपरेको र दोषीमाथि उनीहरूले कारबाहीको माग गरेको
– ट्राभल कम्पनीहरूसँग हिमचिम गरेर फाइदा लिई भिजिट भिसामा विदेश जानेहरूलाई अनिष्ट गरी घुस लिएको
– ट्राभल एजेन्सीका सञ्चालकहरूले पठाएको नामावली टिपोट गरेको र घुसको हिसाबकिताबसमेत डायरीमा उतारेको
– भिजिट भिसामा सेटिङमार्फत मानिस विदेश पठाएबापतको घुस बाँडफाँट, अधिकृतलाई आठ लाख
– अर्कै व्यक्तिको सिम प्रयोग गरी भिजिट भिसाका यात्रुहरूको नामावली आदानप्रदान
– घुसबाट प्राप्त रकमबाट कविता भट्टराईको नाममा जग्गा नै खरिद
नयाँ पत्रिकामा खवर छ।