काठमाडौं, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले माघ ५ गते राजीनामा दिने भएका छन्। सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने अभ्यास रहेकाले सभामुख घिमिरेले माघ ५ गते राजीनामा दिने सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
नेपालको संविधानको धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्थाको उपदफा ६ (क) मा प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने उल्लेख छ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गर्नेगरी कार्यक्रम प्रकाशन गरेको छ। फागुन २१ गते हुने पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिनेछ।
विगतको अभ्याससमेतका आधारमा सभामुख र उपसभामुखको पदावधि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने संघीय संसद् सचिवालयले जनाएको छ। सचिवालयका अनुसार गत निर्वाचनका समयमा सभामुख रहेका अग्निप्रसाद सापकोटाले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन बिदाइ लिएका थयो। सोही अभ्यासअनुसार वर्तमान सभामुख घिमिरेले पनि माघ ५ गते बिदा लिने तयारी गरेका हुन्।
एमालेबाट प्रत्यक्ष उम्मेदवार बनेका घिमिरे झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। घिमिरेले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए।
यता रास्वपाबाट समानुपातिक सांसद हुँदै उपसभामुख बनेकी इन्दिरा रानाले आज आफूले चढ्ने चाबी बुझाइकी छन्। स्रोतका अनुसार निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न आइतबार र सोमबारका लागि समय निर्धारण गरेपछि रानाले नैतिकता आधारमा चाबी हस्तान्तरण गरेकी हुन् ।