राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीबाट कलाकार आशिफ शाहले पनि नाम फिर्ता लिने भएका छन् । सामाजिक सञ्जालमार्फत उनले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।
उनले लेखेका छन्–’राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति हुँ म। तर देश बन्नुपर्छ भन्ने हुटहुटी भने सधैँ मेरो मनभित्र जीवित छ। आम जनताको चाहना अनुरूप बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूलाई नजिकबाट मूल्याङ्कन गर्ने साथीहरू यसका साक्षी छन्। त्यही मिहिनेतलाई देखेर साथीहरूले मलाई “सांसद बन्नुपर्छ” भन्दै सूचीमा नाम समावेश गर्नुभयो।’
उनी थप लेख्छन्– ’म राजनीतिमा यदि आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिन चाहन्छु भनेर स्पष्ट रूपमा भनेको थिएँ। तर साथीहरूको सुझाव थियो—देशव्यापी चुनावी अभियान आवश्यक छ, त्यसैले अहिले समानुपातिक प्रणालीमै अघि बढ्नुपर्छ। त्यसै अनुरूप समानुपातिक प्रणाली अन्तर्गत मेरो उम्मेदवारी दर्ता भयो। तर त्यसपछि आएका समाचारहरू, जनताबाट व्यक्त प्रतिक्रियाहरू र रास्वपाका साथीहरूको भावनाले मलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनायो। सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो।’
’देश निर्माणका लागि आवश्यक योगदान, म जुनसुकै पद वा हैसियतमा रहे पनि, सधैँ गर्न तयार छु। तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पु¥याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ। यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ’ उनले भने । उनले काठमाडौँ ५ बाट प्रत्यक्षमा उम्मेदवारी दिने घोषणा पनि गरेका छन् ।
रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिइन् गायिका त्रिशला गुरूङले
गायिका डा. त्रिशला गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्।शुक्रबार सामाजिक सञ्जालमा पोस्ट लेख्दै उनले उक्त घोषणा गरेकी हुन्। ’गहन आत्ममूल्यांकनपश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु,’ उनले लेखेकी छन्।
त्रिशलाले अगाडि लेखेकी छन्, ’यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पु¥याउने मेरो दृढ संकल्प हो।’
आफूमाथि पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्ने उनले बताएकी छन्। राजनीतिक पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा आफ्नो क्षमता र विवेकअनुसार निरन्तर योगदान पु¥याइरहनेछु,’ उनले लेखेकी छन्।
त्रिशलालाई उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवार सिफारिस गरेको थियो।