१५ सदस्यीय पदाधिकारीसहित केन्द्रीय कमिटीकै प्यानल बनाउने गरी अध्यक्षका उम्मेदवार अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह दुवैले आन्तरिक गृहकार्य सुरु गरेका छन् । अहिलेलाई प्यानल नभनिहाल्ने, तर उम्मेदवारी मनोनयनपछि सार्वजनिक गर्ने गरी दुवै पक्षले आ–आफ्नो टिम निर्माणको गृहकार्य सुरु गरेका हुन् ।ओली समूहले पदाधिकारीबाहेक समेट्नुपर्ने केन्द्रीय सदस्यहरूको प्रारम्भिक सूची तयार गरिसकेको उनीनिकट एक नेताले बताए । ओली समूहमा सबैभन्दा पेचिलो पद महासचिव बनेको छ । ओलीले पुनः शंकर पोखरेललाई नै महासचिव दोहो¥याएर प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई उपाध्यक्षमा व्यवस्थापन गर्न खोजेका छन् ।
तर, उपाध्यक्ष तीनवटा मात्र रहेकाले विष्णु पौडेल पनि दोहोरिने र रामबहादुर थापालाई पनि दोहो¥याउनुपर्ने भएकाले ज्ञवाली र गुरुङमध्ये एकलाई मात्र उपाध्यक्ष बनाउन सकिने बाध्यतामा ओली छन् । गुरुङलाई उपाध्यक्षमा व्यवस्थापन नगर्दा टिममै अप्ठ्यारो पर्न सक्ने र अर्को समूहले महासचिवको उम्मेदवार बनाउन सक्नेतर्फ पनि ओली पक्षले ध्यान दिइरहेको एक नेताले बताए । उपमहासचिव ज्ञवालीले पुनः नदोहोरिने भन्दै महासचिवकै लागि अडान राखिरहेको स्रोतले जनाएको छ ।
त्यस्तै, उपमहासचिवमा पुनः विष्णु रिमाल दोहोरिँदा पद्मा अर्याल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र लेखराज भट्टसम्मलाई कसरी व्यवस्थापन गर्ने ओलीलाई चुनौती छ । सचिवहरूको उपमहासचिवमा बढुवा नहुँदा महासेठ, विश्वकर्मा र भट्टमध्ये दुईजना अर्को टिममा जाने खतरा छ । उपमहासचिवमै भानुभक्त ढकालले पनि रुचि राखेका छन् । त्यस्तै, सात सचिवमा नयाँ अनुहारसहितका नेतालाई प्रत्येक प्रदेशबाट एकजना समेट्नुपर्ने चुनौती छ ।
अर्कोतिर, पोखरेल पक्षले उपाध्यक्षमा युवराज ज्ञवालीलाई दोहो¥याउने तयारी गरेको छ । अष्टलक्ष्मी शाक्यलाई पनि उपाध्यक्षमै दोहो¥याउने, उनी नदोहोरिँदा विन्दा पाण्डे उठाउने, अर्को टिमबाट आउन सक्ने सम्भावित सचिव महासेठ, भट्ट र विश्वकर्मामध्ये सबैलाई उपाध्यक्ष र उपमहासचिवमा पनि व्यवस्थापन गर्न सकिने गरी छलफल सुरु गरेको छ । महासचिवमा भने उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई उठाउने सम्भावना बलियो बन्दै गएको उनीनिकट एक पदाधिकारी तहका नेताले बताए । पाण्डेले पनि उपाध्यक्षमा भन्दा कार्यकारी पद महासचिवमै बढी रुचि देखाएका छन् ।
त्यसो हुँदा सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट उपमहासचिवमा उठ्ने या अर्को टिमबाट आएकालाई छोडेर सचिवमै दोहोरिनसमेत तयार देखिएका छन् । सचिवहरूमा भने गोकुल बाँस्कोटा, कर्ण थापा, विनोद ढकालदेखि ४० वर्ष कम उमेरसमूहलाई समेत ध्यान दिँदै रचना खड्कालाई उठाउने गरी प्रारम्भिक छलफल चलिरहेको एक पदाधिकारीले बताए ।
आजबाट भृकुटीमण्डपमा बन्दसत्र र निर्वाचन प्रक्रिया
आइतबार बिहानैबाट भृकुटीमण्डपमा ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुँदै छ । केन्द्रीय सचिवालयले नै अध्यक्षमण्डलको काम गर्ने निर्णय गरेकाले उसैले बन्दसत्र सुरु गर्नेछ । र, केन्द्रीय निर्वाचन आयोगलाई कामको जिम्मा दिनेछ । आइतबारबाटै निर्वाचन प्रक्रिया सुरु गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘दुई हजार २६२ प्रतिनिधिको नामावली प्रकाशन, उम्मेदवारी मनोनयन, निर्वाचनको कार्यतालिका प्रकाशन गरेर आइतबार बिहानैबाट क्रमशः प्रक्रिया अगाडि बढ्छ,’ गौतमले भने, ‘सम्भवतः सोमबार उम्मेदवारी मनोनयन हुनेछ ।’
तर, निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले निर्वाचित हुने क्लस्टर टुंग्याएर दिएपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन सहज हुने बताए । ‘क्लस्टर टुंगिएर आयो भने आइतबारबाटै पनि निर्वाचन कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया अगाडि बढाउन सकिन्छ,’ सुब्बाले भने । उम्मेदवारी मनोनयनपछि भोटिङ मेसिनमा अल्फाबेटिकल्ली फोटोसहितको नामको सूची राख्न कम्तीमा १५ घण्टा लाग्ने उनको भनाइ छ । नियमित रूपमा काम अगाडि बढ्दा १ पुसमा मतदान सकेर ढिलोमा २ गते बिहानभित्र परिणाम सार्वजनिक गर्न सक्ने योजना रहेको उनले सुनाए । उनका अनुसार ८० वटा भोटिङ मेसिनमा मतदान गराउने र एकजना प्रतिनिधिलाई मत दिन २५ मिनेट लाग्ने अनुमान छ । उनले मतदान सकिएको तीन घण्टाभित्र परिणाम सार्वजनिक गर्न सकिने बताए ।
बन्दसत्र सञ्चालनका लागि प्रदीप ज्ञवालीको नेतृत्वमा प्रस्ताव लेखन र पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा माइन्युटिङ कमिटी बनाउने सचिवालयले निर्णय गरेको थियो । थप समिति र सदस्यहरू अध्यक्षमण्डलले नै बनाउनेछ भने डा. सुब्बा नेतृत्वको निर्वाचन आयोगले निर्वाचनसम्बन्धी काम गर्नेछ ।
उद्घाटन समारोहमा अध्यक्षका प्रत्याशी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरेनन् । उपमहासचिव प्रदीप ज्ञवालीको सञ्चालन, अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलको मन्तव्य आउँदा वरिष्ठ उपाध्यक्ष पोखरेल बोलेनन् । स्रोतका अनुसार स्वागत सम्बोधन गर्न ओलीले गरेको प्रस्ताव पोखरेलले अस्वीकार गरेका थिए । आफूलाई पनि वक्ता राख्नुपर्ने पोखरेलको अडान थियो ।
ओलीले एकलौटी प्रतिनिधि मनोनीत गरेको पोखरेलको आरोप
अध्यक्ष केपी ओलीले एकलौटी प्रतिनिधि मनोनीत गरेको भन्दै अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल र उनीनिकट नेताहरूले गम्भीर आपत्ति जनाएका छन् । शनिबार बिहान १०८ जना मनोनीत प्रतिनिधिको सूची सार्वजनिक भएलगत्तै अध्यक्षका उम्मेदवार पोखरेलले त्यसप्रति आपत्ति जनाएका हुन् । ओलीले केन्द्रीय सचिवालयको शुक्रबारको बैठकमा १०८ जनाको नाम प्रस्ताव गरेका थिए । तर, त्यसमा विवाद भएपछि सहमतिमा टुंग्याउने भनिएको थियो । ‘तर, सल्लाह नै नगरी नामसूची आएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ,’ पोखरेलले भने । पोखरेल पक्षले १०८ जनामा आफ्नो पक्षबाट भेषराज अधिकारीसहित १० जनासम्म मात्र मनोनीतमा पारिएको निष्ष्कर्ष निकालेको छ । तर, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने पोखरेलसँगको सहमतिमै मनोनीत प्रतिनिधिको नाम टुंगिएको दाबी गरे । ‘एकलौटी होइन, सहमतिमै टुंगिएको हो, छुटपुट नामसमेत समावेश गरेर सार्वजनिक गरिएको छ, त्यसैले उहाँहरूको दाबी झुटो हो,’ उनले भने ।
११औँ महाधिवेशनका प्रतिनिधि र शुभेच्छुकमाझ ओलीले सुनाए प्राथमिकता ः चुनावी वातावरण बनेको छैन, संसद् पुनस्र्थापना हुनुपर्छ
एमाले अध्यक्ष केपी ओलीले निर्वाचनको कार्यादेश पाएको अन्तरिम सरकारले ठोस वातावरण बनाउन नसकेको दाबी गर्दैै प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दामा पुनः जोड दिएका छन् । पार्टीको सबैभन्दा ठुलो फोरम मानिने महाधिवेशनको उद्घाटन सत्रमा ओलीले एमाले निर्वाचनबाट भाग्ने दल नभएको जिकिर गर्दै अहिलेको अवस्थामा प्रतिनिधिसभा पुनस्र्थापना नै निकास हुने दाबी गरेका छन् ।
भक्तपुरको सल्लाघारीमा शनिबार एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले महाधिवेशन प्रतिनिधि र सहभागीमाझ आगामी प्राथमिकताबारे स्पष्ट सन्देश सुनाएका छन् । उद्घाटन समारोहमा ओलीले करिब आठ दशकको इतिहासमा पार्टीले स्थापित गरेका मानक, जेन–जी आन्दोलन, आगामी राजनीतिक बाटो र पार्टी एकतामाथि केन्द्रित रहेर लिखित मन्तव्य दिएका थिए ।
महाधिवेशनमा कुन दलका नेताले के भने ?
पूर्णबहादुर खड्का, कार्यवाहक सभापति, कांग्रेस
पार्टी फुट्दा र जुट्दाको अनुभूत हामीले भोगेका छौँ, त्यो हामीले पनि भोगेका छौँ, एमालेले पनि भोगेको छ, अरू दलहरूले पनि भोगेका छन्, साना मनमुटावका कारण पार्टीमा कुनै समस्या नआओस् भन्ने सबै नेता–कार्यकर्तामा आग्रह गर्न चाहन्छु । महाधिवेशनमा पार्टी नेतृत्वको विषय उठ्ने भएकाले एमाले त्यसमा सचेत होस्, संकटमा सबै नेताहरूको यसमा ध्यान पुग्योस् । सकेसम्म सहमतिमा नेतृत्व छानोस् नभए मैत्रीपूर्ण प्रतिस्पर्धा होस् ।’
देव गुरुङ, नेता, नेपाली कम्युनिस्ट पार्टी
कम्युनिस्टहरू नै देशभक्त हुन्छन् भन्ने विगतको इतिहासदेखि नै साबित हुँदै आएको छ, त्यसैले संकट परेका वेला सबै कम्युनिस्टहरू मिलेर अगाडि बढ्नुको कुनै विकल्प छैन । नेपालको कम्युनिस्ट आन्दोलन विखण्डन हुँदै आएको छ । यसलाई एकताबद्ध नगरी लोकतन्त्रको रक्षा गर्न कठिन छ । समाजवादी प्रणालीको स्थापना गर्न कठिन छ ।
नेत्रविक्रम चन्द विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी
विध्वंसपछि एमाले कहाँ छ, कस्तो अवस्थामा छ भन्ने जटिल प्रश्न थियो, एमालेले त्यो जवाफ आजको सभाबाट दिएको छ । नेपाली जनताले मात्र होइन नेपालप्रति गिद्देदृष्टि राख्नेहरूले जवाफ पाएका छन् । यो सहभागिता दलहरूले देश सम्हाल्न सक्छन् भन्ने सन्देश हो । धेरैले कम्युनिस्टहरू अब देशमा सकिए, नेतृत्व गर्न सक्दैनन् भनेका थिए । यो सहभागिताले संसारभरलाई ठुलो सन्देश दिएको छ ।
कवीन्द्र बुर्लाकोटी, महामन्त्री, रास्वपा
निर्वाचनबाटै मुलुकको संकटको निकास खोजिनुपर्छ । एकले अर्कोलाई आरोप लगाउनेभन्दा पनि जनतामा गएर नयाँ म्यान्डेटसहित अगाडि बढ्नुको विकल्प छैन ।
राजेन्द्र लिङ्देन, अध्यक्ष, राप्रपा
अहिलेको संकटको घडीमा परम्परागत शक्ति, राजनीतिक दल र जेन–जी समूहहरूबिच नवीन समझदारी आवश्यक छ ।
सुरेन्द्र झा, महामन्त्री, लोसपा
संविधान संशोधनको अगुवाइ गर्न म एमालेको ध्यानाकर्षण गराउँछु ।