काठमाडौँ,नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रीत भएको आरोप लगाएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै उनले सरकारले मन्त्री बनाउन भ्रष्टहरू खोजेर हिँडेको आरोप लगाए। ‘सरकार चुनाव गराउने बाटोमा छैन। मन्त्रीमण्डल विस्तारमा केन्द्रीत छ। ती पनि भ्रष्ट जो–जो छन्, तिनीहरुलाई मात्रै खोज्दै हिँडेको छ’, उनले भने।
खतिवडाले वर्तमान सरकारमा केही मन्त्रीहरु भने काम गर्नेजस्ता देखिएको भएपनि सरकारको मुख्य काम निर्वाचनतर्फ भने कोही केन्द्रीत नभएको बताए। ‘भर्खरै मैले सुन्दै थिएँ, अब विवादित मान्छेहरु आएका छन्। केही मान्छेहरु काम गर्नेजस्ता पनि देखिएका छन्’, उनले भने ‘तरपनि सरकार अहिले चुनाव गराउने अवस्थामा गएको छैन।’