spot_img

कांग्रेसमा वारपारकाे लडाइँःमहामन्त्रीद्वय गगन–विश्व गर्दैछन् यस्ताे घाेषणा

spot_img

आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसमा विधानको व्याख्या, नेतृत्वको वैधता र आगामी निर्वाचनको मुद्दामा संस्थापन र महामन्त्रीद्वय निर्णायक चरणमा आमनेसामने भएका छन् । संस्थापन पक्षले नियमित महाधिवेशनमा जाने निर्णय गरे पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई आधार बनाएर महामन्त्रीद्वय विशेष महाधिवेशनको तयारीमा जुटेका छन् । दुवै पक्षले ‘पार्टी विभाजनको सम्भावना’ अस्वीकार गरे पनि ‘निर्णायक विवाद’ विभाजनकै जोखिमतर्फ उन्मुख छ ।

संस्थापन पक्ष राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुटेका वेला महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न बुधबार विशेष महाधिवेशन आह्वान गर्ने भएका छन् । पार्टी विधानको तीनवटा धारामा टेकेर महामन्त्रीद्वय थापा र शर्माले २७ र २८ पुसमा विशेष महाधिवेशन आह्वान गर्दै महाधिवेशन प्रतिनिधिलाई संयुक्त रूपमा काठमाडौं बोलाउन लागेका छन् । यसले कांग्रेसको विवाद नयाँ चरणमा प्रवेश गराउनेछ ।

केन्द्रीय कार्यसम्पादन समितिले १८ पुसमा गरेको निर्णय भन्दै सोमबार केन्द्रीय कार्यालयले प्रदेशदेखि वडा समितिसम्मलाई जारी गरेको सर्कुलरमा विशेष महाधिवेशनको औचित्य नरहेको उल्लेख छ । १८ पुसको कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय थापा र शर्मासहित पाँचजना नेताले चुनावअघि नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशनमा जानु अनिवार्य भएको भन्दै पार्टी निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

महामन्त्री थापानिकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महामन्त्रीका तर्फबाट विशेष महाधिवेशन आह्वान हुने बताए । ‘पार्टी विधानअनुसार विशेष महाधिवेशन गर्नै पर्नेछ । केन्द्रीय कार्यसमितिले यो मागको स्वामित्व नलिने अवस्थामा महामन्त्रीले केन्द्रीय कार्यालयका तर्फबाट आह्वान गर्नुहुन्छ,’ शिवाकोटीले नयाँ पत्रिकासँग भने । थापाले पहिला पनि विशेष महाधिवेशनका लागि तयार रहन आह्वान गरिसकेका छन् ।

शिवाकोटीका अनुसार विशेष महाधिवेशनका सन्दर्भमा सहमतिका लागि महामन्त्री शर्माले संस्थापन पक्षलाई तीनवटा विकल्प सुझाएका थिए । जसमा पहिलो– विशेष महाधिवेशन केन्द्रीय समितिले बोलाउने र सभापति शेरबहादुर देउवाले अध्यक्षता गर्ने, दोस्रो– विशेष महाधिवेशनमा सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुने तथा प्रतिनिधिहरूको निर्णय सबैले मान्ने सुझाव थियो । त्यसबाहेक विशेष महाधिवेशनलाई संकल्प भेलामा परिणत गर्ने र भेलाबाट आगामी निर्वाचन प्रयोजनका लागि सभापति देउवाले हस्ताक्षर नगर्ने सुनिश्चित गर्ने र आगामी निर्वाचनमा महामन्त्री थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि जान तयार हुने महामन्त्री शर्माको तेस्रो विकल्प थियो ।

शिवाकोटीका अनुसार सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग यी विकल्पबारे शर्माले कुराकानी गर्दै आएका छन् । तर, कुनै पनि विकल्पमा जान संस्थापन पक्ष तयार नभएपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गर्न लागेको उनले बताए ।

महामन्त्री थापा र शर्माले विधानको धारा १७ को उपधारा २ टेकेर विशेष महाधिवेशन आह्वान गर्ने दाबी गरेको छ । ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ,’ विधानको उक्त दफामा छ । धारा ३ को उपधारा १२ मा ‘केन्द्र भन्नाले केन्द्रीय कार्यसमिति र पार्टीको केन्द्रीय कार्यालयलाई समेत बुझाउनेछ’ भनिएको छ । धारा २७ को उपधारा १ मा ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहनेछ । महामन्त्रीले केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्नेछ’ भन्ने उल्लेख छ ।

संस्थापन पक्षधर नेता मानिने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पुसमै नियमित महाधिवेशनको मिति तय गर्ने र सम्भव नभए पछि सार्ने विषयमा मौखिक सहमति भएको दाबी गरेका छन् । अहिले विशेष महाधिवेशनमा किन जोड दिइँदै छ भन्ने कुरा आफूहरूले बुझ्न नसकेको उनको भनाइ छ । ‘आमनिर्वाचनको मुखमा यसरी द्वन्द्व बढाउँदा कसलाई फाइदा हुन्छ ? उद्देश्य स्पष्ट छैन,’ उनले भने, ‘तर, यसकारण पार्टी फुट्ने अवस्था हुँदैन । वैशाखमा नियमित महाधिवेशन गर्ने संस्थागत र औपचारिक निर्णयप्रति हामी प्रतिबद्ध छौँ । महामन्त्रीहरूसमेत सहभागी बैठकबाट निर्णय भइसकेको अवस्थामा फेरि मध्यमार्गी सहमतिको आवश्यकता किन प¥यो भन्ने कुरा बुझ्न सकिएको छैन ।’

यस्तै, शेखर कोइरालापक्षीय नेता तथा सहमहामन्त्री जीवन परियारले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्छ भन्ने मान्यताका आधारमा हस्ताक्षर अभियान अघि बढाइएको बताए । तर, अहिले मध्यमार्गी विकल्प खोजी भइरहेको उनले बताए । ‘अहिले परिस्थिति फरक दिशातर्फ गएको छ । विशेष महाधिवेशन गर्नै हुँदैन भन्ने एक पक्ष र गर्नै पर्छ भन्ने अर्को पक्ष आमनेसामने उभिएको अवस्थामा पार्टीलाई मध्यमार्गी निकास दिन प्रयास भइरहेको छ,’ उनले भने, ‘शेखर दाइले सहमतिका लागि छलफल अघि बढाइरहनुभएको छ । पार्टी फुट्न नदिन र सहमतिको बाटो निकाल्न सक्रिय छौँ । केही न केही निकास निस्कन्छ भन्नेमा आशावादी छौँ ।’

कांग्रेस नेता कोइरालाले मध्यमार्गी उपाय सुल्झाउन छलफल थालेका छन्, तर यो प्रभावकारी देखिएको छैन । उनले पार्टीको विशेष महाधिवेशनका पक्षमा मुख खोलेका छन् र केन्द्रीय समितिले माघको पहिलो साता आयोजना गर्दा विन–विन हुने बताएका छन् । सहमतिको प्रयासमा सक्रिय कांग्रेसका ३० केन्द्रीय सदस्यहरूसँग मंगलबारको छलफलमा कोइरालाले माघमा विशेष महाधिवेशन गरेर सहमति खोज्दा उपयुक्त हुने बताए ।

‘विशेष महाधिवेशनको माग विधानसम्मत छ । केन्द्रीय समितिले नै माघ ९–१० गतेतिर विशेष महाधिवेशन बोलाउने गरी विन–विन परिस्थिति निर्माण गर्न सकिन्छ कि भन्ने मेरो व्यक्तिगत प्रस्ताव हो,’ कोइरालालाई उद्धृत गर्दै छलफलमा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाले नयाँ पत्रिकासँग भने । केन्द्रीय सदस्यहरूले सभापति देउवा, महामन्त्रीद्वय थापा र शर्मा तथा नेता कोइरालासँग छलफल गरिसकेको छ । ‘सहमतिका लागि लागिरहेका छौँ । अब कार्यवाहक सभापतिसँग छलफल गर्छौँ,’ शेर्पाले भने ।

विशेष महाधिवेशनका लागि तयारी समिति, सुरक्षाका लागि सिडिओलाई पत्राचार
विशेष महाधिवेशन पक्षधरले बुधबार विभिन्न १८ समिति गठन गरेका छन् । पूर्वसभापति तथा पूर्वकेन्द्रीय सदस्यहरूको समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद समन्वय, पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात व्यवस्थापन, आवास तथा खाना, सूचना तथा प्रचारप्रसार, जिल्ला सम्पर्क, भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति समन्वय, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर समन्वय, सांस्कृतिक कार्यक्रम तयारी, जेन–जी युवा परिचालन, जिल्ला क्षेत्र फोकलपर्सन समन्वय समिति गठन भएका छन् ।

‘मंगलबार बिहानको बैठकमा समितिहरू गठन भएका छन् । बढीभन्दा बढी कार्यकर्ता उतार्ने गरी तयारी भएको छ । विशेष महाधिवेशन उद्घाटन सत्र, बन्दसत्र, विधान संशोधन र नेतृत्व परिवर्तनको प्रस्तावलगायतको तयारी भइरहेको छ,’ तयारीमा जुटेका कांग्रेस नेता उज्ज्वल बरालले भने, ‘ब्यानर, गेट बनाउनेदेखि झोलासम्म तयार भइसकेको छ । केन्द्रीय समितिले यसको स्वामित्व लियो भने त्यसको तयारीअनुसार अघि बढ्ने कुरा हुन्छ, नभए हामी अघि बढिसकेका छौँ ।’

विशेष महाधिवेशनको सचिवालयले २७ र २८ पुसमा भृकृटीमण्डपमा हल बुक गरिसकेको छ । मंगलबार सचिवालयका तर्फबाट नेता मनोजमणि आचार्यले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा शान्ति–सुरक्षाका लागि निवेदन दिएका छन् ।

नेता निधिमाथि दुव्र्यवहार, जनकपुरमा महामन्त्री थापाको पुत्ला दहन
मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका नेता विमलेन्द्र निधिमाथि कांग्रेस कार्यकर्ताले दुव्र्यवहार गरेका छन् । विशेष महाधिवेशनको माग गरेका कार्यकर्ताको विरोधपछि निधिले उनीहरूलाई ‘चुप लाग्न’ भने । सुरक्षाकर्मीले निधिलाई बैठक हलभित्र पु¥याएका थिए । निधिले आफूमाथि दुव्र्यवहार गर्नेहरू विशेष महाधिवेशन पक्षका कार्यकर्ता नभएको प्रतिक्रिया दिए । विशेष महाधिवेशन पक्षधर नेताहरूले पनि साँझ विज्ञप्ति जारी गरी निधिमाथि उनीहरूले दुव्र्यवहार नगरेको प्रस्टीकरण दिए । निधिमाथि दुव्र्यवहारको नेताहरूले विरोध जनाएका छन् । उनीमाथि दुव्र्यवहारको विरोधमा कांग्रेस कार्यकर्ताले मंगलबार साँझ जनकपुरमा महामन्त्री गगन थापाको पुत्ला दहन गरेर विरोध प्रदर्शन गरे । प्रदर्शनकारीले महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध पनि नाराबाजी गरेका थिए । सानेपा घटनाको विरोधमा कोटेश्वरमा पनि राँके जुलुस निकालेका थिए । निधिले विशेष महाधिवेशनको विरोध गर्दै आएका छन् ।

त्यस्तै, महामन्त्रीद्वय थापा र शर्माले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत् सानेपा घटना गलत भएको धारणा सार्वजनिक गरेका छन् । ‘आज पार्टी कार्यालयबाहिर आदरणीय नेता बिमलेन्द्र निधिप्रति भएको व्यवहार गलत छ । यो विषयमा मेरो धारणा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणासँग समान छ । असल प्रजातन्त्रवादीले सत्यको अनेकतामा विश्वास गर्छ, फरक मत राख्नेको सम्मान गर्छ । त्यसकारण उक्त घटना फरक मत राखेकै कारण घटेको हो भने झन् निन्दनीय छ,’ थापाले लेखेका छन्, ‘म समग्र नेपाली कांग्रेसका शुभेच्छुक साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवर्तन चाहन्छौं । तर विधि, विधान र प्रक्रियाभन्दा बाहिर कुनै बाटो छैन । प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ ।’

अर्का महामन्त्री शर्माले पनि घटनालाई दुःखद भनेका छन् । ‘कुनै पनि नेतासँग कसैको पनि समर्थन र विरोधको सम्बन्ध हुनसक्दछ । तर, त्यो निश्चित मर्यादाको दायरामा रहनुपर्छ । समर्थन गरिरहँदा देवत्वकरण गर्ने अनि विरोध गरिरहँदा अप्रिय टिप्पणी गर्ने कार्य हाम्रो राजनीतिको दुःखद र गलत पाटो हो,’ उनले फेसबुकमार्फत् लेखेका छन्, ‘आज अग्रज नेता विमलेन्द्र निधी कार्यालय पुग्दैगर्दा भएको व्यवहार विल्कुलै गलत छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नु र राजनीतिमा स्वस्थ राजनैतिक ब्यवहारलाई मात्रै प्रोत्साहित गर्नु हामी सबैको कर्तव्य हो ।’

बहुमत प्रतिनिधि आए नेतृत्व परिवर्तन, नभए नीतिगत संकल्प
२७ र २८ पुसमा बहुमत प्रतिनिधि सहभागी गराउने विशेष महाधिवेशन पक्षधरको प्रयास छ । बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएमा नीति र नेतृत्व परिवर्तन गरेर अघि बढ्ने महामन्त्रीद्वयको तयारी छ । बहुमत नपुगे भेलाका रूपमा अगाडि सार्ने उनीहरूको योजना छ । ‘विशेष महाधिवेशनको समर्थनमा १६५ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिहरू थपिने क्रम जारी छ । ६० प्रतिशतभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनुहुने अवस्था बन्दै छ,’ विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालनका अगुवामध्येका एक युवा नेता बलदेव तिमल्सिनाले भने, ‘विधानअनुसार बोलाइने विशेष महाधिवेशनमा सहभागी हुने बहुमत महाधिवेशन प्रतिनिधिले नीति र नेतृत्व परिवर्तनको निर्णय गर्छन्, यसलाई पार्टी फुट भन्न मिल्दैन । जहाँ बहुमत हुन्छ, त्यहीँ आधिकारिकता हुन्छ । बहुमत पुगेन भने कम्तीमा यो प्रयास गरिएको हो भन्ने कुरा स्थापित गर्छौँ । एउटा शक्तिका रूपमा स्थापित हुन्छौँ, पार्टी फुट हुँदैन ।’ विशेष महाधिवेशनको हस्ताक्षर गर्दा इतर समूहका नेता डा. शेखर कोइराला पक्षधर प्रतिनिधिको पनि समर्थन थियो । तर, अहिले शेखर पक्ष चुनावको मुखमा पार्टी विवाद बढाउन नहुने भन्दै मध्यमार्गी विकल्पमा सहमति खोज्ने प्रयासमा छ । थापा–शर्माले बोलाएको विशेष महाधिवेशनमा शेखर पक्ष अनुपस्थित रहे बहुमत पुग्न कठिन छ । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img