नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । यो ९८.०४ प्रतिशत हो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका छन् ।बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज (बिहीबार) बिहान ७ बजे सकिएको हो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए ।
मअध्यक्ष पदका लागि दुई जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ । त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा पनि दुई जनाबिच मात्र प्रतिस्पर्धामा उत्रिएका छन् । महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।विधानअनुसार पाँच जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ११ जना नेताहरूले उम्मेदवारी दिएका छन् । यस्तै, तीन जना निर्वाचित हुने उपमहासचिव पदमा छ जनाको उम्मेदवारी परेको छ ।
नौ सिट रहेको सचिव पदमा सबैभन्दा बढी आकर्षण देखिएको छ । सचिव पदका लागि २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन् । सचिव बन्नका लागि गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, अग्नि खरेल, शेरधन राई लगायतका नेताहरूले उम्मेदवारी दिएका छन् ।यसअघि मङ्सिर २८ गते १० महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै भदौ २०–२२ गते गोदावरीमा भएको विधान महाधिवेशनले गरेको निर्णय उल्टाएको थियो ।
विधान महाधिवेशनले केन्द्रीय कमिटीको आकार २५१ सदस्यीय पदाधिकारीको संख्या १५ र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो ।अध्यक्ष केपी शर्मा ओलीले २८ गतेको अन्तिम केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै केन्द्रीय कमिटीको आकार बनाउने प्रस्ताव राखेका थिए । सोही अनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना बनाइएको थियो । वरिष्ठ उपाध्यक्ष पद थपिएन । विगतमा सो पद रहेको थियो ।
निर्वाचन आयोगले २८ गते आइतबार साँझ निर्वाचन कार्यतलिका प्रकाशन गरेको थियो । आइतबार प्रकाशन गरिएको कार्यतालिका अनुसार पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहे पनि पटक पटक संशोधन हुँदै मंगलबार साँझ पु¥याइएको थियो । मंगलबार साँझ अन्तिम समयमा प्राविधिक कारण देखाउँदै मतदान पुस २ गते बुधबार बिहान ८ बजेलाई सारिएको थियो । बिहान ८ बजे देखि हुने भनिएको मतदान साढे एक घण्टा ढिला गरी ९ बजेमात्र सुरु भएको थियो ।
एमाले निर्वाचन आयोग प्रवक्ता भन्छन्– साढे ११बजेभित्र रिजल्ट आउट गर्छौं
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएपछि मतगणनाको प्रक्रिया सुरु गरिएको छ । बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने र साढे ११ बजेभित्र नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको छ ।एमाले निर्वाचन आयोगका प्रवक्ता भरत पोखरेलले भने, ‘कानुनी प्रक्रियाको पूर्णताका लागि केही समय लाग्यो भने पनि हाम्रो लक्ष्य साढे ११ बजेसम्ममा रिजल्ट आउट गर्ने हो ।’