काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ ।सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा बन्दसत्र सकेर चुनावी प्रक्रिया सुरु भएको हो ।अहिले चुनावका लागि उम्मेदवारलाई मनोनयन फाराम वितरण सुरु गरिएको छ । आज दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरुको दर्खास्त फारम दर्ता गर्ने कार्यक्रम छ ।
उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । त्यसपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुने छ । उजुरी दिने समय दिँसो साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसपछि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने गरी कार्यतालिका तयार पारिएको छ ।
ईश्वर पोखरेल समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार
नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ ।अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको एक नेताले बताए ।उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ । उपमहासचिव उम्मेदवारको सूचीमा बैजनाथ चौधरीको नाम पनि छ ।
सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम करिब टुंगो लागेको स्रोतले बतायो । ईश्वर पोखरेल समूहले सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखेको छ । ओली समुहले पनि उम्मेदवारहरूकाे टुङ्ग्याे लगाउन गाेप्य छलफलमा जुटेकाे छ।