ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ को आयोजनामा तेश्रो वडा अध्यक्ष कप वुद्धिचाल प्रतियोगिता शुरू भएको छ। पहिलो र दोस्रो प्रतियोगिता भव्यताका साथ सम्पन्न भएसंगै तेस्राे प्रतियाेगिता शुरू भएकाे हाे।
प्रतियोगिताको उद्घाटन महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोविन्द श्रेष्ठले गर्नुभयो। वडा अध्यक्ष जयकृष्ण बोगटीको सभापतित्वमा भएको कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी महर्जन, बागमती प्रदेशका पूर्व प्रदेशसभा सदस्य माधव पौडेल, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चिरञ्जीवी पौडेल, नेपाल बुद्धिचाल महासंघका कार्यवाहक अध्यक्ष दिपेन्द्र राई उपस्थिति रहेकोे थियो । यस्तै कार्यक्रम संचालक तथा वडा सदस्य शशिधर पोखरेल,कार्यपालिका सदस्य सरिता पोखरेल,कार्यपालिका सदस्य कुमार वयलकाटी, वडा सदस्यहरू राम केशर थापा र बेनी सुर्खेती लगायत,नगर बुद्धिचाल संघका अध्यक्ष महेन्द्र देव सिंह, कानुनी सल्लाहकारहरु, राजनीतिक दलका प्रतिनिधि, सहकारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा ललितपुर जिल्ला,महालक्ष्मी नगरपालिका र वडा नं ९ का खेलाडीहरुलाई उत्साहित गर्नका लागि विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ। पौषको ४ र ५ गते हुने उक्त प्रतियोगितामा नगद रु १३२००० पुरस्कार रासी राखिएको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले मन्तव्यका क्रममा नगरपालिकाले बुद्धिचाल खेलको प्रवर्द्धनका लागि नीतिगत निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय तहमा बुद्धिचाल खेलको विकास, खेलाडीहरूको पहिचान र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिनुभयो छ। निकट भविष्यमा पनि कार्यकाल हुन्जेल प्रतियाेगिता जारी राख्ने उहाँकाे भनाइ छ।
स्विस लिग अन्तर्गत ९ राउण्डमा खेलाइने प्रतियोगिता २ दिन सञ्चालन हुनेछ। खुल्ला प्रतियोगिता भएकाले देशैभरबाट २ सय भन्दा बढी खेलाडीहरू सहभागि भएकाे भारत लगाएतका देशबाट पनि खेलाडीकाे सहभागिता रहेकाे छ।