नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले संविधान निर्माणका पक्षधर शक्तिहरूले अब सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन्।मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ’एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा विश्वकर्माले नेपाली कांग्रेस विधि र व्यवस्थाका लागि एमालेसँग सहकार्य गर्ने र निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने पनि उल्लेख गरेका छन्।
नेकपा एमालेसँग सहकार्यको संकेत गर्दै कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ’हामीले २०४६ सालको जनआन्दोलनमा सँगसँगै लड्यौं, २०६२–६३ को जनआन्दोलनमा पनि सँगसँगै लड्यौं। संविधान बनाउँदा हामी एक ठाउँमा उभियौं। अहिले फेरि संकट आएको छ। यो बेला फेरि हामीले डटेर, भिडेर लड्ने हो।’
उनले अगाडि भने, ’पार्टी सभापति शेरबहादुर देउवाको सन्देशका रूपमा म यहाँ भन्न चाहन्छु, दल विशेषका आधारमा कांग्रेसको न कसैसँग मित्रता हुन्छ, न दुश्मनी हुन्छ। हामी मुद्दामा सहकार्य गर्छौं। जनताको पक्षमा सहकार्य गर्छौं। त्यसैले संविधान पक्षधर शक्तिहरू मिलेर सबभन्दा पहिला अहिले देशमा लागेको आगो निभाउनुपर्नेछ, त्यसपछि विधि र व्यवस्था जोगाउन संयुक्त रूपमा लड्नुपर्नेछ।’
’व्यवस्था स्थापित भइसकेपछि हामी हाँसी हाँसी, मनमा तिक्तता लिएर होइन, हार्दिकताका साथ निर्वाचनमा प्रतिस्पर्धा गरौं,’ उनले भने।
बादलले भने– कांग्रेस र एमाले मिलेर चुनाव लड्नुपर्छ
नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले आगामी निर्वाचनमा एमाले र कांग्रेस मिलेर जानुपर्ने बताएका छन्। मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले गरेको एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास विचार गोष्ठी कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले फागुन २१ गते चुनाव भएको अवस्थामा कांग्रेस र एमाले मिलेर जानुपर्ने बताएका हुन्।
विगतका समयमा लोकतन्त्र खतरामा पर्दा वामपन्थीको नेतृत्व गरेर एमालेले र लोकतन्त्रवादीको नेतृत्व गरेर कांग्रेसले लड्दै आएको बताउँदै अहिलेको विषय परिस्थितिमा पनि दुई शक्तिहरूले रणनीति बनाउनुपर्ने बताएका हुन्।
यसका लागि दुई बाटो रहेको पनि उपाध्यक्ष थापाले बताए। ’कि नयाँ संसदमा वामपन्थी र लोकतन्त्रवादीहरूको वर्चश्व स्थापित गर्ने वा दुई शक्तिको वर्चश्व रहेको पुरानै संसद पुनस्र्थापना गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्न सक्छौं,’ उनले भने।अदालत र सडकबाट पुरानो संसद पुनस्र्थापनाका लागि फागुन २१ गतेसम्मको समय रहेको उनले बताए।’दुइटा बाटो हाम्रो अगाडि छ। यसबाट अगाडि बढ्न हामीले रणनीति तयार गर्न जरूरी छ,’ उनल भने।