पोखरा,तनहुँ शुक्लागण्डकीकी स्मृति शर्मा वाग्लेले ३ लाख रुपैयाँमा सानो व्यवसाय सुरु गरिन् । सैनिक परिवारकी वाग्लेले व्यवसाय सुरु गरेपछि सैनिक कल्याणकारी कोषको लघुवित्त कर्जामा सहभागी भइन् र ७ लाख रुपैयाँ कर्जा लिइन् । अहिले उनको व्यवसायले ५० लाख रुपैयाँभन्दा बढी कारोबार गरिरहेको छ ।वाग्ले बुधबार पश्चिम पृतना हेडक्वाटर विजयपुर ब्यारेक पोखराबाट सर्वोत्कृष्ट लघु व्यवसायीका रुपमा सम्मानित भइन् ।कल्याणकारी कोषबाटै लगानी लिएर व्यवसाय सुरु गरेका गोरखाका अवकास प्राप्त सैनिक चन्दसिंह बस्नेत उत्कृष्ट व्यवसायी बने । ८ लाख लगानीबाट सुरु गरेको बेमौसमी तरकारी खेतीको कारोबार अहिले ३० लाख पुगेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी सैनिक चोलाबहादुर खड्काकी श्रीमती सीता खड्काले सुजित एन्ड सुजाता किराना पसल सञ्चालनका लागि ७ लाख रुपैयाँ बुधबारै ऋण लिइन् । १५ लाख रुपैयाँ लघुवित्त तथा महिला उद्यमी कर्जा लिएर पोखरा ११ निवासी अवकास प्राप्त सैनिक परिवारकी गीता सापकोटाले किचन कर्नर थालेकी छन् ।यसरी सैनिक कल्याणकारी कोषमार्फत कर्जा लिएर व्यवसाय थालेका, गरिरहेका र सफल भएका थुप्रै उदाहरण छन् । तर, अझै पनि धेरै भूपू सैनिक तथा तिनका परिवार देश, विदेशमा भौंतारिइरहेको देख्दा पीडाबोध हुने प्रधानसेनापति पूर्णचन्द्र थापा बताउँछन् । थापाले बुधबार पोखरामा भूतपूर्व सैनिक तथा तिनका परिवारलाई सम्बोधन गर्दै भने, ‘अवकास प्राप्त सैनिकले वैदेशिक रोजगारीको बाटो नरोजून् भनेर कल्याणकारी कोषमार्फत सेवा, सुविधा प्रदान गर्दै आइरहेका छौं । कल्याणकारी कोषबाट प्रदान गरिएका सेवा र सुविधा प्रयोग गरेर स्वदेशमै पौरख गर्न म अनुरोध गर्दछु ।’
२०३२ सालमा संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत मध्यपूर्वमा नेपाली सेना सहभागी भएबापत करिब १ करोड २४ लाख रुपैयाँ नगद प्राप्त गरेको थियो । त्यही रकमबाट सैनिक कल्याणकारी कोष स्थापना भएको थियो । २०७७ साल पुस मसान्तसम्म आइपुग्दा यो कोषमा ५७ अर्ब ९८ करोडभन्दा बढी रकम जम्मा भइसकेको छ ।यो कोषबाट बहालवाला तथा अवकास प्राप्त सैनिक र तिनका परिवारलाई विभिन्न क्षेत्रमा नेपाली सेनाले सघाउ पु¥याउँदै आएको छ । तर, अहिले पनि अवकास प्राप्त सैनिक तथा तिनका परिवारले यो कोषबाट पर्याप्त लाभ र पहुँच पु¥याउन नसकेको गुनासो आइरहेको छ ।पश्चिम पृतना हेडक्वाटर विजयपुरमा भएको भूपू सैनिक सम्मेलनमा प्रधानसेनापति थापाले कल्याणकारी कोषको मूल पुँजीबाट प्राप्त ब्याज र लगानीबाट प्राप्त हुने प्रतिफल भूपू सैनिकको कल्याणकारी काममा खर्च हुँदै आएकाले सहभागी हुन आग्रहसमेत गरे ।
गण्डकी प्रदेशका १० जिल्लामा नेपाली सेनाबाट १६ हजार ६ सयभन्दा बढी अवकास प्राप्त सैनिक रहेको तथ्यांक पश्चिम पृतना हेडक्वाटर विजयपुरसँग छ । त्यसमध्ये ९ हजार ७७ जनाले भेलामा सहभागी हुन नाम दर्ता गराएका थिए । भूपू सैनिक र तिनका परिवारमध्ये कति वैदेशिक रोजगारीमा छन्, कति जनाले कस्तो जीवन यापन गरिरहेका छन् भन्ने यकीन छैन ।सैनिक कल्याणकारी कोषबाट शिक्षा, स्वास्थ्य, रोजगार तालिम र उद्यममा ठूलो लगानी गरिरहेको बताउँदै प्रधानसेनापति थापाले कोषमा पहुँज र दायरा बढाउन दीर्घकालीन सोचसहित सेवा, सुविधा विस्तार गर्दै लगिएको बताए ।