राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले समानुपातिक सूचीमा भएका गल्ती सच्याइने बताएका छन् । चौतर्फी आलोचना भएपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्– सहमति अत्यावश्यक थियो, अन्तिम समयमा महत्त्वपूर्ण काम भए । समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन्। सुशासन र विधि हाम्रो जग हो ।
पार्टीले आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूची न्यायोचित नभएको भन्दै पार्टी भित्र र बाहिरी आलोचना भइरहेको छ ।
कुलमानले पार्टी बैठकमा भने– भान्जा र ससुरा पर्नेको नाम राख्नु गल्ती भयो, फिर्ता लिन्छु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसिएका ऊर्जामन्त्री कुलमान घिसिङले समानुपातिक सूचीमा भान्जादेखि ससुरासम्मको नाम राखेको भन्दै पार्टीभित्रै विरोध भएपछि ती नाम फिर्ता लिने बचन दिएका छन्।
आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकमा कुलमानले भान्जादेखि ससुरासम्म नाता पर्नेलाई समानुपातिक सूचीमा राख्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै फिर्ता लिने बचन दिएका हुन्।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार कुलमानले नाता पर्नेहरूको नाम फिर्ता लिन र सूचीमा तल परेका कतिपय नामलाई माथि तान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग कुरा गर्ने बताएका छन्।