नेतृत्वमा ‘ह्याट्रिक’ गरेका ओलीले शपथबाटै आन्दोलनको तयारीमा बस्न पार्टीपंक्तिलाई अपिल गरेर आगामी दिनमा सम्भावित टकरावको राजनीति गर्ने सन्देश दिएका छन्
झनै शक्तिशाली र प्रभावशाली नेताका रूपमा उदाउँदै केपी ओली एमालेको तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । ११औँ महाधिवेशनमा नेतृत्वका लागि भएको मतदानमा ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै ओलीले पार्टीमाथि आफ्नो वर्चस्व पुनः स्थापित गरेका छन् । अन्तरपार्टी लोकतन्त्रको आवाज उठाउने पक्षलाई पराजित गर्दै ओलीले पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म आफ्नै समूहको बलियो पकड सुनिश्चित गरेका छन् । अध्यक्षमा ‘ह्याट्रिक’ पूरा गरेका ओलीले पहिलो सम्बोधनमै संघर्षमुखी राजनीति र टकरावको बाटो रोज्ने सन्देश दिएका छन् । सरकारसँग सीधा राजनीतिक मुठभेड गर्ने ओलीको संकेत छ।
जेन–जी आन्दोलनको दबाबपछि प्रधानमन्त्री पदबाट हट्दा केही समय रक्षात्मक देखिएका ओली निर्वाचित भएसँगै पुनः आक्रामक शैलीमा फर्किएका छन् । उनको अभिव्यक्तिले मूलतः आसन्न २१ फागुनको निर्वाचन, २३–२४ भदौको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगको कामकारबाही प्रभावित हुने प्रस्ट जनाउ गरेको छ ।
जेन–जी आन्दोलनले प्रधानमन्त्रीबाट सत्ताच्यूत भएपछि उनको नेतृत्व र कार्यशैलीलाई लिएर एमालेभित्रै प्रश्न थिए भने बाहिरबाट पनि नेतृत्व हस्तान्तरण गर्न सुझाव थिए । यही वेला उनले महाधिवेशन आयोजना गरेर आफूसहित तीन सय एकसदस्यीय केन्द्रीय कमिटी नै पूरै चुनावी प्रतिस्पर्धाबाट निर्वाचित गराएर आफूलाई पार्टीभित्र अनुमोदन गराएका छन् । यसअघि उनी ०७१ को नवौँ र ०७८ को १०औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए । बुधबार बिहानैदेखि बिहीबार बिहानसम्म झन्डै २४ घण्टाको मतदानमा कुल खसेको दुई हजार २२७ मतमा ओलीले एक हजार ६६३ मत पाउँदा प्रतिस्पर्धी पोखरेलले ५६४ मत मात्र पाएका छन् । ओलीले पोखरेललाई एक हजार ९९ मतले पराजित गरेका छन् । पोखरेलले कुल मतको करिब २५ प्रतिशत मत मात्रै पाए ।
ईश्वर–सुरेन्द्रलाई ओलीको निषेध राजनीति, शपथमा समेत डाकेनन्
ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा अलग्गै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएपछि क्रुद्ध बनेका ओलीले उनीहरूविरुद्ध महाधिवेशनमा निषेधको डन्डा चलाएका छन् । ओलीले अध्यक्षका उम्मेदवार पोखरेल र महासचिवका उम्मेदवार पाण्डेलाई मात्र होइन, उनीहरूतर्फका पदाधिकारीका उम्मेदवार कसैलाई पनि आफ्नो तर्फबाट खुलातर्फको केन्द्रीय सदस्यको सूचीमा समेत राखेनन् । दुईतिहाइभन्दा बढी मत रहेका ओलीले त्यसरी निषेधको नीति लिएपछि त्यसको असर देखियो, यही कारण पाण्डेले केन्द्रीय सदस्यमै चुनाव हारे ।
ईश्वर प्यानलले केपी ओली र शंकर पोखरेलसहित उनीहरूको प्यानलका अधिकांश पदाधिकारीका उम्मेदवारलाई केन्द्रीय सदस्यको सूचीमा राखेको थियो । ‘हामीले सहकार्यको हात बढायौँ, उहाँले निषेधको नीति लिनुभो । अब यसैगरी पार्टी चलाउन थाल्नुभयो र सबैको योग्यता, क्षमता र योगदान उपयोग गर्ने विषयमा ध्यान दिनुभएन भने त्यसको असर के होला ?’, ईश्वर प्यानलबाट पराजित पदाधिकारीका एक उम्मेदवारले भने ।
निर्वाचित भएका ओलीलाई सामाजिक सञ्जालबाट बधाई दिएका पोखरेल र पाण्डेलाई विजयी बनेपछि ओलीले शपथमा समेत डाकेनन् । बन्दसत्रको अध्यक्षमण्डलको अध्यक्षको हैसियतले ओलीले उनीहरूलाई बोलाउन उपयुक्त ठानेनन्, निर्वाचन आयोगले पनि मुख्य प्रतिस्पर्धीलाई साथमै राख्न चाहेन । बोलावटको आशामा रहेका पोखरेल र पाण्डे दुवैले शपथ समारोहमा भाग लिएनन् ।
शपथमै ओलीको चेतावनीः एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प पार्नुपर्छ, यो सरकार ढाल्नुपर्छ
महाधिवेशन सकिएलगत्तै भृकुटीमण्डपमा आयोजित शपथग्रहण समारोहबाट ओलीले आफूविरुद्ध सरकारले झुटो मुद्दा लगाएर फसाउन खोजेको भन्दै आन्दोलनका लागि तयारी अवस्थामा बस्न पार्टीपंक्तिलाई निर्देशित गरे । ‘एमाले नेतृत्वमाथि अनेक प्रकारका जालझेल भए । अहिले भौतिक आक्रमणको प्रयास गर्ने र जाली–झुटा मुद्दा लगाउने हल्ला मच्चाइएको छ । मिडिया ट्रायल गरेर हल्ला चलाएको हुन सक्छ,’ चेतावनीपूर्ण शैलीमा ओलीले भने, ‘म भन्न चाहन्छु– एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्छ । देशभर प्रदर्शन हुनुपर्छ । यो सरकार ढाल्नुपर्छ । यसका लागि एमाले देशभर तयारी अवस्थामा बस्नुपर्छ । कुरा होइन, काम गरेर देखाउनुपर्छ ।’
महाधिवेशन प्रतिनिधिले ओलीविनाको एमाले चाहेकाहरूको सपना ध्वस्त पारेको र एमाले विभाजनको धुप बालेकाको धुप नै खेर गएको टिप्पणी गरेका छन् । ‘केपी ओलीविनाको एमाले भन्ने प्रतिक्रियावादीहरूको जुन चेष्टा थियो, त्यसलाई तपाईंहरूले ध्वस्त पार्नुभएको छ । त्यसैले पार्टी नेतृत्वमा पुनः विश्वास व्यक्त गरिएकोप्रति आभार प्रकट गर्दछु,’ उनले भने, ‘मेरो इतिहास हेरेर तपाईंहरूले फेरि जुन विश्वास दिनुभएको छ, त्यसका लागि तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु । धेरैले एमाले फुट्ने आशा गरेका थिए, फुट्छ भनेर धुप हालिराखेका थिए, तर तिनको धुप खेर जान्छ । महाधिवेशनपछि एमाले अझ मजबुत भएर अगाडि जान्छ।’
लोकप्रियताका बाबजुद महासचिवमा सुरेन्द्रलाई ब्रेक
पार्टीभित्र लोकप्रिय, बौद्धिक र सांगठनिक काममा अनुभवी मानिएका सुरेन्द्र पाण्डेको महासचिव बन्ने दोस्रो प्रयास पनि असफल भएको छ । प्यानलबाट अध्यक्षका उम्मेदवार पोखरेलले भन्दा ४३५ मत संस्थापनबाट क्रस गराएर ९९९ मत पाए पनि पाण्डे महासचिवमा पराजित भएका छन् । महासचिवमा विजयी शंकर पोखरेलले पाण्डेले भन्दा २२८ मत बढी पाएका छन् । नवौँ महाधिवेशनमा पाण्डे ईश्वर पोखरेलसँग मात्रै ६ मतले पराजित भएका थिए । १०औँ महाधिवेशनमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए ।
११औँ महाधिवेशनमा उनी तुलनात्मक रूपमा टिमकै बलियो नेताका रूपमा महासचिवमा अगाडि सारिएका थिए । उनलाई पूर्वराष्ट्रपति विद्या भण्डारीको समेत समर्थन थियो । पाण्डे समर्थक नेता–कार्यकर्ताले महासचिवका उम्मेदवार पोखरेलको जित कठिन बन्न सक्ने विश्लेषण गरेका थिए । ओलीले विशेष गरी विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ र रघुवीर महासेठलाई मत क्रस नहोस् भनेर कडा निर्देशन दिएपछि पाण्डेले अन्तिम समयमा हार व्यहोरेको बताउँछन् ।
पदाधिकारीमा एक्ली महिला अर्याल, तीन महिला पराजित
एमालेमा ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा उठेकी डा. बिन्दा पाण्डे र सचिवकी उम्मेदवार रचना खड्का तथा कुनै प्यानलमा पनि नपरेकी सचिवकी उम्मेदवार पेम्बा लामा पराजित भए । तर, अध्यक्ष ओली प्यानलबाट सचिवमा पद्ममा अर्याल निर्वाचित भइन् । उनी अघिल्लोपटक पनि सचिव थिइन् । चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट भने उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिव पद्ममा अर्याल निर्वाचित भएकब थिए ।